नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवेदन बुझाउन प्रहरीलाई केही दिन लाग्ने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानबिन गरिरहेको नेपाल प्रहरीले आफ्नो अनुसन्धानलाई अन्तिमतिर पुगेको बताए पनि प्रतिवेदन बुझाउन केही दिन लाग्नेभएको छ । प्रहरीले उक्त प्रकरणमा संलग्न रहेकाहरूलाई संगठित अपराध र ठगीमा मुद्दा चलाउने गरी प्रतिवेदन तयार गरेको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राज्यविरुद्धको अपराधको मुद्दा समेत थप गरी प्रतिवेदन बुझाउन आग्रह गरेपछि केही दिन लम्बिने भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आरोपीसँगको बयान लिने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै जिल्ला सरकारी वकिलको कार्यालयबाट थप निर्देशन आएकाले सोहीबमोजिम काम भइरहेको हुँदा प्रतिवेदन बुझाउन केही समय लाग्ने बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका अझै केही व्यक्ति पक्राउ नपरे पनि हदम्यादका कारण प्रहरीले पक्राउ परेकासँग बयान लिएर प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

प्रहरीले अहिलेसम्म उक्त प्रकरणमा संलग्न रहेको अभियोगमा १५ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका आरोपीको बयानलाई आधार मानेर प्रहरीले अझै १६ जना पक्राउ गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

अहिलेसम्म प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्व सांसद आङ टावा शेर्पा, रायमाझीका पुत्र सन्दीप रायमाझी, बिचौलियाहरू सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, नेपाल हज कमिटीका अध्यक्ष समसेर मियाँलगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उक्त प्रकरणमा जोडिएका अन्य व्यक्तिको नाम भने गोप्य राखेको छ । यस घटनामा संलग्न रहेर पक्राउ नपरेका व्यक्तिहरू भाग्न सक्ने भन्दै प्रहरीले उनीहरूका बारेमा कुनै कुरा सार्वजनिक गरेको छैन । साथै खोजीको सूचीमा रहेकाहरूको खोजी पनि जारी राखेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उक्त प्रकरणमा संलग्न रहेका बिचौलियालाई पक्राउ गरेपछि उनीहरूको बयानका आधारमा विभिन्न पार्टीका नेताहरूलाई पोलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा बिचौलियाहरूले पूर्व गृहमन्त्री खाँणलाई ६ करोड र पूर्व मन्त्री रायमाझीका बाउ छोरालाई ३ करोड, डा. इन्द्रजित राईलाई ५ करोड, सचिव पाण्डेलाई ५० लाख र अन्य व्यक्तिलाई पनि पैसा बुझाएको बताएको अनुसन्धानमा संलग्न एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

तर, पक्राउ परेका नेताहरूले भने बिचौलियाले लगाएको आरोपलाई अस्वीकार गरेको ती अधिकृतले बताए । अनुसन्धानको क्रममा बिचौलियाले नक्कली भुटानी शरणार्थी बनेर युरोप अमेरिका जाने व्यक्तिसँग चेकमा भन्दा पनि नगद लिएको ती अधिकृतले जानकारी दिए । पीडितसँग नगदमा पैसा लिएर नेताहरूलाई भने बैंक चेकमार्फत कारोबार गरेको पनि ती अधिकृतले जानकारी दिए ।

बिचौलियाले गृह मन्त्रालयका अन्य कर्मचारी र गृह मन्त्रालयकै सवारी साधन प्रयोग गर्ने र ती नक्कली भुटानी शरणार्थी बनेर जान खोज्नेलाई विभिन्न ठाउँमा लैजाने ल्याउने गर्नुका साथै संकलन भएको रकमसमेत सोही सवारी साधनमा राखेर सिंहदरबारका साथै विभिन्न शक्ति केन्द्रमा समेत पु¥याउने गरेको पाइएको पनि ती अधिकृतले जानकारी दिए ।

नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले उक्त काण्डमा संलग्न रहेको भन्दै नेपाल हज समितिका अध्यक्ष समसेर मियाँलाई पक्राउ गरेको छ ।

प्रहरीले मियाँलाई बिहीबार दिउँसो सिंहदरबारबाट पक्राउ गरिएको जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको मिलिभगत रहेको देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शरणार्थीका नाममा ठग्ने गिरोहलाई हज समितिका नाममा रहेको गृह मन्त्रालयको सवारी साधन उपलब्ध गराएको पाइएको एसएसपी कार्कीले बताउनुभयो । गृह मन्त्रालयको स्वामित्वमा रहेको बीएबी–१४०५ नम्बरको निसान जिप प्रहरीले बरामद गरेको छ । उहाँले नक्कली भुटानी बन्न चाहनेहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्य सो गाडीमा जाने गरेको प्रमाण पाइएपछि मियाँलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

सौराहा र सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको पनि एसएसपी कार्कीले जानकारी दिनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

भुटानी शरणार्थी आन्दोलनका नेता रिजाल पक्राउ

भुटानी शरणार्थी आन्दोलनका नेता टेकनाथ रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा बिहीबार पक्राउ पर्नुभएको छ ।

भुटानी राजपरिवारले नेपालीभाषी भुटानी नागरिकलाई देश निकाला गरेपछि नेपाल आएर निर्वासित जीवन बिताएका रिजालले भुटानी शरणार्थी स्वदेश फिर्ती अभियान चलाएर स्वदेश तथा विदेशमा चर्चा कमाउनुभएको थियो ।

तेस्रो देश पुनःस्थापित हुन अस्वीकार गरेर नेपालमा बस्दै आएका रिजालले नक्कली भुटानी शरणार्थीका लागि सिफारिस गरिदिन रकम लिएको पाइएपछि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ । उक्त प्रकरणमा बिचौलियाको भूमिकामा रहेका सानु भण्डारीले रिजाललाई उक्त प्रकरणका लागि ७ लाख रुपियाँ दिएको बताएपछि प्रहरीले अनुसन्धनका लागि पक्राउ गरेको हो ।

झापामा बस्दै आएका रिजाललाई बिहीबार पक्राउ गरी काठमाडांै ल्याइएको छ । पछिल्लो समय रिजालले पुनर्वास गराउन बाँकी छ हजारभन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आउनुभएको थियो । रिजालकै मागलाई सम्बोधन गर्न गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि २०७६ साल जेठ ३० गते बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

को हुन रिजाल ?

२००४ फागुन १३ गते दक्षिण भुटानको लामीडाँडामा जन्मेका टेकनाथ रिजाल भुटान पिपुल्स पार्टीका अध्यक्ष हुनुहुन्छ । उहाँले भुटानमा लामिडाँडा क्षेत्रबाट चुनाव जितेर प्रतिनिधि भई डेढ दशकसम्म भुटान सरकारको सेवा गर्नुभएको थियो । उहाँ भुटानमा मानव अधिकारवादी नेताको रूपमा लोकप्रिय हुनुहुन्थ्यो । भारतको बनारस विश्वविद्यालयबाट संस्कृतमा आचार्य गरेका रिजाललाई भुटानी राजालाई शिक्षा र भ्रष्टाचार नियन्त्रणमा सल्लाह र सहयोग गर्ने मुख्य व्यक्तिको रूपमा हेरिन्थ्यो । भुटानमा भएको जनगणनाले भुटानी नागरिकलाई वंशज, बसाइँ सरेर आएका र गैरभुटानी भनी तीन वर्गमा विभाजन गरेपछि त्यसका विरुद्ध रिजालले आवाज उठाउनुभएको थियो । नेपाली मूलका अधिकांश नागरिकलाई गैरभुटानी समूहमा राखिएकोमा उहाँले राजासमक्ष असन्तुष्टि प्रकट गर्नुभएको थियो ।

तत्कालीन भुटानी राजाले त्यसपछि रिजाल आफ्नो विरोधी भएको भन्दै उहाँकोे गतिविधिमाथि निगरानी राख्न शुरू गरेको थियो । भुटानको संसद्को उपसभामुख निर्वाचनमा राजाका मान्छेले हारेर रिजाल समर्थित व्यक्तिले जितेपछि उहाँलाई देश निकाला गर्ने योजना बनेको थियो । उहाँलाई भुटानमा मार्ने षड्यन्त्र भएपछि रिजाल भारतको आसाम हुँदै २०४५ सालको भदौ अन्तिमतिर नेपाल आउनुभएको थियो ।

त्यतिखेर नेपालका राजाको प्रत्यक्ष निगरानीमा रहेको पञ्चायती सरकारले झापाबाट पक्राउ गरेर भुटान सरकालाई बुझाइदिएको थियो । रिजाललाई भुटानले तुरुन्तै चेम्गाङको बन्दी गृहमा थुनेर सन् १९९३ सम्म मुद्दा चलाई जन्म कैद गर्ने फैसला सुनाएको थियो । त्यसको झण्डै १० वर्षपछि नेपालमा रहेको भुटानी शरणार्थी समस्याको समाधान भुटान–नेपाल द्विपक्षीय बार्ताबाट गरिने सहमति भएपछि भुटानको राजाबाट माफी पाई उहाँ जेलमुक्त हुनुभएको थियो ।

जेलभुक्त भएपछि आफ्ना राजासँग भेट्न भनेर उहाँ दुई वर्ष राजधानी थिम्पुमै बस्नुभएको थियो । तर, भुटानी राजाले उहाँलाई भेट दिनुभएन । त्यसपछि सिलिगुढी, कोलकाता र दिल्लीमा औषधि–उपचार गर्न निस्केका रिजाल २०६० असोज ३० गते काठमाडौं आउनुभएको थियो । विदेश भ्रमणका लागि अनुमति नपाएका रिजालले अनसन बसेर नेपाल सरकारलाई विदेश भ्रमणका लागि अनुमति दिन बाध्य बनाउनुभएको थियो । २०६१ असोज १ गते नेपाल सरकारले उहाँलाई जेनेभामा भएको राष्ट्रसंघीय शरणार्थी उच्च आयोगको बैठकमा भाग अनुमति दिएको थियो ।

‘निर्वासन’ नामक आत्मकथा प्रकाशित गरेका रिजालले प्रकाश काफ्ले अन्तर्राष्ट्रिय ऐक्यबद्धता पुरस्कारलगायत अन्य थुप्रै पुरस्कार पनि पाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्