कूपोषित बालबालिका पोषण केन्द्र जाँदै



ओखलढुंगा । कोशी प्रदेशको पहाडी जिल्ला सोलु, ओखलढुंगा, खोटाङलगायतका कूपोषित बालबालिकाहरु उपचारका लागि पोषण पुनःस्थापना केन्द्र जान थालेका छन् । जसले गर्दा ओखलढुंगा जिल्ला अस्पताल रुम्जमटारमा सञ्चालित पोषण पुनःस्थापना केन्द्रमा उपचारका लागि आउने कूपोषित बालबालिकाको संख्या बढेको छ ।

कार्यक्रम शुरुआत भएको पहिलो आर्थिक वर्ष २०७७÷७८ मा ३६ जना, दोस्रो आर्थिक वर्ष २०७९÷८० मा ७४ जना बालबालिकाले उपचार गरेर कूपोषणमुक्त भएका थिए । यो आर्थिक वर्षको जेठ ३० गतेसम्म ७९ बालबालिकाले उपचार गराइसकेको र आर्थिक वर्ष सकिन अझै १ महिना बाँकी रहेकाले उपचार गर्न आउने बालबालिकाको संख्यामा वृद्धि हुने पोषण पुनःस्थापना केन्द्र रुम्जाटारका पोषण व्यवस्थापक साजना श्रेष्ठ बताउनुहुन्छ ।

पोषण पुनःस्थापना केन्द्रले अन्य निकायसँगको समन्वय र प्रसार–प्रचार प्रभावकारी ढंगले गरेकाले उपचारका लागि आउनेको संख्या वृद्धि भएको उहाँको भनाइ छ । ओखलढुंगाका प्रत्येक स्थानीय तहमा पुगेर पालिकाका अध्यक्ष, उपाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख तथा सरोकार वालाहरुसँग निरन्तर अन्तरक्रिया गर्नुका साथै स्थानीय सञ्चार माध्यमहरुबाट निरन्तर प्रसार–प्रचार गर्ने गरेकाले उपचारमा आउने बालबालिकाको संख्यामा वृद्धि भएको श्रेष्ठको ठम्याई छ ।

‘ओखलढुंगाको अलावा सोलु र खोटाङ पनि हाम्रो कार्यक्षेत्रमा पर्दछ । समय अभाव र निश्चित जनशक्तिका कारण त्यहाँका स्थानीय तहहरुमा समन्वयका लागि जान सकिएको छैन’, उहाँ भन्नुहुन्छ– ‘आगामी दिनमा सोलु र खोटाङका स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुखहरुसँग पनि समन्वयका लागि अन्तरक्रिया गर्ने योजना बनाएका छौं ।’

कूपोषित बालबालिकाहरुलाई पुनःस्थापना केन्द्रमा आउनासाथ केही समय आराम गराएर हलुका चिनीपानी दिने गरिन्छ । यसरी चिनीपानी खुवाएपछि कूपोषण पहिचानको लागि बच्चाको तौल, उचाई नापिन्छ । यसले बच्चामा भएको कूपोषणको प्रकारको पहिचान हुन्छ । यसरी कडा शीघ्र कुपोषण र मध्यम शिघ्र कूपोषणको पहिचान हुने गरेको छ । कडा शिघ्र कूपोषित बच्चालाई प्राथमिकतामा राखेर बच्चाको उपचार शुरू गर्ने गरिएको छ । त्यसपछि परीक्षणबाट लक्षण पत्ता लगाइन्छ । यसरी परीक्षण गरिसकेपछि कूपोषणबाहेक अन्य रोग लागेको भएमा उपचारका लागि अन्यत्र सिफारिस गरिने गरेको श्रेष्ठ बताउनुहुन्छ ।

पुनःस्थापना केन्द्रमा आउनुअघि र आएपछि आफ्नो छोरीमा आकाश जमिनको हिसाबले फरक भएको पोषण पुनःस्थापना केन्द्र रुम्जाटारमा ३९ महिने छोरी उपचारलाई गराई रहेकी कटारी नगरपालिका–४ उदयपुरकी अंगुरा कार्की बस्नेतले बताउनुभएको छ । वैशाख २५ गतेदेखि कूपोषित छोरीको उपचारमा उहाँ उहाँ रहनुभउको हो । पुनःस्थापनामा आउनुअघि बच्चाले राम्रोसँग नखाने गरेको, पातलो दिसा बारम्बार गर्ने गरेको, बच्चाको शरीर ज्यादै ख्याउटे रहेको अंगुराको भनाइ छ । यहाँ आएपछि बच्चाको स्वास्थ्यमा सुधार भई खान थालेको, पातलो दिसा गर्न छाडेको, रुन कम गरेको र तौलमा वृद्धि भएर ९ केजी बाट बढेर १० केजी भएको उहाँको कथन छ ।

सानो उमेरमै उपचारका लागि पुनःस्थापना केन्द्र आउने कूपोषित बालबालिका चाँडै निको हुने र ठूलो उमेर भएका कूपोषित बच्चालाई कूपोषणमुक्त हुन समय लाग्ने गरेको पोषण पुनःस्थापना केन्द्र रुम्जाटारमा कार्यरत स्टाफ नर्स नन्दनी चौधरीले बताउनुहुन्छ ।

उपचारका लागी पोषण पुनःस्थापना केन्द्रमा आउने कूपोषित बालबालिकाको संख्यामा वृद्धि भएसँगै व्यवस्थापनमा चुनौती थपिएको व्यवस्थापक श्रेष्ठको कथन छ

यसै गरी, जिल्ला अस्पताल रुम्जाटारका प्रमुख डा. साजन दुवालले अस्पतालमा बालरोग विशेषज्ञ नभएका कारण उपचार हुन नसकेका कूपोषित बच्चाहरुलाई अन्यत्र सिफारिस गर्नुपरेको बताउनुभएको छ । अस्पतालमा बाल रोग विशेषज्ञ भएको खण्डमा सेवाग्राहीलाई अझ सहज हुने उहाँको कथन छ ।

केन्द्रमा हाल १० बेडको क्षमता रहेको र बिरामी बच्चाको चाप बढेर १४÷१५ जनासम्म उपचार पुगेको छ । बेड नपुगेका कूपोषित बच्चाहरुलाई अन्य वार्डहरुबाट बेडहरु ल्याएर उपचार गर्ने गरिएको छ । यस केन्द्रमा उपचार गर्न आउने बच्चाहरुलाई निःशुल्क उपचार गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्