११औँ वार्षिकोत्सवको संघारमा राष्ट्रिय प्रत्यारोपण केन्द्र 

एक हजार ४६ जनाको मिर्गौला र १० जनाको कलेजो प्रत्यारोपण



भक्तपुर । 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ११ औँ वार्षिकोत्सव मनाउने तयारी गर्दै गर्दा स्थापनाकालदेखि हालसम्म एक हजार ४६ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ ।स्थापनाको एक दशकमा अंगदान र प्रत्यारोपण क्षेत्रमा  महत्त्वपूर्ण उपलब्धि हात पारेको केन्द्रले जनाएको छ ।

यो अवधिमा  एक हजार ४६ जनाको मिर्गौला र १० जनाको कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।केन्द्रमा भएका ९९ प्रतिशत प्रत्यारोपण सफल भएका छन् । यो अवधिमा केन्द्रले अंगदान तथा प्रत्यारोपणसम्बन्धी कानुन निर्माण एवं परिमार्जनमा ठूलो उपलब्धि हासिल गर्नुका साथै धेरै प्रत्यारोपण गर्नेमध्ये संसारकै उत्कृष्टमध्येको एक संस्थाको रुपमा रहन सफल भएको जनाएको छ ।

केन्द्रले स्थापनाको १० औँ वर्ष पूरा गरेको उपलक्ष्यमा यही वैशाख ११ गते वार्षिकोत्सव मनाउन लागेको हो । उक्त अवसरमा केन्द्रले मानव अंग प्रत्यारोपण, मृत्युपछिको अंगदान तथा मस्तिष्क मृत्युबाट हुने अंगदानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको केन्द्रले यो अवधिमा केन्द्रले पहिलोपटक मस्तिष्क मृत्युबाट हुने मिर्गौला एवं कलेजो प्रत्यारोपण तथा अंगदानसम्बन्धी व्यापक प्रचारप्रसार, देशभरी डायलासिस विस्तार र प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य गर्न सफल भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

केन्द्रले हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु गरिसकेको निर्देशक डा.श्रेष्ठले बताउनुभयो ।

यो सेवालाई क्रमशः कैलालीको सेती अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौडा अस्पताल र विराटनगरको कोशी प्रादेशिक अस्पतालमा विस्तारको तयारी गरिरहेको छ ।

केन्द्रले करिब २०० जना स्टाफ नर्स तथा प्रविधिकलाई तालिम दिइ डायलाइसिस सेवा देशभर विस्तार गरिरहेको छ । सरकारी अस्पताल तथा निजी अस्पतालमा भएका मिर्गौला प्रत्यारोपण कार्य यही केन्द्रबाट तालिम प्राप्त जनशक्तिबाट भएको केन्द्रको दाबी छ ।

स्थापना कालदेखि केन्द्रमा निर्देशककै रुपमा सक्रिय रहेर बिचमा केही समय अन्तै सरुवा भएर गई करिब डेढ वर्ष अगाडी पुनर्नियुक्ति पाएका डा. पुकारको पछिल्लो कार्यकालमा केन्द्रले सेवा विस्तारमा उच्च प्रगति हासिल गरेको छ । यो अवधिमा मात्रै २८६ जनाको मिर्गौला तथा ४ जनाको कलेजो प्रत्यारोपण भएको छ । उपत्यका बाहिर समेत प्रत्यारोपण तथा डाइलासिस सेवा विस्तारको काम पछिल्लो डेढ वर्षकै बीचमा भएका हुन् ।

यद्यपि अहिलेको सेवा समेत पर्याप्त नभएको डा. श्रेष्ठ बताउनुहुन्छ । केन्द्रमा मुलुकभरिबाट मात्र नभएर विदेशबाट समेत प्रत्यारोपणका लागि आउने तथा केन्द्रमा जनशक्ति र स्थान पर्याप्त नभएका कारणले बिरामीको चापअनुसार सेवा दिन नसकिएको उहाँको भनाइ छ ।

अहिले सरकारले केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा गरेको छ । यसलाई पूरा गर्ने, केन्द्रलाई प्रत्यारोपणसम्बन्धी उच्चस्तरीय दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउने तथा प्रत्यारोपण सेवा सबै प्रदेशमा विस्तार गर्ने योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्न लागिरहेको कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ ।

यो अवधिमा केन्द्रले अन्तर्राष्ट्रिय स्तरको सम्मेलनदेखि गोष्ठी, स्वास्थ्य शिविर तथा अंगदान शिविर सम्बन्धी २५ वटा कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै यो अवधिमा केन्द्रले प्रत्यारोपणको सन्दर्भमा १० वटा शोधपत्र तयार गरी प्रकाशन गरेको र थप १० वटा शोधपत्र प्रकाशनको तयारीमा रहेको जनाइएको छ ।
यो अवधिमा केन्द्रमा हाल ७२ वटा डाइलासिस मेसिन सञ्चालनमा रहेका छन् । डा. पुकारको दास्रो कार्यकाल सुरु हुँदा केन्द्रमा ३५ वटा मात्रै मेसिनमा सञ्चालित थियो । अब थप ३० वटा मेसिन सञ्चालनमा ल्याउने तयारी भइरहेको डा. श्रेष्ठको भनाइ छ ।

यो अवधिको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि चाहिँ वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालदेखि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलका सम्पूर्ण सदस्यले मस्तिष्क मृत्युपश्चात् अंगदान गर्ने घोषणा गर्नु महत्त्वपूर्ण रहेको डा. श्रेष्ठ बताउनुहुन्छ । यो कदमले अंगदानको क्षेत्रमा निकै ठूलो सकारात्मक सन्देश दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्