हेल्थ टिप्स- तपाईंहरुको प्रश्न डाक्टरको उत्तर



१. मधुमेह रोग ठूला मानिसलाई मात्र लाग्ने हो कि युवा, केटाकेटीलाई पनि लाग्ने रोग हो ? यसबारे विस्तृत बताइदिनुहुन अनुरोध छ ।
– शिव पाण्डे, चितवन ।

शिवजी, मधुमेह खासमा तीन प्रकारका भनेर वर्गीकरण गरिन्छ । हुन त मधुमेह चार प्रकार भनेर पनि भनिन्छ तर व्यावहारिक तथा रोगको अन्तर्निहित वास्तविकता र व्यवस्थापनको रुपमा तीन प्रकारका नै मुख्य हुन्– मधुमेह प्रकार एक, मधुमेह प्रकार दुई अनि गर्भावस्थाको मधुमेह । यिनको फरक–फरक पृष्ठभूमि तथा भित्री प्रणाली भएर तिनीहरुमै आधारित भई यो वर्गीकरण गरिएको हो । जस्तो– मधुमेह प्रकार एकमा शरीरले उत्पादन गर्ने इन्सुलिन हर्मोन शून्य नै हुनाले यो सानो उमेरमै देखा पर्छ भने यसको उपचार इन्सुलिन दिएर मात्रै सम्भव हुन्छ ।

त्यस्तै मधुमेह प्रकार दुईमा भने इन्सुलिनको मात्रात्मक वा गुणात्मक कमी भएर शरीरको रगतमा चिनीको मात्रा बढेर जान्छ । तर यसको उपचारमा खानामा नियन्त्रण पहिलो पाइला हो । खाना नियन्त्रणबाट कम नभएमा मात्रै खाने औषधि दिइन्छ । त्यसले पनि नभएमा इन्सुलिन दिनुपर्ने हुन सक्छ । यस प्रकारको मधुमेह भएपछि विभिन्न लक्षण देखा पर्न सक्छन् ।ः जस्तो– पिसाबमा भएको अधिक चिनीको मात्रा विसर्जन गर्न धेरै पिसाब लाग्ने, धेरै पिसाब गएर शरीरमा पानीको कमीका साथै रगतमा चिनीको घनत्व बढी हुनाले धेरै प्यास लाग्ने, अधिक भोक लाग्ने हुन्छ । रगतमा चिनीको मात्रा बढी त हुने तर इन्सुलिनको कमीले गर्दा त्यो चिनी कोषिकाभित्र गएर दिनुपर्ने ऊर्जा दिन नसक्ने हुँदा ऊर्जा अभाव भई भोकको रूपमा व्यक्त हुन्छ । त्यस्तै ऊर्जाको अभावले दर्दा कमजोर महसुस हुने, उच्च रगतको तह हुनाले संक्रमण हुने तथा सन्चो हुने प्रक्रियामा अवरोध हुनाले घाउखटिराहरू पाक्नेजस्ता समस्या पनि देखिन्छन् ।

मधुमेहको तेस्रो प्रकारचाहिँ खास प्रकृतिको गर्ववस्थामा हुने मधुमेह हो । यस प्रकारको मधुमेह पछि गएर अझ विकसित हुन सक्ने सम्भावना हुन्छ तर बच्चा जन्मेपछि अधिकांशको कम भएर जान्छ । यसरी सबै कुराको विश्लेषण गर्दा मधुमेह के महिला, के पुरुष, के युवा, के वृद्ध, जसलाई पनि हुने सम्भावना देखिन्छ । हरेक प्रकारको मधुमेहको उपचार पनि फरक–फरक हुन्छ । यो रोग जीवनशैलीको कारण र वंशाणुगत कारणले हुने हुँदा यसको नियन्त्रण, परहेज तथा उपचारमा जीवनशैलीको अति नै महत्व रहन्छ ।

२. मुटुको भल्भको रोग लाग्न नदिन बच्चा सानो हुँदैमा ध्यान दिनुपर्छ भनेको सुनेँ । यसबारे प्रस्ट पारिदिनुहुन विनम्र अनुरोध गर्दछु ।
– रिना बाँस्तोला, सुकेधारा, काठमाडौं ।

रिनाजी, मुटुको भल्भको रोग जन्मजात नै पनि हुन सक्छ । यस्तो भएमा रोकथाम वा प्रतिरोधका लागि आमाको गर्भावस्थादेखि नै नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । साथै आमाको खानपान अनि स्वास्थ्यमा विशेष ध्यान पु¥याई आमा तथा बच्चाको स्वास्थ्य अवस्था बर्सैपिच्छे सुधार गर्दै लैजानु हाम्रो कर्तव्य हो । जहाँसम्म तपाईंले भन्न खोजेको बाथ–मुटुरोगको नियन्त्रको लागि वा रोग लाग्नै नदिन सानो हुँदैमा ध्यान दिनुपर्ने कुरा साँचो हो । बच्चाको स–सानो समस्यामा ख्याल गरिएन भने पछि ठूलो समस्या विकसित नहोला भन्न सकिन्न । खासगरी स्कुल उमेर (५–१५ वर्ष) मा हुने टन्सिल वा घाँटी दुख्ने समस्या भएमा समयमै उपयुक्त उपचार गरिएन भने ज्यान नै जान पनि सक्छ । बच्चालाई टन्सिल हुँदा स्वास्थ्यकर्मीसँग सल्लाह गरिएन, वास्ता गरिएन, आवश्यक औषधि सेवन गराइएन भने त्यो टन्सिल वा साधारण घाँटी दुखाइ शरीरको आत्मशक्तिको प्रक्रियाबाट कालान्तरमा मुटुको भल्भ घात गर्ने ‘मुटुको बाथ रोग’ हुन सक्छ । त्यसपछि जटिल अवस्था आई अकालमै ज्यानसमेत जाने हुन्छ । हाम्रो जस्तो मुलुकमा स्वास्थ्य सेवाको आधारभूत सेवा लिने संस्कार नभएको, लामा–झाँक्रीमा विश्वास गर्ने प्रवृत्ति भएको, देशको स्वास्थ्य सञ्जाल तथा गुणात्मक स्वास्थ्य जनशक्तिको अभाव भएको कारणले गर्दा पनि यो रोगले जवानीमै ज्यान गुमाउनेहरु धेरै देखिने गरेका छन् । त्यसैले बच्चा सानो हुँदैदेखि ख्याल गर्नुपर्ने हुन्छ ।

३. म २७ वर्षको भएँ । परिवारले विवाह गर्न दबाब दिन थालेका छन् । तर मलाई कुनै सुन्दरी युवती देख्दा वा उत्तेजना गराउने सामग्री (प्रोनोग्राफी) हेर्दा पनि कुनै उत्तेजनाको अनुभूति हुँदैन । त्यसैले विवाह गर्न डराएको छु । म के गरौँ ? उचित सल्लाहको अपेक्षा गर्दछु ।
– सुन्दर, हाल : काठमाडौं ।

सुन्दरजी, तपाईंको भनाइ अनुसार यो उमेरमा पुरुषमा विकास हुनुपर्ने यौनिकता तथा विपरीत लिंगीप्रति हुने आकर्षण वा फरक भावना वा सबै कुराप्रतिको कौतुहलता तपाईंमा छैन । सधैँ यस्तै हो भने हतारमा आएर जे पर्ला सोही टर्ला भनी परिवारको दबाबमा विवाह गरिहाल्नु युक्तिसंगत देखिँदैन । किनभने त्यो विवाहमा एकजना महिलाको पनि जीवन जोडिएको हुन्छ । पहिले त आफ्नो खास वास्तविकता, झुकाव, इच्छा वा अभिमुखीकरणजस्ता कुरा परिभाषित हुनुप¥यो । यसो हेर्दा वा बुझ्दा यहाँमा पुरुषमा हुनुपर्ने पुरुष हर्मोनको कमी हो कि जस्तो लाग्छ । त्यसैले एकपटक युरोलोजिस्ट वा युरोसर्जनसँग भेटेर आफ्नो शरीरको पुरुष हर्मोनको अवस्था, यौनाङ्गको अवस्था वा आफ्नो खास वास्तविकता स्पष्ट गर्नुस् । त्यसपछि मात्रै विवाहको निर्णय लिनुस् । दोस्रो कुरा विवाह हुँदै गर्छ, समयले अनि परामर्शले निक्र्योल गर्ला तर आफ्नो सर्वतोमुखी विकास, अध्ययन, पेसा, सफलतामा कुनै कमी–कमजोरी आउन नदिनुहोला ।

४. म २४ वर्षको युवक हुँ । साथीहरुको संगतले २० वर्षको उमेरदेखि नै हस्तमैथुन गर्ने बानी प¥यो । अहिले लतजस्तै भयो । यस्तो गरेकोमा पश्चात्ताप पनि लाग्छ । मेरो लिंग पनि अलि बांगो हुँदै गएजस्तो लाग्छ । तनावमा छु, उचित सल्लाह पाए आभारी हुने थिएँ ।
– सुरज, नवलपरासी ।

सुरजजी, युवावस्थामा संगतले, कौतुहलताले तथा यौनाकांक्षाले यो अवस्थाबाट धेरै युवा गुज्रेका हुन्छन् । तर केमा र कति मात्रामा ध्यान दिने, केमा व्यस्त हुने, केमा लिप्त हुने भन्ने कुरा महत्वपूर्ण हो । यसको सामञ्जस्यता आफैंले मिलाउनुपर्छ । साथै कुनै पनि कुरा अति गर्नु राम्रो होइन । जहाँसम्म भैसकेका वा गैसकेका कुरामा फेरि झुन्डिइराख्नु राम्रो हुँदैन, बरु वर्तमानमा जिउने अनि राम्रा र आवश्यक कुरामा आफूलाई ढाल्ने प्रयत्न गर्नुस् । पहिले के गरियो, कसरी र किन गरियो ? ती सबै छोडेर अब के गर्ने भन्ने बारेमा सोच्नुहोस् । फेरि पनि तिनै कुरासम्बन्धी किताब पढ्ने, ध्यान सधैँ त्यता लगाउने ग¥यो भने त्यो लतले छोड्दैन । त्यसैले आफूलाई जरुरी कुरामा ध्यान केन्द्रित गर्ने, आफ्नो विषयमा पारंगत हुने, मेहनत गर्नेतिर लगाव लगाउनु राम्रो हुन्छ । हस्तमैथुन अपराध नै त होइन अनि गर्नै नहुने पनि होइन । तर यसमा अभ्यस्त भएमा भने प्राकृतिक यौनजीवन निरस हुने र प्रत्युत्पादक हुन सक्ने डर हुन्छ । त्यसैले अब बिहान–बेलुका १५–१५ मिनेट ध्यान गर्ने, यौनजन्य पत्रपत्रिका वा पुस्तक नपढ्ने, आफ्नो ध्यान बढी अध्ययनतिर केन्द्रित गर्ने, नियमित व्यायाम गर्ने र सकेसम्म त्यो लत छुटाउनेतिर लाग्ने सल्लाह दिन चाहन्छु ।

(डा. हरिहर खनाल, साधना हेल्थ, वि.सं. २०८० जेठबाट साभार)

 

प्रतिक्रिया दिनुहोस्