२०२५ सम्ममा १५ लाख नेपालीलाई उच्च रक्तचाप मुक्त बनाउने सरकारको लक्ष्य



काभ्रे । 
यस वर्षको विश्व उच्च रक्तचाप दिवस राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेलमा विविध कार्यक्रमको आयोजना गरी मनाइयो । १७ मे लाई विश्व उच्च रक्तचाप दिवसमा रूपमा मनाइँदै आएको छ ।

राष्ट्रिय कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले इतिहास बनाउँन महत्त्वपूर्ण योगदान चाहिन्छ । यो ठाउँमा आउँदा विशेष किसिमको शक्ति आउँछ । काभ्रेको वातावरण स्वास्थ्य मैत्री छ यसलाई बचाइराख्नु हामी सबैको दायित्व हो ।

यो जिल्ला स्वास्थ्यका क्षेत्रमा देशकै नमुना बन्न सकोस् । हामीले सन् २०१५ को भूकम्प र कोभिड १९ लाई नियाल्दा काभ्रे जिल्लाले सक्षमता देखाएको छ । धुलिखेल अस्पतालका संस्थापक तथा काठमाडौँ विश्व विद्यालयका पूर्व उपकुलपति सकारात्मक सोच बोकेका व्यक्ति हुनुहुन्छ ।

उहाँले उच्च रक्तचापका बारेमा ५० प्रतिशतलाई मात्र थाहा छ र थाहा पाएका मध्ये उपचारमा आउने २५ प्रतिशत मात्र छन् । स्वास्थ्य हरेक व्यक्तिसँग पुग्नुपर्छ । यस विषयमा जनप्रतिनिधि र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले सोच्नुपर्छ भन्नुभयो । त्यसै गरी उहाँले रोग पहिचान र उपचार कहाँ हुन्छ स्पष्ट हुनुपर्छ ।

काभ्रेले देशलाई सिकाउन सकोस् मन्त्रालय र विभागको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै उच्च रक्तचाप दिवसलाई भव्य र सभ्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्व स्वास्थ्य संगठन, काभ्रे जिल्ला समन्वय कार्यालयका प्रमुख, १३ वटै पालिकाका प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखा, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी, धुलिखेल अस्पताल परिवार सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

जिल्ला समन्वय समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दीपक गौतमले काभ्रेपलान्चोक जिल्ला स्वास्थ्यका क्षेत्रमा राम्रो काम गरेकाले विश्व स्वास्थ्य संगठनले उत्कृष्ट जिल्ला घोषणा गरेको छ । जुन जिल्लामा महाभारत, खानी खोला जस्ता ठाउँमा समयमै हेलिकोप्टर पठाउन सकेनौ भने सुत्केरी बेथा लागेर महिलाको ज्यान जान सक्ने अवस्था आज पनि छ । आर्थिक अवस्था कमजोर भएर मृत्युवरण गर्नुपरेका घटना कायमै छन् ।

दूर दराजको कर्णाली प्रदेशको हाम्रो समग्र देशको अवस्था के होला सहजै अनुमान गर्न सक्छौ । विकास भनेको चिल्लो बाटो र चिटिक्क परेको घर होइन स्वस्थ जीवन भन्दा ठुलो विकास केही पनि हुन सक्तैन । देशको विकास गर्ने हो भने सबैको स्वस्थ जीवनका लागि काम गर्नुपर्छ । हाम्रो देशको अवस्था चिल्ला र चिप्ला सडकमा हैन, प्रत्येक पालिकाले नीति कार्यक्रममा स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर बजेट बनाउँछौ कि बनाउँदैनौ ? बोल्दा मात्र सहमत भएर हुन्न ।

संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारको रूपमा ग्यारेन्टी गरिएको छ । के स्वास्थ्य जनताको सहज पहुँचमा छ त ? धुलिखेल अस्पताल जस्ता अस्पताल बनेकै कारण काभ्रेली नागरिकको ज्यान बचेको छ । सजिलो, सहज, निःशुल्क खोज्यौ भने धुलिखेल अस्पतालमा १७ सय जनशक्तिले रोजगारी पाउने सम्भावना छैन ।

नेपाल सरकार, प्रदेश सरकारले विश्व उच्च रक्तचाप दिवस काभ्रेमा गर्ने जुन निर्णय गर्नुभयो यसले काभ्रेलाई बिउँझाएको छ । काभ्रे जाग्यो भने यो देशलाई जागरूक बनाउनेछ । तिमाल गाउँपालिकाले २ हजार ७ सय जनामा स्क्रीनिङ गर्दा ६ सय ५० जनामा उच्च रक्तचाप पहिचान गरी उपचारको पहुँचमा ल्यायो ।

यो देशका लागि २७ किलोमिटर बाटो बनाउनुभन्दा महत्त्वपूर्ण काम गर्नुभएको छ । नेपाल सरकार र जनप्रतिनिधिहरूले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर यसो गरियो भने मात्र यो दिवस मनाएको सार्थक हुनेछ भन्नुभयो । नेपाल सरकारले उच्च रक्तचाप दिवसका अवसरमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला समन्वय समिति, जिल्ला स्थित १३ वटै स्थानीय तह र विश्व स्वास्थ्य संगठन लगायत सरोकारवाला निकायहरूको संयुक्त सहकार्यमा उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल धुलिखेलमा प्रभात फेरि कार्यक्रमबाट सुरु गरी विभिन्न प्रस्तुति गरी सम्पन्न गरियो ।

यो वर्ष विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का नेपालस्थित प्रतिनिधि सहभागी कार्यक्रममा सङ्गठनले नमुनाका लागि देशमै पहिलो पटक काभ्रेबाट उच्च रक्तचाप नियन्त्रणका लागि राष्ट्रिय अभियान सुरु गरिएको जानकारी गराइयो । कार्यक्रममा डब्लुएचओको नेपाल प्रतिनिधि डा रइस पोखरेल, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रामेश्वर श्रेष्ठ, काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष एवं प्रतिनिधि तथा स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

काभ्रे जिल्लामा १८ वर्षमाथिका ५१ हजार दुई सय ८१ जनामा उच्च रक्तचापको समस्या भएको र वार्षिक २० प्रतिशत मात्रै समाधान गर्दै जान सकिए अभियान उपलब्धिमूलक हुने सहभागीहरूले बताएका छन् ।निर्देशक श्रेष्ठका अनुसार काभ्रेमा उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था गरिसकिएको छ । “अवस्था हेरी तीनसरिका औषधि निःशुल्क वितरण हुने छ, औषधि वा खानपानमा ध्यान दिई रक्तचाप जीवनभर सन्तुलित राख्नुपर्छ”, उहाँले भन्नुभयो । जिल्लाको १३ स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका कार्यक्रम सञ्चालनका लागि स्थानीय तहले कार्यक्रम बनाउँदा ध्यान दिनुपर्नेमा जोड दिइयो ।

कार्यक्रममा काठमाडौँ विश्व विद्यालयका पूर्व उपकुलपति तथा धुलिखेल अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुले समुदायलाई स्वस्थ राख्नका लागि खुल्ला वातावरण, वातावरण, व्यायाम, खानपान, दैनिक यात्रा भयो भने उच्च रक्तचाप नियन्त्रणमा ल्याउन गाह्रो छैन । ज्ञानको नेपालमा कमी छ जस्तो मलाई लाग्दैन, हरेक व्यक्तिको हातमा मोबाइल, फेसबुक, टिकटक छ । ज्ञान र बुद्धि छैन भन्न मिल्दैन भएको ज्ञान र सीप सदुपयोग हुनु प्रमुख विषय हो । मानिसको मस्तिष्क स्वस्थ छ भने व्यवहार राम्रो हुन्छ र मानिस निरोगी हुन्छ ।

भूकम्प, कोभिडमा हामीले आम नागरिक र सरकारसँग सहकार्य गरेर आवश्यक परेको मान्छेलाई सहयोग गर्न पछिपरेजस्तो लागेन । गरे नसक्ने केही पनि छैन, सहकार्य गरौँ जस्तासुकै समस्याको समाधान समस्या छ । कोभिडमा काभ्रेका धेरै पालिकाले पूर्ण खोप लगाउन सफल भर्‍यौ । २० वर्षमा शिक्षा र स्वास्थ्यमा नेपालले जति उपलब्धि हासिल गरेका छौ विश्वको कुनै ठाउँमा सम्भव छैन । २५ वर्ष अघि यो ठाउँमा सम्भावना कसले देखेको थियो ।

आज दिनमै ८४ लाख रुपैयाँ आउने र जाने हुन्छ । ३० किलो मिटर साइकल यात्रा गर्ने बाटो, सानो खोला बच्चालाई डोराउँदै लैजाने, खेलाउने ठाउँ खोइ । हिजो नाकले लिने बास्नाले चिनिने बास्ना मानिसमा हराईसकेकोछ । त्रासमा मानिसको जीवन जिउनु परेकै कारण उच्च रक्तचाप वृद्धि भएको हो । हिजो म एक्लै दौडने ठाउँमा घरघरै छन् म आधा घण्टा दौडने ठाउँमा सबैलाई नमस्कार गर्दामै २ घण्टा बित्छ ।

स्वतन्त्र रूपमा हिँड्ने, श्वास फेर्ने ठाउँ खोइ भन्दै प्रश्न गर्नुभयो । काठमाडौँ विश्व विद्यालय स्कुल अफ साईन्सका डिन प्रा.डा.राजेन्द्र काजूले आज उच्च रक्तचाप दिवसका दिन खुल्ला परीक्षण गर्दा एक व्यक्तिमा निकै धेरै ब्लड प्रेसर बढेको पाइयो । प्रेसर बढेकाले उपचार गराउन चाहँदैनन्, नसर्ने रोग मानसिक रूपमा सर्ने रोगका रूपमा लिनुपर्ने अवस्था आएको छ । शारीरिक व्यायाम नभएपछि बच्चाको शरीरमा बोसो बढ्छ र २५ वर्षको हुँदा हर्टयाट्याकका समस्या बढ्दो छ । कोक, चीज बल जस्ता खानेकुरा बालबालिकाका लागि मन्द विष हो ।

उच्च रक्तचापकै कारण मृगौला, मुटुको समस्या बढ्दो छ । उपचारका लागि आय घट्दो छ । रोग नियन्त्रणका लागि सबैले ध्यान दिनै पर्छ भन्नुभयो ।विश्वमा प्रतिलाख ९ जनामा उच्च रक्तचापका बिरामी रहेका छन् भने कुल नेपालको जनसंख्यालाई नियाल्दा प्रतिलाख २१ जनामा उच्च रक्तचापको समस्या रहेको जानकारी गराइयो । नेपालमा सन् २०२५ सम्म १५ लाख नेपालीलाई उच्च रक्तचाप नियन्त्रणमा ल्याउने नेपालको लक्ष्य रहेको जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्