सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनमा लापर्बाही, सरकार मौन



काठमाडौं । सर्नेभन्दा नसर्ने रोगबाट मानिसको मृत्यु बढी हुने गरेको र नसर्ने रोगको प्रमुख कारक तत्वका रूपमा सूर्तीजन्य पदार्थ भएको प्रमाणित भई नेपाल सरकारले सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन २०६८ लालमोहर लगायो तर कार्यान्वयनका क्षेत्रमा भने चलखेल बढी ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा ८३ को उपधारा १ बमोजिम संविधान सभाले ऐन बनायो । ऐनलाई नेपालका पहिलो राष्ट्रपति डा.रामबरण यादवले २०६८ साल बैशाख २६ गते सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा लालमोहर लगाउनुभयो । प्रत्येक वर्ष सूर्तीजन्य पदार्थको कर बढाउँनुपर्ने माग उठे पनि अर्थमन्त्रालयका तालुकदारहरुले कानमा तेल हालेर बसेकै कारण सूर्तीजन्य पदार्थमा कर बढ्न सकेको छैन ।
ऐनमा धूम्रपान तथा सूर्ती सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र धुम्रपान तथा सूर्ती सेवनले सामाजिक, आर्थिक, सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले सो कार्यलाई नियन्त्रण गरि सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हित अभिबृद्धि गर्न सूर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री–वितरण तथा सेवन कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्नेे सम्बन्धमा कानूनी ब्यवस्था गर्न बान्छनीय भएको उल्लेख गरिएको छ ।
विश्वमा हरेक बर्ष ८० लाखभन्दा बढी मानिसको सूर्ती सेवनकै कारण नसर्ने रोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएकोछ । यसमध्ये ८० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका मुलुकहरूमा हुने पनि रिपोर्टमा प्रष्ट पारिएको छ ।
सूर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या नेपालमा महामारीका रूपमा देखापरेको र हाल नेपालमा कुल जनसंख्याको भण्डै २९ प्रतिशत मानिस धूम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्य नेपाल स्वास्थ्य अनुसन्धान परिपाद्को २०१९ को सर्वेक्षण रिपोर्टमा उल्लेख गरिएको छ ।
क्यान्सर रोगको प्रमुख कारकतत्वको रूपमा सूर्तीजन्य पदार्थ भएकोले यसको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण गर्न अति आवश्यक भएको कुरा स्वास्थ्य विज्ञहरूले सरकारको ध्यानाकर्ष नगराएका होईनन् तर सरकारले जनस्वास्थ्य माथी खेलबाड गरी कानूनको पूर्णरूपमा पालना नगरेको एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्द बताउँनुहुन्छ ।
यदी सूर्तीजन्य पदार्थमा १० प्रतिशतले कर बढाएमा ८ प्रतिशतले माग घट्ने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा नै सार्वजनिक गरिसकेको छ । सूर्तिजन्य पदार्थमा कर वृद्धि गरी उक्त कर रकम धुम्रपान नियन्त्रण कार्यक्रममा प्रयोग गरे अझ सशक्त बनाउन सकिनेछ भने अर्काे तर्फ चुरोटको सेवनमा कमी ल्याउन मद्घत पुर्याउने थियो । बजेटमा चुरोटका साथै खैनी, गुट्खा, पानपराग तथा अन्य सुर्तिजन्य पदार्थहरुमा सत प्रतिशत कर लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र सरोकारवाला निकायमा ध्यानाकर्षण गराएको भए पनि कार्यान्वय भएन चन्द भन्नुहुन्छ ।
यो वर्ष विश्व स्वास्थ्य संगठनले विश्व धूम्रपानरहित दिवसको मूल नारा हामीलाई खाद्यान्न चाहिन्छ, सूर्तीजन्य पदार्थ होईन भन्ने तय गरेको थियो । विश्वका १ सय ८२ देश मध्ये नेपालले पनि यहीँ नाराका साथ दिवस मनायो । विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रो एफसीटीसीमा नेपालले पनि सन् २००३ मा हस्ताक्षर गरी सन् २००६ मा यो महासन्धीलाई अनुमोदन गरेको छ । सन्धीमा हस्ताक्षर गरेसँगै नियमको पालना गर्नुपर्ने दायित्व हुन्छ । यस बर्षको नाराले सूर्तिखेतीको विकल्पमा दिगो पौष्टिक खाद्य उत्पादनका लागि नीति र रणनीतिहरू बनाउँने बिषयमा पक्ष राष्ट्रहरूको ध्यानाकर्षण गराएकोछ ।
सूर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा बर्षेनी २७ हजार १ सय जनाको अल्पायुमै मुत्यु हुने गरेको छ । यो नेपालमा हुने कुल मृत्युको झण्डै १५ प्रतिशत हो । सूर्तीजन्यबाट लागेका रोगको उपचारका लागि प्रत्येक बर्ष झण्डै ४७ अर्ब रुपियाँ नोक्सान भइरहेको छ जुन कुल ग्राहस्थ उत्पादनको १ प्रतिशत भन्दा बढी हुन आउँछ । सूर्तिजन्य पदार्थको नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्छ, चन्द भन्नुहुन्छ ।
विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्छ भन्दै आएको छ तर नेपालले बढाउँनुपर्ने करको दर झन् झन् घटाउँन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले विश्व स्वास्थ्य संगठनको ७६ औं महासभालाई सम्बोधन गर्ने क्रममा नेपालले सूर्तीजन्य पदार्थमा आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा करको दर बढाउँने प्रतिबद्धता गरेको केही दिनमै आएको बजेटमा उल्टै करको दर अघिल्लो वर्ष भन्दा ५ प्रतिशतले घटाईयो यो पछिल्लो १० बर्ष यताकै न्यून, हो चन्द भन्नुहुन्छ ।
नेपालमा सूर्तीजन्यपदार्थ दैनिक २४.१ प्रतिशत  मानिसले सेवन गर्ने गरेको तथ्य रहेको छ । त्यसमध्ये ४०.१ प्रतिशत पुरुष र १० प्रतिशत महिला रहेको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगछ । यस्तै २८.९ प्रतिशत मानिसले (धुम्रपान वा धुँवारहित ) सेवन गर्ने गरेको तथ्य सन् २०१९ मा भएको एस टिइ पिएस सर्वेले देखाएको छ । धुम्रपान गर्ने १७.१ प्रतिशत मध्ये २८ प्रतिशत पुरुष र ७.५ प्रतिशत महिला रहेका छन् । विद्युतीय चुरोट प्रयोग गर्नेहरू ०.८ प्रतिशत रहेको देखिन्छ ।
सूर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर,मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढ्दैछ नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की भन्नुहुन्छ । सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सके नसर्ने रोगको जोखिमबाट बच्न सकिन्छ । उहाँले  २० मिनेट मात्रै धुम्रपान नगर्दा पनि  उच्च रक्तचाप, पल्स रेड र शरीरिको तापक्रम सामान्य अवस्थामा ल्याउन सकिने बताउँनुभयो । आठ घण्टा धुम्रपान नगर्दा ९३.७५ प्रतिशत निकोटिन लेभल घट्ने उहाँले जानकारी दिनुभयो । डा. कार्कीले सूर्तीजन्य पदार्थको प्रयोग न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । चुरोटको धुँवामा ४ हजार प्रकारका केमिकल हुने बताउँदै ५० वटाले क्यान्सर बनाउने जानकारी दिनुभयो ।
दक्षिण एशियामा सबैभन्दा सस्तो सूर्तीजन्य पदार्थ नेपालमा रहेको  जानकारी दिँदै यसको मुल्य बढाउनुपर्नेमा सरोकारवाला निकाय, स्वास्थ्य विज्ञहरूको जोड छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले सूर्तीजन्य पदार्थको सेवनका कारण ९० प्रतिशत फोक्सोको क्यान्सर हुने सावित भईसकेको र यसै कारणले नेपालमा नसर्ने रोग मुटुरोग, जीर्ण दम खोकी जस्ता २५ भन्दा बढी रोगका कारण नेपालमा ५१ प्रतिशत व्यक्तिहरुको नसर्ने रोगकै कारण मृत्यु हुने गरेकाले ऐन र कानुनलाई सबै पक्षले कार्यान्वयनमा लैजान जोडदिनुपर्ने बताउँनुभयो ।
बैशाख २५ गते २०६९ मा मन्त्रि परिषद्बाट पारित नियमावली २०६८ मा २४ दफा रहेका छन् । उक्त नियममा उल्लेख भए अनुसार पर्यटकीय स्तरको होटलको व्यवस्थापकले मानिसको आवत जावत कम हुने र सूर्तीजन्य पदार्थको सेवन नगर्ने व्यक्तिलाई प्रतिकुल असर नपर्ने गरी होटल बाहिरको कुनै एक ठाउँलाई तोक्न सक्ने भए पनि धुवा र गन्ध भने होटल भित्र नपस्ने व्यवस्थित ठाउँ, एक पटकमा एकजना भन्दा बढीले प्रयोग गर्न नमिल्ने हुनुपर्ने कुरा उल्लेख गरेको छ । तर यो कानूनको खुल्ला रुपमा उल्लघन गरेको पाईन्छ । सार्वजनिक स्थल, होटल जताततै खुलेआम सूर्तिजन्य पदार्थ, हुक्काको विज्ञापननै गरि व्यवसाय संचालन गर्दा पनि सरकार मौन छ ।
कानुनमा भने सूर्तीजन्य पदार्थ सेवनका लागि छुट्याईएको स्थानमा कुर्सी, टेवल राख्न नहुने, सूर्ति सेवन स्वास्थ्यको लागि हानिकारक छ भन्ने सूचना टास गर्नुका साथै सार्वजनिक स्थलको विभिन्न ठाउँमा धुम्रपान तथा सूर्तीसेवन गर्न नपाउने व्यहोराको सूचना भवनको मुख्य प्रवेशद्धारमा ३० सेन्टिमिटर लम्बाई र २० सेन्टिमिटर चौडाईको बोर्ड टास गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्