स्वामीकार्तिक खापरका बालबालिका र आमामा कुपोषण

एक वर्षमा मुक्तिकोटका आठ बालबालिकाले ज्यान गुमाए



बाजुरा । सुलभ स्वास्थ्य, शिक्षा तथा गासावास आवासको सनिश्चितताबारे नेपालको संविधानले व्यवस्था गरेको छ । विकास सूचकाङ्कमा ७७औं स्थानमा रहेको बाजुराली नागरिक भने अकाल रोग, भोक र शोकले ग्रसित छन् । विशेषगरी पोषणयुक्त खाद्यसुरक्षा व्यवस्थापन नहुँदा सत्केरी आमा र नवजात शिशुले अकालमा ज्यान गुमाउनु परेको कारुणिक व्यथा बाजुरेलीसामु छ । यस्तै, ज्वलन्त उदाहरण बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटका आठ बालबालिकाले ज्यान गुमाउनुपरेको छ । कुपोषण कहरका रूपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट गाउँमा २०७९ सालमा ८ जना बालबालिकाको मृत्यु भएको छ । सधैंका वर्षमा कुपोषणले यो गाउँमा बालबालिकाको मृत्यु हुने गरेको छ । गत वर्षमा पनि ८ जनाको मृत्यु भएको अनमी जानकी न्यौपानेले बताउनुभएको छ ।

स्थानीय जानकी विकको ३ वर्षको छोरा टीका विक, शान्ति विकको ४ वर्षको छोरा प्रकाश विकको मृत्यु भएको हो । त्यस्तै, मदन विककी १२ दिनकी छोरी, मुना विकको १३ दिनको छोरा र बाटुली विकको २१ दिनको छोराको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । त्यस्तै, जीवना विककी १ महिनाकी छोरी, रिना विकको ४ महिनाको छोरा र फुङ्गली विकको ५ महिनाकी छोरीको मृत्यु भएको छ । बच्चाहरूको मृत्यु भइसकेको छ, आमा भने कडा कुपोषणको शिकारमा रहेका छन् ।

आफूहरूलाई जानकारी भएसम्म ८ बालबालिकाको मृत्यु भएको छ, गाउँमा अन्य बालबालिकाको पनि मृत्यु भएको हुन सक्ने मुक्तिकोटमा रहेको आधारभूत स्वास्थ्य केन्द्रले बताएको छ । प्रत्येक वर्षमा दर्जनभन्दा बढी बालबालिकाको मृत्यु भए पनि राज्यको ध्यान भने जान सकेको छैन ।

२०७८ सालमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशितपछि गाउँपालिकाले कुपोषणका बारेमा अध्ययन गरेको थियो । मुक्तिकोट गाउँका ३ सय ८ परिवारमा निकै कुपोषण दर निकै रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो । स्वास्थ्यकर्मी टोली गाउँमा पुगेर चेकजाँच गर्दा ३ सय ४३ जना कुपोषित रहेको गाउँपालिकाले जनाएको थियो । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा रहेको पाइएको हो ।

२ सय ४३ जना प्रजनन् आमामध्ये २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको पालिकाका सूचना अधिकारी कुबेरबहादुर शाहीले बताउनुभएको छ । त्यस्तै, १० देखि १४ जर्षसम्मका किशोर र किशोरीलाई जाँच गर्दा १२ जना अति कुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले बताएका छन् । १५ वर्षदेखि १९ वर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाइएको हो ।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत कुपोषित बालबालिका रहेका छन् । मुक्तिकोटमा उच्च प्रजननदर, उच्च बाल मृत्युदर, परिवार नियोजनको साधनको प्रयोग न्यून रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ‘बाजुरामा ५ वर्षमुनिका १४ हजार ७ सय ९५ बालबालिकाको स्मार्ट सर्भे गर्दा पुड्कोपना ४.८ प्रतिशत र ख्याउटे ८.५ प्रतिशत रहेका छन् यो कुपोषणको प्रकार हो’ –जिल्ला स्वास्थ्य कार्यालय प्रमुख महेश चन्दले भन्नुुभयो ।

बाजुरामा रैथाने बाली कृषियोग्य जमिनको कमी, कम उमेरमा बिहेवारी, किशोरी अवस्थामै गर्भिणी र गर्भिणी अवस्थामा पोषणयुक्त खाना नपाउनुले आमा र बच्चामा कुपोषण हुने गरेको जिल्ला स्वास्थ्य प्रमुख चन्दले बताउनुभयो । ‘कुपोषित दर घटाउन जिल्ला अस्पतालले पोषण पुनःस्थापना केन्द्र स्थापना गरी कार्यान्वयनमा छ’ –कार्यालय प्रमुख चन्दले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्