अन्ततः फरार रायमाझी पक्राउ

कुन थुनुवा कहाँ छन् ?



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले पुष्टि गर्नुभयो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार हुनुहुन्थ्यो । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका रायमाझी त्यहीँबाट फरार हुनुभएको थियो ।

सोही साँझ उहाँका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पक्राउ पर्नेको संख्या १३ पुगेको छ । यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना परिसकेका थिए । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज हाल फरार छन् ।

१३ पक्राउ, ३ फरार

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गरेको अभियोगमा प्रहरीले उच्च तहका नेता र कर्मचारीसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने ३ जना फरार सूचीमा छन् । आइतबार संविधानसभा सदस्यसमेत रहेका कांग्रेस नेता आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थाप (बादल) का छोरा प्रतीक थापालाई पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीको फरार सूचीमा रहेकाको संख्या ३ पुगेको हो ।

उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका साथसाथै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, खाँणका स्वकीय सचिव इन्द्र केसी, पूर्व गृहमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलगायत प्रहरी हिरासतमा छन् । हिरासतमा रहेका आरोपितहरूलाई जिल्ला अदालत काठमाडौंले आइतबार थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरूविरुद्ध अन्तिमपटक चार दिन म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंलाई अनुरोध गरिएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताउनुभयो । शनिबारदेखि लागू हुने गरी अन्तिमपटक चार दिनको म्याद थप गर्न प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘संगठित अपराधको मुद्दा ६० दिनभित्र अदालतमा पु¥याइसक्नुपर्छ, त्यहीअनुसार हामीलाई अध्ययनका लागि पनि समय चाहिने हुँदा चार दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन भनेका हौं ।’

उक्त ठगी प्रकरणमा संलग्नलाई रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरज राई र पूर्वसभासद एवं रामेछापका कांग्रेस नेता आङ्टावा शेर्पालाई खोजीको सूचीमा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताउनुभयो ।

कुन थुनुवा कहाँ छन् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितहरूलाई काठमाडौंस्थित प्रहरीका विभिन्न हिरासतमा छुट्टाछुट्टै राखेको बताइएको छ । प्रहरीका अनुसार बालकृष्ण खाँण र इन्द्रजित राईलाई जिल्ला प्रहरी परिसर टेकु, नरेन्द्र केसीलाई लैनचौर वृत्त र टेकनारायण पाण्डेलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।
यस्तै, सन्दीप रायमाझी, सागर राई, रामशरण केसी र गोविन्द चौधरीलाई प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । त्यस्तै, सन्देश शर्मालाई दरबारमार्ग वृत्तको हिरासतमा राखिएको छ भने केशव दुलाललाई कालिमाटी वृत्तको हिरासतमा राखिएको छ । सानु भण्डारी र कुमार गुरुङलाई जनसेवा वृत्तको हिरासतमा राखिएको छ ।

हिरासतमा
पूर्वगृहमन्त्री बालकृष्ण खाँण
पूर्वमन्त्री टोपबहादुर रायमाझी
बहालवाला सचिव टेकनारायण पाण्डे
पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई
एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी
खाँणका स्वकीय सचिव नरेन्द्र केसी
टोखाका रामशरण केसी
मोरङका गोविन्द चौधरी
ललितपुरका सानु भण्डारी
मोरङका केशवप्रसाद दुलाल
पाँचथरका टंककुमार गुरुङ
दाङका सन्देश शर्मा
मोरङका पूर्ववडाध्यक्ष सागर राई

फरार सूचीमा
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा
इन्द्रजित राईका छोरा निरज राई
संविधानसभा सदस्य आङटावा शेर्पा

प्रतिक्रिया दिनुहोस्