मेथिन्कोट अस्पतालको न्यूनतम सेवा मापदण्ड परीक्षण



काभ्रे। 

प्रादेशिक अस्पताल मेथिन्कोटको न्यूनतम सेवा मापदण्डका बारेमा सार्वजनिक परीक्षण गरिएको छ । परीक्षण गरिएका सुचकांकका आधारमा स्वास्थ्य चौकीको पूर्वाधारमा संचालन भएको अस्पतालले ६५ प्रतिशत प्राप्त गरेको छ ।

‘स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै अस्पतालका रुपमा सेवा विस्तार गरेको धेरै समय भएको छैन’–अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुरुषोत्तम सेढाईले भन्नुभयो–‘गुणस्तर तथा अस्पतालले प्रदान गर्ने सेवाको सुधारमा अधिकतम प्रयास गरिएको छ ।’

अघिल्लो पटकको परीक्षणमा ६१ प्रतिशत प्राप्त गरेको अस्पतालले यो पटकको परीक्षणमा ६५ प्रतिशत प्राप्त गरेको बागमती प्रदेश निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक नरेन्द्रकुमार झाले बताउनु भयो । ‘बागमती प्रदेश भित्र रहेका १३ वटा जिल्ला, ३ वटा नगर र ३ वटा संघ अन्तर्गतका अस्पतालमा स्वास्थ्य क्षेत्र व्यवस्थापन, क्लिनिकल व्यवस्थापन र अस्पताल सहयोगी सेवाका बारेमा एक सय प्रतिशतका आधारमा ६ सय ४७ सुचकमा ७ सय ६१ स्कोरलाई आधार मानेर न्यूनतम सेवा मापदण्डको परीक्षण गरिएको हो’–वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘अस्पतालको आफ्नै भवन नहुँदा पनि स्वास्थ्य चौकीको भवनबाट शुरु भएको अस्पतालले उपलब्ध गराएको सेवा सन्तोषजनक छन् । सामान्य क्षेत्र सुधार गर्दा पनि ६५ प्रतिशतलाई वृद्धि गर्न सकिन्छ ।’

मेथिन्कोट अस्पताललाई नगरवासी तथा उक्त क्षेत्रका नागरिकहरुको अत्यावश्यक सेवा क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाले आवश्यक सहयोग र समन्वय गरिरहेको नगर प्रमुख कुन्साङ लामाले बताउनु भयो । ‘भएका सेवालाई गुणस्तर बनाउने र नभएका सेवाहरुलाई थप गर्दै लैजान प्रदेश सरकारसँग स्थानीय सरकार समन्वय गर्न तयार छ’–नगर प्रमुख लामाले भन्नुभयो–‘पोस्टमार्टम लगायतका अन्य सेवा विस्तारका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापन समयमै सम्पन्न गर्न आवश्यक प्रक्रियालाई छिटो बनाउनु जरुरी छ ।’

प्रदेश मन्त्रालयका निर्देशनालय प्रमुख निर्देशक महेश्वर श्रेष्ठले बामे सर्दै गरेको अस्पतालले उपलब्ध गराएको सेवा र सुविधा सन्तोषजनक रहेको बताउँदै प्रारम्भ गरिएका सेवालाई आवश्यक व्यवस्थापनमा जोड दिनु पर्ने बताउनु भयो । अस्पतालले मुख्यमन्त्रीसँग जनता स्वास्थ्य कार्यक्रम, नियमित रुपमा मानसिक स्वास्थ्य सेवा, सर्जन, ओपिडी, इमरजेन्सी, दाँत, हर्टएट्याक्र्ट तथा अन्य सेवालाई प्रभावकारी रुपले संचालन गरिरहेको अस्पतालमा आवश्यक सेवा र जनशक्तिका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक व्यवस्थापन गरिने बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले अस्पतालले उपलब्ध गराउनु पर्ने सेवामा कमि हुन नदिन कार्यरत जनशक्तिलाई दक्ष र नियमित बनाउन तथा उपलब्ध सेवाको गुणस्तरलाई कायम राख्न, भएको श्रोत साधनलाई प्रभावकारी बनाउन सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा हाड जोर्नी विशेषज्ञ डा. आनन्दमणि उपाध्यायले अस्पतालले प्रदान गरेको सेवाका बारेमा जानकारी गराउँदै पूर्वाधार र पूर्ण जनशक्ति नहुँदा सेवालाई अझै प्रभावकारी बनाउन नसकिएको बताउनुभयो । जनशक्ति अभावकै कारण शुरु हुन लागेको ५ शय्याको डाईलोसिस सेवा संचालनमा आउन सकेको छैन ।
अस्पतालमा एम्बुलेन्स भए पनि शवबाहनको व्यवस्थापन हुन सकेको छैन ।

अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले नमोबुद्ध, रोशी, तेमाल, पाँचखाल, महाभारत तथा बिपी राजमार्ग हुँदै आउने सवारी साधनमा विभिन्न जिल्लबाट आउने नागरिकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन मेथिन्कोट अस्पताल निरन्तर सक्रिय रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्