नेपाली हाते कागजले बजार पाएन



बाजुरा । त्रिवेणी नगरपालिका–७ ओखरतोलाका डम्म अयडीका परिवारको प्रमुख आयस्रोत नै बडिमालिका नेपाली हाते कागत उद्योग हो ।

सरकारी जागिर छोडेर उद्योगमा लागेका अयडीले वर्षेनी कुहिएर खेरजाने बडुका लोक्ताको सदुपयोग गर्दै हाते कागज उद्योग स्थपाना गरेका हुन् । २०५५ सालदेखि उद्योग सञ्चालन गरेका अयडीले विगतमा हाते कागज उद्योगबाट राम्रो आम्दानी बटुले । लेकमा भैंसी चराउँदै लोक्ता झिक्ने र जंगलमै लाक्ता बिक्री हुन्थ्यो । घ्युभन्दा लोक्ता बिक्री गरेर भैंसी गोठालाको पनि मनग्य आम्दानीको स्रोत बनेको थियो व्यवसायी अयडीको भनाइ छ ।

विगतमा हाते कागज उद्योगबाट वार्षिक १४ देखि २० लाख रुपियाँ कामाउँथें । २०७२ सालको भूकम्प र कोरोना संक्रमणपछि नेपाली हाते कागतको बजार खुम्चिदै गएको उद्योगी अयडीको गुनासो छ । बाजुराका उच्चभुभागमा पाइने बडु नामक रेसादार बोटको लोक्ता (रेसा) बाट बन्ने नेपाली हाते कागत (ताउ) नेपालमा मात्रै नभएर विदेशमा समेत माग थियो ।

‘कोरोना संक्रमणपछि विदेशीले नेपालबाट कागत लैजान छोडेकाले हाते कागजको बजार घट्दै गयो । दुई तीन वर्षयता त व्यापार व्यवसाय नै ठप्प छ,’ उद्यमी अयडीले बताउनुभयो ।

२०७२ सालदेखि स्थापना भएको हिमाली हाते कागतका सञ्चालक चन्द्र बुढाले पनि नेपाली हाते कागजले बजार नपाउँदा घरमै थन्क्याएका छन् । १५० कोडी हाते कागज उत्पादन गरेको तीन वर्ष भयो । गाउँमा सडक पुगेको छैन । पिठ्युमा बोकेर कुवाडी पगाउँदा ढुवानी महंगो पर्छ, बजारमा प्रतिस्पर्धा छ, वनमा बडु कुहिएको छ, घरमा ताउ थन्क्याइएका छन् बुढाको दुखेसो छ ।

स्थानीय तह र घरेलु उद्योगबाट सहयोग नपाएको बुढाको गुनासो छ । गत वर्ष प्रदेश सरकारबाट १० लाख रुपियाँको परियोजना पास भयो घर निर्माण गरें घरेलुले अनुगमननै नगरी डुब्लीकेट गरेको भन्दै आएको रकम अर्कोलार्ई दियो । मेरो पहुँच पुगेन अनुदान रकम पनि अर्कोले खाएको बुढाको आरोप छ ।

संघ प्रदेश र संथानीय तहबाट सहयोग पनि भएको थियो कोरोना संक्रमणपछि बजार घट्यो अहिले घर खर्च धान्नै मुस्किल छ । खप्तड क्षेडेदह गाउँपालिका शंकरदेव नेपाली हाते कागज उद्योगका सञ्चालक कुमार रावतले भन्नुुभयो ।

किरा नलाग्ने, लामो समयसम्म टिक्ने, पानीले नभिज्ने, नच्यातिने भएकाले विगतमा अड्डा अदालतमा फुलिस्केप, लेटरप्याडका रुपमा प्रयोग हुन्थ्यो । जन्म चिठा कुण्डली बनाउन र तमसुक लेख्न र विदेशमा समेत नेपाली कागजको प्रयोग हुन्थ्यो । पछिल्लो समयमा आर्थिकमन्दीले व्यापार घट्यो । यसको असर ससाना उद्योगी व्यसायीलाई परेको उद्योगी अयडीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्