हेल्थ टिप्स- स्वस्थताका लागि शारीरिक सक्रियताका तरिकाहरु



क) घरायसी काम गर्ने : आलस्य नमानीकन घरायसी कामहरु गर्नु निकै नै राम्रो शारीरिक सक्रियता हो । घरका कामहरु जस्तै– ओछ्यान तथा कोठा मिलाउनु, कुचो लगाउनु, माकुराको जालो हटाउनु, भुइँ तथा टेबल–कुर्सीहरु पुछ्नु, भाँडा सफा गर्नु, भान्साका विभिन्न कामहरु गर्नु, लुगा धुनु, हल्का श्रमदायक कामहरु गर्नु आदि शारीरिक सक्रियताका उदाहरणहरु हुन् । यस्ता काम गर्दा कर वा बाध्यताले भन्दा पनि रहर र आनन्द मानेर सकारात्मक भावका साथ गर्नुपर्दछ ।

ख) शारीरिक अभ्यास गर्ने : विभिन्न खालका व्यायामहरू अभ्यास गर्दा शारीरिक सक्रियता भएको मानिन्छ । यसका लागि उमेर, शारीरिक स्वरुप, रोगको अवस्था आदिलाई ध्यान दिएर आफ्नो क्षमता अनुसारका व्यायामहरु नियमित गर्न सकिन्छ । घरभित्रै वा बाहिर गएर पनि जगिङ (हलुका दौड), खेलकुद, योगासन तथा यौगिक सूक्ष्म÷स्थुल व्यायाम, नृत्य, एरोबिक, जिम, जुम्बा, पौडी, साइकल चलाउने, ब्याडमिन्टन, टेबुलटेनिस, फुटबल, भलिबल, फुट्सल आदि अनेक प्रकारका खेलहरुलाई शारीरिक अभ्यासको रुपमा प्रयोग गर्न सकिन्छ । यस्ता शारीरिक अभ्यासहरु सम्बन्धित विज्ञको सल्लाहमा गर्नु बढी फाइदाजनक हुन्छ । दैनिक हिँडडुल गर्ने वा दौडने गर्नु पनि शारीरिक सक्रियताको सरल उपाय हो । यसरी नै सामाजिक रूपमा सहभागिता जनाई विभिन्न कार्यमा सहभागी हुनु पनि शारीरिक तथा मानसिक सक्रियता हुन जान्छ ।

ग) गार्डेनिङ÷बगैँचाका कामहरु गर्नु : शरीरलाई चलायमान राख्न र मनलाई पनि खुशी राख्न बगैँचामा काम गर्नु एउटा राम्रो उपाय हो । घरवरिपरिको सानो ठाउँमा पनि फूल रोप्ने, गोडमेल गर्ने, काँटछाँट गर्ने, पानी हाल्ने, मल छर्नेजस्ता कामहरुबाट शरीर तथा मनलाई व्यायाम प्रदान गर्न र शान्त राख्ने कार्य गर्न सकिन्छ । यसरी नै गमलामा रंग लगाउने, माटो खन्ने÷भर्ने÷निकाल्ने, फूल रोप्ने, काँटछाँट गर्ने आदि कामहरु गर्न सकिन्छ ।

घ) कृषि कार्य गर्ने : यदि स्थान छ भने कोदालोले बारी खन्ने, जोत्ने, बीउ छर्ने, तरकारी र फलफूलको बिरुवा रोप्ने, गोडमेल गर्ने, हुर्काउनेजस्ता कामहरु गर्न सकिन्छ । यदि ठाउँ ठूलो छैन भने कौसी खेतीबाट शारीरिक सक्रियता बढाउन सकिन्छ । समयको व्यवस्थापन गरी कमसेकम बिहान–बेलुका कौसी खेतीमा आधा÷एक घन्टा बिताउन सकेमा पनि थोरै भए पनि शारीरिक अभ्यास पुग्छ । यस्तो शारीरिक सक्रियता पनि रमाइलो हुन्छ ।

ङ) बच्चाहरुको शारीरिक सक्रियता : कम उमेरका बच्चाहरु शारीरिक रुपमा झन् सक्रिय हुनुपर्दछ । शारीरिक सक्रियताले बच्चा किशोर वा नवयुवाहरुमा शारीरिक विकास हुने, उचाइ बढ्ने, बच्चामै बढी मोटोपन हुनबाट बच्ने, सिर्जनशीलता बढ्ने हुन्छ । यसको साथै रोगको जोखिम घट्नेजस्ता अनेकौं लाभ प्राप्त हुने हुँदा अभिभावक तथा शिक्षकहरुले यससम्बन्धमा उनीहरुलाई सम्झाउने÷बुझाउने गर्नुपर्दछ । हिजोआजका बच्चाहरु अथवा युवाहरु मोबाइलमा गेम खेल्ने, बढी समय त्यसैमा खर्चिनेजस्ता काम गर्दछन्, जुन उनीहरूको समग्र विकासलाई अवरुद्ध गर्ने खालको छ । त्यसैले यस्ता बच्चा÷युवाहरुले शारीरिक अभ्यास, खेलकुद र कामहरूमा आवश्यकता अनुसार सहभागी हुन अनिवार्य छ । यदि यसो गर्न सकिएन भने उनीहरु कम उमेरमै अनेक शारीरिक, मानसिक रोगहरुबाट पीडित हुने हुन्छन् ।

च) अफिसमा शारीरिक सक्रियता : लामो समयसम्म बसिरहनुपर्ने, बसेर लेख्ने तथा कम्प्युटर वा ल्यापटपमा काम गर्नेहरुले शारीरिक सक्रियता बढाई बेलाबेलामा कुर्सीबाट उठ्ने, शारीरिक हलचल उत्पन्न हुने गरी साधारण व्यायाम गर्नुपर्छ । जस्तो– उठेर गर्न सकिने टाउको, गर्दन, छाती, कम्मर, हात र गोडाका व्यायाम वा योगासन वा अन्य क्रियाहरु गर्ने गर्नुपर्छ ।

दिनमा पटक–पटक उठ्ने, यताउति चल्ने, पानी पिउने, हातमुख धुने, सेवाग्राहीसँग सोधपुछ गर्ने, साथीहरुलाई पनि काममा सहयोग गर्नेजस्ता क्रियाकलापहरु पनि गर्नु जरुरी छ । यसरी नै कुर्सीमै बसी–बसी गर्ने खालका व्यायाम, आसन, प्राणायाम, मुद्राजस्ता विधिहरुको अभ्यास गर्नाले पनि शरीरमा सक्रियता उत्पन्न हुन्छ । यसबाट मानसिक लाभ पनि प्राप्त गर्न सकिन्छ ।

(डा. क्षितिज बराकोटी, साधना हेल्थ, फागुन २०७९ बाट साभार)

प्रतिक्रिया दिनुहोस्