दुर्गम पालिकामा नागरिकका गुनासै गुनासा

 जिल्ला स्तरीय टोलीले गर्‍यो अनुगमन



काभ्रे।

जिल्लाको विकट महाभारत गाउँपालिका र खानिखोला गाउँपालिकामा अनुगमनमा गएको जिल्ला स्थित टोलीले नागरिकलाई सहज सेवा दिन गुनासाहरुको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नागरिकहरुले गुनासा नै गुनासा सुनाएपछि जिल्लास्तरीय टोलीले सूची र तालिका तयार गरी नागरिकका गुनासा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गाउँपालिका अध्यक्षद्धय कान्छालाल जिम्बा र इन्द्रबहादुर थिङ्गसहित पालिकाका नागरिकहरुले राखेको गुनासालाई जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भागेन्द्रपुरुष ढकाल लगायतले समन्वय र सहकार्यको अभावले नागरिकहरुले प्राप्त गर्ने सेवामा भएको असुविधालाई सहजीकरण गर्ने बताउनु भएको छ ।

महाभारत गाउँपालिकामा निर्माणाधीन आयोजनाहरुको अनुगमन गर्दै टोलीले निर्माण व्यवसायी तथा जुन निकायबाट ढिला भएको हो सोही निकाय मार्फत छिटो कार्य सम्पन्न गराउने गरी पहल गर्ने बताउनु भएको छ ।

महाभारत गाउँपालिकामा चालु अवस्थामा रहेको तर थपिएको म्याद पनि सकिने अवस्थाको तिनखुट्टे देविटार सडक, पुल, घर्तिछापमा रहेको विद्यालयको पुर्नर्निमाण, गाउँपालिका कार्यालयको भवन निर्माण तथा अन्य योजनाहरु, इलाका प्रशासन कार्यालयको अनुगमन गरेको थियो । इलाका प्रहरी कार्यालय देविटार, गोकुलेको निरीक्षण गरी आवश्यक जनशक्ति व्यवस्थापन तथा नागरिकहरुका सेवालाई सहज बनाउन आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नागरिकहरुलाई सहज सेवा दिन जिल्ला प्रशासन तथा प्रहरी कार्यालयका अलावा समन्वय समितिले खेल्नु भूमिकालाई प्रभावकारी बनाउन अनुरोध गर्नु भएको थियो । राष्ट्रिय परिचयपत्र र राहदानी लगायतका सेवा पनि स्थानीय तहमा रहेको इलाका प्रशासन कार्यालयबाट नै उपलब्ध गराउन नागरिकहरुले अनुरोध गरेका थिए । कर्मचारीका समस्या र दुर्गम हुँदा पनि दुर्गम भत्ता नपाउँदा कर्मचारीहरु आउन नमानेकाले सेवा प्रवाहमा परेको असहज परिस्थितिका बारेमा नागरिकहरुले गुनासो गरेका थिए । टोलीले एसईई परीक्षाका साथै स्थानीय स्तरमा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुका समस्या र समाधानका लागि खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी लिएको थियो ।

खानीखोला गाउँपालिकामा २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मकवानपुरबाट ठेक्का भएको बागमती खोलाको सिक्रे दोभान पुल निर्माण हुन नसकेका विषयमा टोलीले जानकारी लिएको थियो । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्गले सिक्रे दोभान पुल बन्न नसक्दा खानिखोला गाउँपालिकाका नागरिकहरु वर्षातको समयमा ‘लक’ भएर बस्नु परेको बताउनुभयो । त्यस्तो अवस्थामा मर्नुको विकल्प नभएकाले तत्काल उक्त पुल निर्माणका लागि वातावरण बनाउन र समन्वयका लागि अनुरोध गर्नु भएको थियो ।

मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाको संगम रहेको उक्त क्षेत्रमा पुल निर्माण हुँदा खानिखोलाका नागरिक दुई घण्टामा मकवानपुर पुग्न सक्छन् । काभ्रेको सदरमुकाम धुलिखेल आउन निर्माण भएका सडक वर्षातको समयमा रोकिने र दुरीको हिसाबले पनि टाढा भएकाले तत्काल उक्त पुल निर्माणका लागि सहजीकरण गर्न उहाँले अनुरोध गर्नु भयो ।

महाभारतमा जस्तै खानिखोला गाउँपालिकामा पनि कर्मचारीहरुको अभावका कारण सेवा प्रभावमा समस्या परेको छ । जनशक्ति अभाव, राष्ट्रपति महिला उत्थान कार्यक्रम नहुँदा सुत्केरी महिलाहरुको अकालमा ज्यान जाने अवस्थाको अन्त्य गर्न, निर्माणाधीन अस्पतालको अधुरो कार्य पुरा गर्न, पुर्वाधारका अन्य कार्यहरुको असहजतालाई सहज बनाउन, नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन खर्च र अन्य समस्यालाई सहजीकरण गर्न तथा स्थानीय तहबाटै नागरिकहरुलाई सेवा उपलब्ध गराउन जिल्लाको टोलीसँग गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्गले अनुरोध गर्नु भएको थियो ।

नागरिकता बनाउन आउँदा एक जना व्यक्तिको सामान्य खर्च ७ हजार हुने गरेको छ । दुई जना आउँदा १४ हजार रुपैयाँ लाग्छ । कथंकथाचित नागरिकता बन्न सकेन भने अर्काे पटक जाँदा त्यति नै खर्च हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकता अनुसूची भर्ने समयमा समन्वय र एकिन गरेर किटानी पछि मात्रै सिफारिस गर्न वडा अध्यक्षहरुलाई अनुरोध गर्नु भयो । वडा अध्यक्ष तथा स्थानीयहरुले नागरिकलाई शिक्षाको गुणस्तर, स्वास्थ्यको उपलब्धता, रोजगार तथा आर्थिक समृद्धिका लागि ध्यान दिन अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्