राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा थुप्रियो १२ टन फोहोर

गृह मन्त्रालय मूकदर्शक



काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा करिब १२ टन फोहोर थुप्रिएको छ ।

देशको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा फोहोर थुप्रिँदा गृह मन्त्रालय भने रमिते भएको बसेको छ । जबकि, गृह मन्त्रालय आफैंले जारी गरेको आवश्यक सेवामा निषेध गर्न नपाइने २५ बुँदे सूचीकोे १४आँै बुँदामा फोहोरमैला, संकलन र ढुवानीमा अवरोध गर्न नपाइने उल्लेख छ । सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयले आफ्नै परिसर नजिकैको पुतली बगैंचामा फोहोर थुप्रिँदा पनि कुनै प्रतिक्रिया जनाउन सकेको छैन ।

तीन दिनअघि चितवनमा पत्रकारसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ताबाटै समस्या समाधान गर्ने बताउनुभएको थियो । तर, अहिलेसम्म यस विषयमा गृह र कामपाबीच औपचारिक वार्ता हुन सकेको छैन । कमपाका प्रवक्ता नवीन मानन्धरले हालसम्म सरकार र कमपाबीच कुनै वार्ता नभएको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आज चार दिन भयो, सरकारले वार्ता गर्ने विषयमा कुनै खबर गरेको छैन । तर, मेयर बालेन्द्र साह र गृहमन्त्री श्रेष्ठबीच सोमबार अनौपचारिक छलफल भएको थियो । छलफलको क्रममा मेयर साहले आफूले सार्वजनिक गरेको १४ बुँदे सम्बोधन नभएसम्म शीतल निवास वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पार्नुभएको थियो ।’

फोहोर संकलन हुन नसक्दा सिंहदरबार परिसरमा ६, शीतल निवासमा ४ र प्रधानमन्त्री निवास वालुवाटारमा २ टन गरी १२ टन फोहोर थुप्रिएको छ । फोहोरको कारण सिंहबारमा दुर्गन्ध फैलन शुरू भएको छ ।

शहरी विकास मन्त्री सीता गुरुङले फोहोर रोकेर आन्दोलन गर्नु गलत भएको बताउनुभएको छ । कामपाले फोहोर संकलन र ढुवानी गरे कारबाही गर्ने चेतावनी दिएपछि फोहोर संकलन गर्ने नीजि संस्थाहरूले ‘भीआईपी’ सडक र भीआइपी तीन निकायको फोहोर संकलन गरेका छैनन् ।

आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरवाही भएकाले उक्त निर्णय लिनुपरेको मेयर बालेनको भनाइ छ । उहाँले सामाजिक सञ्जालमा संघीय सरकारका रूपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस नभएको र पटकपटकको कोसिसपछि ९ महिनामा पटक–पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल परेको अवस्था आएपछि बाध्य भएर आफूले फोहोर संकलन रोक्नुपरेको जानकारी दिनुभएको थियो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले तीन निकायको फोहोर संकलन गर्ने विषयमा कुनै निर्णय नभएको जिकिर गर्दै भन्नुभयो– ‘फोहोर संकलन शुरू भए सबैलाई जानकारी दिनेछौं ।’ सुकुम्बासी बस्ती खाली गर्न आफूहरूलाई सरकारले असहयोग गरेको आरोप लगाउँदै मेयर साहले शनिबारदेखि भीभीआईपी निवास र कार्यालयको फोहोर संकलन र ढुवानी रोक्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्