कोभिड र मौसमी फ्लुबाट जोगिने उपाय एउटै: डा. पुन



काठमाडौँ। 

नेपालमा पछिल्लो १ महिनादेखि कोरोना भाइरसको नयाँ भेरियन्ट र मौसमी रुघा, खोकी, ज्वरोका बिरामीको चाप बढेको छ । हरेक अस्पतालमा बिरामीको चाप बढिरहेको अवस्थामा खोप लगाएर सुरक्षित हुन स्वास्थ्य विज्ञहरुको सल्लाह छ ।

यति बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीमै निहित हुँदा कर्मचारीले नयाँ निर्णय लिने तथा योजना बनाउने काम सहज नहुने देखिन्छ । यस्तो अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल भन्नुहुन्छ, प्रधानमन्त्रीले आवश्यकता अनुसार सल्लाह दिइरहनु भएको छ । मन्त्रालयमा मन्त्रीसँग लामो समय बसेर गर्ने छलफल भने हुन पाएको छैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार कोभिड १९ को नयाँ भेरिएन्ट भारतमा जस्तो देखियो नेपालमा पनि त्यस्तै देखिएको छ । भारतमा देखिएको नयाँ भेरियन्ट जस्तै कोरोनाको भाइरस नेपालमा पनि ४२ प्रतिशत संक्रमितमा प्रमाणित भएको छ । यति बेला मौसमी फ्लु र कोभिड सँगसँगै छ । दुवैको लक्षण र सुरक्षा नीति एउटै भएकाले सङ्क्रमण देखिएका हरेक व्यक्तिले सकेसम्म माक्स लगाउने, साबुन पानीले हात धुने जस्ता विधि अपनाउनुपर्छ ।

उहाँ भन्नुहुन्छ- अहिले देखिएको भाइरसबाट बढी अस्पताल नै भर्ना हुनुपर्ने अवस्था ज्येष्ठ नागरिक र दीर्घ रोगीमा देखिएकाले विश्व स्वास्थ्य संगठनले मापदण्ड निर्धारण गरी ज्येष्ठ नागरिक, दीर्घ रोगीलाई बुस्टर जोड खोप लगाएको ६ महिना नाघेको अवस्थामा पुनः बुस्टर डोज लगाउन सुझाव दिएको छ । नेपालमा यस्ता व्यक्तिहरुका लागि आवश्यकता अनुसार प्रयोग गर्न पुग्ने खोप पनि सुरक्षित छ ।

पछिल्लो समय देखिएको कोरोना भाइरसको लक्षणमा जिउ दुख्ने, आँखा दुख्ने, स्वाद, गन्ध हराउने, खोकी लाग्ने र कतिपयलाई ज्वरो समेत आउने गरेको टेकु अस्पतालमा भर्ना भएका बिरामीहरूको लक्षणबाट पुष्टि भएको डा. पुन बताउनुहुन्छ । यस्तो अवस्थामा आफू कार्यरत कार्यालय, भिडभाडमा गएन भने चेन ब्रेक हुन्छ र अरुलाई सर्दैन । अहिलेको कोरोना भाइरस छिटो सर्ने खालको भएकाले क्षति भन्दा संख्या बढी देखिएको पनि उहाँले बताउनुभयो ।

यी दुवै रोगबाट बच्नका लागि कोभिडको निःशुल्क खोप पाइन्छ भने मौसमी रुघाखोकीको खरिद गरेर खोप लगाउनुपर्छ । दुवै रोगको खोप बजारमा पाइने भएकाले रोग लागिहाले सुरक्षा अपनाउन र रोगनै लाग्न नदिन अर्थात् लागिहाले जटिल हुनबाट जोगिन खोप लगाउन विश्व स्वास्थ्य संगठनको स्वास्थ्य नीति अनुरुप कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकमा आव्हान गरिसकेको डा. पुन बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्