अस्तित्वको खोजी गर्दै कर्माचार्य समाजको प्रथम राष्ट्रिय सम्मेलन



पनौती। 

नेपालको इतिहासमा तन्त्र र तान्त्रिक संस्कृतिको अगुवाको रुपमा रहेको कर्माचार्य (आचाजु)हरूको अस्तित्वको खोजी गर्दै शनिबार बागमती प्रदेशको पनौती नगरपालिकामा कर्माचार्य समाजले प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।  केन्द्रीय संरक्षक रामकृष्ण कर्माचार्यको अध्यक्षतामा आयोजित उक्त सम्मेलनमा देशभरिका कर्माचार्यहरूको सहभागिता रहेको छ । सम्मेलनमा कर्माचार्यका अगुवाहरूले अत्यन्त समृद्ध जातिको रुपमा रहेको कर्माचार्यहरू अहिले लोपोन्मुख अवस्थामा पुगेकोले पुन: आचाजुहरूलाई ऊर्जाशील बनाउन आवश्यक रहेको बताए ।

दुई दिने उक्त सम्मेलनको उद्घाटन समारोहमा कर्माचार्य समाजका केन्द्रीय वरिष्ठ सल्लाहकार तथा भक्तपुर तलेजु भवानीका मूलपूजारी प्राडा सिद्धिवीर कर्माचार्यले १०–१२ वर्षअघि तान्त्रिक विद्यामा दीक्षित आचाजुको अभावमा पनौती जात्रा नै रोकिने अवस्था आएको स्मरण गर्दै भन्नुभयो– त्यति बेला हामीले नै पनौतीमा आएर तान्त्रिक विद्याद्वारा पूजा सम्पन्न गरी जात्रा चलाएका थियौं । अहिले पनि तान्त्रिक विद्याबाट दीक्षित भएका आचाजुहरूको कमी छ । मैले विगत ६३ वर्षदेखि आचाजु दीक्षा दिने काम गरिरहेको छु र अहिले पनि कर्माचार्यहरूलाई दीक्षित हुन उक्साउँदै आएको छु । कर्माचार्यको कुलमा जन्मँदैमा विभिन्न मन्दिर र देवी देवताहरूमा तान्त्रिक विधिद्वारा पूजा गर्ने अधिकार प्राप्त नहुने जिकिर गर्दै उहाँले यसका लागि आगम घरमा निश्चित समयमा तोकिएको ९ दिनसम्म गुरु स्थापना गरी उपासना गरी दीक्षित हुन अनिवार्य रहेको जानकारी दिनुभयो ।

 कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले लिच्छवी कालदेखि नै अति समृद्ध जातिको रुपमा रहेको कर्माचार्यहरू विविध कारणले नेपालको विभिन्न ठाउँमा छरिन पुगेको जिकिर गर्दै कर्माचार्यहरूले आफ्नो पुर्ख्यौली, जातीय महत्त्व, ऐतिहासिक, सांस्कृतिक र सामाजिक पाटोको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सचिव मिलन कर्माचार्यले संचालन गरेको उक्त कार्यक्रममा पनौती नगरपालिकाका ८० वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरूलाई खादा र सम्मानपत्रले सम्मान गरिएको थियो । पनौती अजम्बर कर्माचार्य परिवारको तर्फबाट गरिएको उक्त सम्मानको क्रममा ज्येष्ठ नागरिकहरूलाई ९० वर्षीय जगतमाया कर्माचार्यले स्टीलको फोल्डिङ लौरो, मच्छे नारायण कर्माचायले हट वाटर ब्याग र न्हुच्छेमाया कर्माचार्यको तर्फबाट हर्लिक्स प्रदान गरिएको थियो ।

कार्यक्रममा वासुदेव कर्माचार्यको “बुंग द्य: (रातो मत्स्येन्द्रनाथ), संक्षिप्त परिचय नामक पुस्तक र गोजी पात्रोको लोकार्पण गरिएको थियो । पुस्तक नेपालमा रातो मत्स्येन्द्रनाथको प्रवेश गराउन किन आवश्यक थियो भन्ने विषयमा केन्द्रित रहेको लेखक वासुदेवले बताउनुभयो । भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौं पशुपति क्षेत्रका बन्धुदत्त आचाजु र ललितपुरका ललित ज्यापुले रातो मत्स्येन्द्रनाथलाई नेपालमा ल्याएको भन्ने किंवदन्ती छ । पुस्तकमा रातो मत्स्येन्द्रनाथको नेपाल प्रवेश, रथ तान्ने विषयमा विवाद, राजा र आचाजु (कर्माचार्य) गुरुका विषय, ढुंगाको सिंहासनमा हेरिने साइत, भोटो जात्रालगायतका विषयहरू समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्