‘बौद्ध युवा राजु शाक्यको जीवनी प्रेरणादायी रहने’

0
Shares

ललितपुर । नेपाली बौद्ध जगतमा युवावर्गको योगदानको दिशामा बौद्ध युवा कमिटीका संस्थापक अध्यक्ष एवं संरक्षक स्वर्गीय राजु शाक्यको जीवनी स्मरणीय रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

बौद्ध युवा व्यक्तित्वसमेत रहेका स्वर्गी शाक्यको ४५ औैं दिनको पूण्यस्मृतिमा बौद्ध युवा कमिटी ललितपुरले शनिबार ललितपुरमा आयोजना गरेको श्रद्धाञ्जली एवं गुणानुस्मरण सभामा उनीहरुले सो कुरा बताएका हुन् ।

एक मिनेट मौन धारण गरी शुरु गरिएको सो कार्यक्रममा कमिटीका अध्यक्ष सतिश शाक्यले स्वर्गीय शाक्य बुद्ध धर्मलाई परम्परावादी नभई खुल्ला चिन्तन, साम्प्रदायिक नभई मानवकल्याण, एउटा अभ्यासका रुपमा सुन्न, बुझन् र पालना गर्न प्रेरित गर्ने व्यक्तित्व रहेको बताउनुभयो ।

सो अवसरमा कमिटीका संस्थापक एवं पूर्व महासचिव विश्वन्तर शाक्यले युवावर्गलाई बुद्ध धर्मको ज्ञान दिलाउने र ज्ञान पाएका युवावर्गले जनहितका कामसँगै बुद्ध शिक्षाको विकास गर्ने स्वर्गीय शाक्यको जीवनको मुख्य ध्येय रहेको बताउनुभयो । ‘त्यही ध्येयको ठोस परिणति भनेको आजको बौद्ध युवा कमिटीले बुद्ध धर्मको विकासको लागि गरेको समग्र गतिविधि हुन् ।’

सभामा कमिटीका पूर्वअध्यक्ष सुनील महर्जनले युवावर्गमार्फत बुद्ध धर्मको विकास र विस्तार गर्न ४० दशकको अन्त्यतिरदेखि क्रियाशील भएका स्वर्गीय शाक्य बुद्ध धर्म सम्बन्धी गहिरो ज्ञान भएका थोरै युवाहरुको संख्यामा पर्ने उल्लेख गर्दै त्यही ज्ञान युवावर्गमार्फत प्रवाह गरेमा व्यक्ति, परिवार र समाजको उत्थान हुने विश्वासका साथै बौद्ध युवा कमिटीको संस्थागत जीवनमा सक्रिय रहेको बताउनुभयो ।

स्वर्गीय शाक्यको जीवनी यस क्षेत्रमा लाग्नेहरुको लागि प्ररेणादायी रहेको धारणा राख्दै पूर्वअध्यक्ष महर्जनले उहाँको योगदान, विचारलाई चिरस्थायी बनाउनुपर्ने खाँचो औल्याउनुभयो । ‘त्यसका लागि शाक्य संलग्न रहेको संस्था, संगत गरेका व्यक्ति सबैलाई समेटिएर अघि बढ्नुपर्दछ ।’ नेपाली बुद्ध धर्मको क्षेत्रमा युवावर्गले गरेको संघर्षको स्वरुप, संघर्ष गर्ने युवावर्गको आफ्नै जीवनको व्यवस्थापन, उतारचढाव, समग्र जीवन धेरैका लागि शिक्षाप्रद रहने पनि पूर्वअध्यक्ष महर्जनको भनाइ रहेको छ ।

सो अवसरमा अर्का पूर्वअध्यक्ष रविन्द्र शाक्यले स्वर्गीय शाक्य बुद्धधर्मको वैज्ञानिक, व्यावहारिक दृष्टिकोणबाट अध्ययन गरी जीवन र व्यवहार असल बनाउनको लागि पथप्रदर्शक व्यक्तित्वका रुपमा शाक्यलाई स्मरण गर्नुभयो । सो अवसरमा भिक्षुणी जवन, अनुपमा र सपना गुरुमांले स्वर्गीय शाक्यको श्रद्धाञ्जलीको कामना गर्र्दै पाठ गर्नुभएको थियो भने कमिटीका उपाध्यक्ष सुदर्शन शाक्य, पूर्वसदस्यहरुको तर्फबाट समिनराज शाक्यले स्वर्गीय शाक्यको योगदानका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।

ललितपुर–८ निवासी शाक्यको ५६ वर्षको उमेरमा बैशाख १९ गते मंगलबार राति ९ः३० बजे पाटन अस्पतालमा निधन भएको थियो । बाल्यकालदेखि नै बुद्ध धर्म पढ्न र सिक्न रुचाउने शाक्य विसं २०३७ सालमा भिक्षु हुनुभएको थियो । त्यसको तीन वर्षपछि म्यानमार (बर्मा) गएर बुद्धधर्मको अध्ययन गरी २०४५ सालमा नेपाल फर्किनुभएको थियो । त्यसपछि शाक्यले भिक्षु जीवन त्याग गरी ंंशंखमु्लस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा सक्रिय हुनुभएको थियो । विशेषतः बर्माका गुरुहरुबाट हुने प्रवचन नेपाल र नेपाली भाषामा अनुवाद गर्ने काममा शाक्यको संलग्नता रहेको थियो ।

त्यसबखत नेपालका लागि म्यानमार राजदूतावासमा पनि शाक्यले केही समय काम गर्नुभएको थियो । बुद्धजन्मभूमी नेपालमा युवावर्गलाई बुद्धधर्मको ज्ञान दिएर चरित्रवान, कर्मठ र सशक्त बनाउने र त्यस्ता युवावर्ग क्रियाशील हुने वातावरण तयार गरी सामाजिक हितसंगै बुद्ध धर्मको क्रियाकलाप बढाउनुपर्ने शाक्यको मुख्य निचोड थियो।यही सोचलाई मूर्तरुप दिन शाक्यको अग्रसरतामा २०५३ सालमा बौद्ध युवा कमिटी संस्थापना गरिएको थियो।शाक्य कमिटीका संस्थापक अध्यक्ष र २०६६ सालदेखि संरक्षक रहनुभएको थियो । शाक्यकै अगुवाईमा कमिटीमार्फत सयौं युवावर्गले व्यक्तित्व विकाससँगै बुद्धधर्मको व्यावहारिक, वैज्ञानिक र ध्यान भावनाको विषय सैद्धान्तिक र व्यावहारिक ज्ञान पाइसकेको छन् ।