उपप्रधान तथा गृहमन्त्रीको चेतावनी : अबपनि भ्रष्टाचार र कमिसनतन्त्र नरोकिए मुलुक थप बर्बादीतर्फ जान्छ



–मुलुकलाई समृद्ध र विकसित बनाउन नेतृत्व सच्चिनैपर्छ
–भ्रष्टाचार र कमिसनतन्त्रले सीमा नाघेको छ
–अहिलेसम्मको बर्बादीको जिम्मेवारी सबै राजनीतिक नेतृत्वले लिनुपर्छ
–दलप्रति बढेको विकर्षण र निराशाको निदान तत्काल खोज्नुपर्छ
–राज्यविरुद्धको अपराध गर्नेको पक्षमा अधिवक्ताको लर्को लाग्नु दुःखद्
–राजनीति नै बढी भ्रष्ट भएपछि ब्युरोक्रेसीमा त्यसको असर
–बैठकमा नेताहरूलाई कैयौंपटक झकझक्याएको छु
–यसपटक प्रधानमन्त्रीमा केही गरौं भन्ने जोस देखिन्छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास, सुशासन र समृद्धिका लागि प्रमुख राजनीतिक दल र नेतृत्ववर्ग सच्चिनुको विकल्प नरहेको बताउनुभएको छ । उहाँले मुलुकमा भ्रष्टाचार र कमिसनतन्त्र अचाक्ली बढिरहेको बताउँदै अबपनि भ्रष्टाचार र कमिसनतन्त्र रोकिन नसके मुलुक थप बर्बादीतर्फ जानसक्ने चेतावनी दिनुभएको छ ।

आइतबार साँझ ललितपुर हात्तीवनस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रकाशकहरूसँग छलफल गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलेमुलुकमा व्याप्त भ्रष्टाचार, कमिसनतन्त्र र विकृति रोकिन नसके मुलुक थप बर्बादीतर्फ जानसक्ने र त्यसले गम्भीर दुष्परिणाम ल्याउन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले सत्ताधारी दलभित्रै नेतृत्वमा सुशासन कायम गराउने विषयमा आफूले बहसपैरवी र अभियान थालेको जानकारी दिनुभयो । मुलुकमा सुशासन कायम गराउन आफूले थालेको अभियानमा सहयोग र साथ दिन सञ्चारमाध्यमसँग आग्रह गर्दै उहाँले अब सबै राजनीतिक दल र तिनका नेताहरू सच्चिएर मुलुकको विकास, समृद्धि र सुशासनमा हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले मुलुकमा रहेका अथाह सम्भावनालाई वास्तविकतामा परिणत गराई मुलुकलाई साँच्चै नै समृद्ध र विकसित बनाउने हो भने प्रमुख राजनीतिक दल र तिनका नेताहरू आमूल रूपमा सच्चिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

विशेष गरी नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन प्रक्रियालाई कडाइका साथ अगाडि बढाएर दोषीलाई कानुनी कारबाही प्रक्रियामा ल्याएपछि उहाँ चर्चामा रहँदै आउनुभएको छ । यसअघि पनि गृहमन्त्री श्रेष्ठले मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन अपारदर्शी रूपमा खर्च हँुदै आएको सुराकी भत्ता खारेज गरेर चर्चामा आउनुभएको थियो ।

सम्पादक तथा प्रकाशकहरूसँग छलफल गर्दै गृहमन्त्री श्रेष्ठले मुलुकमा केही समयदेखि भ्रष्टाचार र कमिसनतन्त्र अत्यधिक बढ्दै आएको र सबै मिलेर यसलाई रोक्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘भ्रष्टाचार र कमिसनतन्त्रले सीमा नाघिसकेको छ, जता हे¥यो उतै विकृति, भ्रष्टाचार र कमिसनतन्त्रको जालोले छोपेको छ, यसलाई रोक्न नसके हामीले गम्भीर परिणाम भोग्नुपर्ने देखिन्छ’ –उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सम्पादकहरूसँग भन्नुभयो ।

उहाँले अहिलेसम्मको बर्बादीको जिम्मेवारी सबै राजनीतिक नेतृत्वले लिनुपर्ने र अबको दिनमा सबै पक्ष सच्चिएर थप बर्बादी रोक्नुपर्ने अत्यावश्यकता औंल्याउनुभयो । ‘मैले त गठबन्धन दलको बैठकमा पनि मुलुकमा कुशासन बढेको र यसले बर्बादी निम्त्याउन लागेको भन्दै नेताहरूलाई कैयौंपटक झकझक्याएको छु, सबैजना गम्भीर हुनुप¥यो भनेर पैरवी नै गर्दै आएको छु तर कोही पनि संवेदनशील नदेखिँदा चित्त दुख्ने गरेको छ’ –गृहमन्त्री श्रेष्ठले सम्पादकहरूसँग भन्नुभयो ।

मन्त्री श्रेष्ठले आमजनतामा प्रमुख राजनीतिक दल र ती दलका नेताप्रति किन चरम निराशा र विकर्षण पैदा भइरहेको छ भन्नेबारेमा सबैजनाले गम्भीर भएर सोच्नुपर्ने तथा कारण पत्ता लगाएर तत्काल निदान खोज्नुपर्ने र विगतका गल्तीलाई सच्याएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नभएको र प्रमाण भेटिएमा जतिसुकै ठूला पदस्थहरूलाई पनि छानबिनको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘केही ठूला’ व्यक्तिहरू उम्किए भन्ने गुनासा छन् नि भन्ने सम्पादकहरूको जिज्ञासामा उहाँले आवश्यक प्रमाण भेट्न नसकिएकाले त्यस्तो देखिएपनि उहाँहरूविरुद्ध प्रमाण जुटाउने काम भइरहेको दाबी गर्नुभयो । ‘बयानमा पोलेकै भरमा मात्रै कसैलाई पक्राउ गर्ने कुरा हुँदैन, बयानमा पोलिएका जो जो पक्राउ परेका छन् उनीहरूविरुद्ध प्रमाण फेला पारिएकाले पक्राउ गरी कानुनी कारबाहीमा लगेका हौं, बयानमा पोलिएका केहीविरुद्ध प्रमाण जुटाउन नसकिएकाले उनीहरूलाई पक्राउ नगरिएको हो’ –गृहमन्त्री श्रेष्ठले भन्नुभयो ।

उहाँले कसैले कसैलाई पोलेकै भरमा मात्रै पक्राउ गर्न नमिल्ने तथा विनाप्रमाण पक्राउ गरिए त्यसै छोड्नुपर्ने अवस्था आउन सक्ने र त्यस्तो अवस्थामा त्यसै छोड्यो भन्ने आरोप लाग्ने भएकाले केहीलाई पक्राउ गर्न नसकिएको स्पष्ट पार्नुभयो । तर, उनीहरू सधैं छानबिन घेरामा रहने र प्रमाण फेला परेमा जुनसुकै समयमा पनि पक्राउ गरी कानुनी दायरामा ल्याउन सकिने गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएकाहरूको पक्षमा अदालतमा बहस गर्न नाम चलेका वरिष्ठ अधिवक्ताहरूको लर्को लाग्नु दुःखद् भएको बताउनुभयो । ‘आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाएर बाहिर पठाउन खोजिएको छ, त्यस्तो राज्यविरुद्धको अपराध गर्नेहरूलाई बचाउन वरिष्ठ अधिवक्ताहरूदिलोज्यान दिएर लाग्नुभएको छ, यसले सुशासन कायम गराउने हाम्रो अभियानमा धक्का लाग्छ कि भन्ने चिन्ता छ’–उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भन्नुभयो । उहाँले यस विषयमा नेपालका सम्पादक तथा सञ्चारमाध्यमहरूले पनि विश्लेषण गरेर समाचार लेख्न नसकेको भन्दै चित्त दुखाउनुभयो ।

उहाँले पछिल्लो समय काठमाडौंलगायतका केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार र संसदीय निर्वाचनमा स्वतन्त्र पार्टीले सोचेभन्दा बढी जित्नुमा उनीहरू असल, भिजनयुक्त र राम्रा भएरभन्दा पनि प्रमुख राजनीतिक दलहरूविरुद्धको जनताको विकर्षण नै प्रमुख कारण रहेको स्पष्ट पार्नुभयो । ‘स्वतन्त्र पार्टी राम्रो, असल र देशका लागि उत्तम भनेर होइन, जनताले दलप्रति वितृष्णा भएर स्वतन्त्रलाई भोट हालेका हुन् त्यसैले अब दलहरू एक, दुई, तीन सच्चिनुको विकल्प छैन’–उपप्रधानमन्त्री श्रेष्ठले जोड दिँदै भन्नुभयो ।

‘सच्चिनु भनेको भ्रष्टाचार र कमिसनतन्त्र रोक्नु हो, सदाचारमा बस्नु हो, इमानदार बन्नु हो । अब हामी सबैले यो विषयमा गम्भीर भएर सोचौं’ –गृहमन्त्रीश्रेष्ठले भन्नुभयो । उहाँले भ्रष्टाचार र कमिसनतन्त्र रोक्न तथा भ्रष्टाचार कमी गर्न आफूले ५ सय र १ हजारको नोटबन्दी गर्नुपर्ने प्रस्ताव ल्याए पनि कसैले सुनुवाइ नगरेको भन्दै गुनासो गर्नुभयो । उहाँले धार्मिक र आध्यात्मिक चिन्तन आवश्यक पर्ने र त्यसले मानिसलाई अनुशासनमा ल्याउने भएकाले आध्यात्मिक चिन्तन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यसपटक प्रधानमन्त्री प्रचण्ड पनि मुलुकमा केही गरेर देखाउनुपर्छ भन्ने सकारात्मक सोच र जोसका साथ अघि बढेकाले मुलुकमा विकास, समृद्धि र सुशासनको पक्षमा केही उपलब्धिमूलक काम हुन्छ कि भन्ने विश्वास आफूलाई लागेको बताउनुभयो ।

उहाँले नेपाल विश्वमा सबै प्रकारका प्राकृतिक स्रोत तथा अन्य सबै सम्भावनायुक्त क्षेत्रले भरिपूर्ण देश भएपनि सोअनुसार मुलुकको विकास र समृद्धि हासिल गर्न नसकिएको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘हामीकहाँ पर्यटकीय क्षेत्र, कृषि, जलस्रोत, राम्रो हावापानी, जडिबुटी, वनजंगललगायत सबै प्रकारका सम्भावना छन् जबकि यस्तो सबै क्षेत्रको सम्भावना बोकेको मुलुक विश्वमा कि छँदैछैन, भए पनि निकै कम छन्, तर पनि हामी किन सधैं पछाडि छांै त भन्नेबारेमा गम्भीर भएर सोच्नुपर्ने बेला आइसकेको छ’ –श्रेष्ठले भन्नुभयो ।

ब्युरोक्रेसीमा पनि भ्रष्टाचार अत्यधिक रहेको र त्यसलाई रोक्न नसकिएको हो भन्ने सम्पादकहरूको जिज्ञासामा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले राजनीति नै बढी भ्रष्ट भएपछि ब्युरोक्रेसीमा त्यसको असर परेको बताउनुभयो । उहाँले मुख्य कमान्डिङ गर्ने निकायका रूपमा रहेको राजनीति नै बढी भ्रष्ट भएकाले ब्युरोक्रेसीमा समस्या आएको बताउँदै राजनीति सुध्रिएमा र राजनीतिक नेतृत्वले कुनै भ्रष्टाचार नगरेमा ब्युरोक्रेसी आफैं सुध्रिने स्पष्ट पार्नुभयो ।

‘राजनीतिक नेतृत्वबाट प्रधानमन्त्री, मन्त्री बन्नेहरूले भ्रष्टाचार नगर्ने र घूस नखाने तथा भ्रष्टाचारविरुद्ध वास्तविक रूपमा शून्य सहनशीलताको नीति अपनाउने हो भने सबै कर्मचारीहरू डरले काँपेर फटाफट काम गर्छन्, उनीहरूले घूस खाने हिम्मत नै गर्दैनन्, त्यसैले मुख्य रूपमा राजनीतिक नेतृत्व नै सच्चिनुपर्छ भन्नेमा मेरो मुख्य जोड हो’–गृहमन्त्री श्रेष्ठले सम्पादकहरूसँग भन्नुभयो । यद्यपि, वर्तमान सरकारले प्रशासन सुधारका लागि प्रशासन सुधार समिति गठन गरेर आवश्यक कार्य थालेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्