बौद्ध संस्कृतिको जगमा नेपाल–पाकिस्तान सम्बन्ध



काठमाडौँ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले अन्य धेरै मुलुकहरूसँग जस्तै नेपालको पाकिस्तानसँगको सम्बन्ध पनि साँस्कृतिक रुपमा गाँसिएको बताउनुभयो ।
शनिबार स्वयम्भूनाथ परिसरभित्र रहेको वसुबन्धु चैत्य परिसरमा आयोजित कार्यक्रममा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले लेख्नुभएको पुस्तक ‘नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’को विमोचन गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल र पाकिस्तानबीचको सम्बन्ध कूटनीतिक रुपमा भन्दा पनि बौद्ध संस्कृतिको जगमा अघि बढेको बताउनुभयो । १६ सय वर्षअघि नै बौद्ध शिक्षाको प्रचारका लागि नेपाल आएका पाकिस्तानका पण्डित वसुबन्धुको चैत्यअगाडि पण्डित वसुबन्धुको परिचय दिने बोर्ड राखिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

कार्यक्रममा उहाँले रूस–युक्रेन युद्धले विश्व युद्धतिर उन्मुख हुँदै गएको प्रष्ट भएको भन्दै शान्तिपूर्ण सहअस्तित्व कायम गरेर अघि बढ्नुपर्ने बुद्धको सन्देश मनन् गर्न सकेमा मात्र विश्व शान्ति कायम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा पुस्तकका लेखक हिरण्यलाल श्रेष्ठले वर्तमान विश्व युद्धउन्मुख भइरहेको र नेपाल आणविक शक्ति सम्पन्न तीन ठूला देश भारत, चीन र पाकिस्तानको बीचमा रहेकोले निर्दोष भएता पनि कुनै पनि समयमा भयावह संकटको सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउनुभयो । उहाँले नेपाल शान्तिको दूत गौतम बुद्ध जन्मेको देश भएको हैसियतले ती तीनै देशलाई आणविक शक्ति त्याग्न अनुरोध गर्दै दक्षिण एसियाका साथै एसियालाई नै आणविक शक्तिमुक्त बनाउन पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा उहाँले स्वयं उत्पन्न भएकोले स्वयम्भू नाम राखिएको मानिदैं आएको स्वयम्भूलाई विदेशमा ‘मंकी टेम्पल’ को रुपमा व्याख्या गरिन थालेकोप्रति असन्तुष्टि व्यक्त गर्दै पर्यटन व्यवसायीहरूलाई स्वयम्भूलाई संसारकै पहिलो चैत्य भएको पहिलो बौद्ध सम्पदाको रुपमा चिनाउन आग्रह गर्नुभयो ।

 

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले  कूटनीतिज्ञ श्रेष्ठको पुस्तकले नेपाल र पाकिस्तानबीचको सम्बन्धमा बौद्ध संस्कृतिको योगदान र महत्त्वलाई बुझ्न मद्दत मिल्ने बताउनुभयो । लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा त्रिरत्न मानन्धर र प्रा. गोपाल पोखरेल ‘विश्वास’ ले नेपालमा बौद्ध शिक्षा प्रचारमा योगदान दिएका पाकिस्तानी विद्वान पण्डित वसुबन्धु र गुरु पद्मसम्भवको बारेमा जानकारी समेटिएको उक्त पुस्तकले नेपाल र पाकिस्तानबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्