वीरगन्ज महानगरपालिकामा कुपोषित बालबालिकाको संख्या बढ्दै 



वीरगन्ज। 
वीरगन्ज महानगरपालिकामा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ । वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार चालु आर्थिक वर्ष २०७९,८० को १० महिनाको अवधिमा वीरगन्ज महानगरमा एक सय ७४ जना कडा खालको कुपोषित बालबालिका फेला परेका छन्।

महानगरका विभिन्न वडामा रहेका विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका क्रममा फेला परेका ती कुपोषित बालबालिकामध्ये ५६ जना बालबालिकालाई महानगरपालिकाद्वारा सञ्चालित ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको छ । यसअघि गत आर्थिक वर्ष २०७८÷७९ मा भने वीरगञ्ज महानगर क्षेत्रमा ४९ जना मात्रै कुपोषित बालबालिका फेला परेका थिए ।

 जसमध्ये ४४ जनाको उपचार गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा ४३ जना कुपोषित बालबालिका भेटिएकोमा तीमध्ये ३९ जनाको र आर्थिक वर्ष २०७६÷७७ मा फेला परेको २२ जनामध्ये १८ जनाको उपचार गरिएको महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिनुभयो ।गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, बालविवाहका कारण सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका कारणले कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

जन्मेकोदेखि पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि वीरगन्ज स्वास्थ्यचौकी सहित बगही स्वास्थ्यचौकी र सिर्सिया स्वास्थ्यचौकीमा ओटिसी सेन्टर चलाउँदै आएको छ । बालबालिकामा बढ्दो कुपोषणको समस्यालाई न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र स्वास्थ्य स्वयंसेविकामार्फत वडा–वडामा सचेतनामूलक कार्यक्रमसँगै बालबालिका तथा सुत्केरी आमालाई बालभिट्टा, लिटोलगायतका पोषणयुक्त खाना र गर्भवती महिलालाई आइरन चक्की वितरण गर्दै आएको प्रमुख कुर्मीको भनाइ छ ।

वीरगन्जस्थित नारायणी अस्पताल हाताभित्र सन् २००६ देखि सञ्चालित पोषणा पुनः स्थापना गृहले १५ वर्षको अवधिमा दुई हजार आठ सय २८ कुपोषित बालबालिकालाई अभिभावकसँगै राखेर निःशुल्क उपचार सेवा दिएको गृहकी प्रमुख सरिता यादवले जानकारी दिनुभयो । यादवका अनुसार सन् २००७ देखि गृहमा हालसम्म एक हजार पाँच सय २४ बालक र एक हजार तीन सय चार बालिका गरी दुई हजार आठ सय २८ कुपोषित बच्चाको उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्