स्वास्थ्य शिविरमा २ हजार बढीको निःशुल्क शल्यक्रिया



हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा ३ दिने बृहत् एकीकृत स्वास्थ्य शिविरमा २ हजारभन्दा बढी बिरामीले आवश्यकताअनुसार शल्यक्रियासहितको स्वास्थ्य सेवा पाए । डा. सर्कमसिजम, हाइड्रोसिल, छातीको पानी निकालेको, कानको लोतीमा पलाएको ऐजेरु र टाउकोमा पलाएको ऐजेरुको समेत शल्यक्रिया गरिएको शल्यक्रियामा संलग्न मुटुरोग विशेषज्ञ डा. सम्पूर्णमान तुलाधरले बताउनुभयो ।

बिहीबारबाट शुरू भएको निःशुल्क स्वास्थ्य शिविरमा मुटुरोग, प्रसूति तथा स्त्री रोग, जनरल फिजिसियन, हाडजोर्नी, नशा, नाक, कान तथा घाँटी, बाल रोग, अकुपञ्जर, फार्मेसीलगायतका उपचार सेवा दिइएको थियो । अंकोलोजिस्ट डा.प्रविन जैसवालले एकै दिन किराले खाएर समस्या भएको ५० जनाको दाँतको शल्यक्रिया गरी निकाल्नुभएको थियो । शिविरका लागि विभिन्न क्षेत्रका ६ जना विशेषज्ञ चिकित्सकहरू काठमाडौंबाट आउनुभएको छ भने अन्य चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, स्वयमसेवीहरू हुम्ला जिल्ला अस्पतालको टिम सहभागी भएका थिए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहलगायत जिल्ला अस्पतालका चिकित्सकहरू समेत स्वास्थ्य शिविर सफल बनाउँन सक्रिय रूपमा लागि परेका थिए । प्रारम्भ सामाजिक संस्था र सिंगापुर रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले शिविर आयोजना गरेका हुन् । तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएको प्रारम्भ नेपालका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले जानकारी गराउनुभयो ।

स्वास्थ्य शिविरमा अधिकांश जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरू रहेको उहाँले जानकारी गराउनुभयो । स्वास्थ्य शिविरमा स्थानिय निकायको सहकार्य जुटाउँदै खटेका सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष तथा प्रारम्भ नेपालका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले दिनुभएको जानकारीअनुसार हाडजोर्नी, गाइनो, कानको समस्या भएका धेरै बिरामी पाइएको जानकारी गराउनुभयो ।

हुम्लामा पहिलोपटक प्राकृतिक तथा अंकुपंचर विधिबाट गरिएकोे उपचार स्थानीय बिरामीहरूले निकै रुचिका साथ लिएका छन् । अन्नपूर्ण नेचरकेयर अस्पताल ललितपुरले प्राकृतिक उपचार सेवा दिन ३ दिनदेखि खटेका डा.स्कन्द डाँगीका अनुसार स्वास्थ्य शिविरमा १५ वर्षदेखि ९० वर्षसम्मका बिरामीले ३ दिनसम्म सेवा लिएको बताउनुभयो ।

निजामती अस्पतालका हाडजोर्नी विभागका डा.बन्धुराम पंगेनीले हाडजोर्नी सम्बन्धी समस्या भएको बिरामीलाई तीन दिनदेखि सेवा दिँदा अधिकांश बिरामी ढाड र घुँडाको हड्डी र मांसपेसीको समस्याका भएको पाइएको बताउनुभयो । उहाँले अधिकांश बिरामीले झुलो पोलेर सुन्निएको र दुखेको ठाउँमा पोलेको घाउखत पाएको बताउनुभयो । यतिसम्मकि हाइड्रोसिलका बिरामीले समेत त्यसरी नै झुलो पोलेर उपचार गरेको पाइएको उहाँले बताउनुभयो ।

त्यसै गरी स्त्रीरोगका विषयमा उपचार सेवा दिएकी स्त्रीरोग विशेषज्ञ डा.रश्मी बस्ताकोटीकाअनुसार हुम्लाका धेरै महिलाहरूमा सानै उमेरमा विवाह गर्ने, धेरै सन्तान जन्माउने, सरसफाइमा ध्यान नदिने, पाठेघरको संक्रमण हुने समस्या भएको पाइयो । कतिपय बिरामीको भित्री अंगहरूमा घाउ खटिरा जटिल अवस्थामा पुगेको र पाठेघरको मुखको संक्रमण बढ्दो मात्रामा पाइएकाले स्वास्थ्य शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । तीन दिनसम्म लगातार बिरामीको परीक्षण गर्दा पनि सिमकोटमा बिरामीको चाप नघटेको देखेर आयोजक संस्थाले स्थानीय निकाय, प्रदेश सरकार र सघीय सरकारले यस्ता दुर्गम जिल्लाका बासिन्दाको जनस्वास्थ्यप्रति विशेष प्राथमिकताका साथ ध्यान दिएर कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य शिविरको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सिमकोट गाउँपालिकाका प्रमुख विजय भण्डारी, उपप्रमुख शुशिला रोकाया, खार्पुनाथ गाउँपालिकाका प्रमुख कर्णबहादुर रावल, नाम्खा गाउँपालिका प्रमुख कर्णबहादुर रावल, नाम्खा गाउँपालिका प्रमुख प्रेम लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौड्याल, जिल्ला प्रहरी प्रमुख भीमलाल भट्टराई, स्वास्थ्य सेवा कार्यालय मिमित्त प्रमुख प्रेमबहादुर सिंह लगायतले शिविरको महत्व र नागरिकको रक्षाका लागि सबैको साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै प्रारम्भ नेपाल र सिंगापुर रेडक्रसलाई सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।

शिविरको संयोजन देवेन्द्र शाहीले गर्नुभएको थियो । कार्यक्रममा हुम्ला पत्रकार महासंघका अध्यक्ष राजन रावतलगायत स्थानीय जिल्ला अस्पतालको टोलीको सक्रिय सहभागिता रहेको थियो । हुम्लाको सिमीकोट गाउँपालिका, खारकुनास सिमीकोट गाउँपालिकामा स्वास्थ्य शिविरले नेपालको विकट कर्णाली प्रदेश हुम्लाका नागरिकले सेवा पाएकोमा खुशी व्यक्त गरियो ।

प्रतिक्रिया दिनुहोस्