उपराष्ट्रपति निर्वाचन : आज मतदान



 काठमाडौं । उपराष्ट्रपति पदका लागि आज शुक्रबार मतदान हुने भएको छ ।

मुलुकमा उपराष्ट्रपतिका लागि निर्वाचन हुन लागेको यो चौथोपटक हो । राजधानीको बानेश्वरस्थित संघीय संसद् परिसरमा हुने मतदानका लागि निर्वाचन अधिकृतको कार्यालय गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले मतदानका दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न आग्रह गरेको छ । उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रिय सभाका ३ सय ३१ र सातवटै प्रदेशसभा ५ सय ५० गरी ८ सय ८१ जना कुल मतदाता रहेका छन् ।

उपराष्ट्रपतिका लागि पहिलो निर्वाचन २०६७ श्रावण, २०७२ कार्तिक र २०७४ फाल्गुनमा भएको थियो । नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झा, दोस्रो र तेस्रो उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ हुनुहुन्छ । उपराष्ट्रपति नन्दकिशोर पुनको पाँच वर्षको पदावधि भोलि शनिबार सकिने भएकाले नयाँ उपराष्ट्रपति पदको लागि निर्वाचन हुन लागेको हो ।

उपराष्ट्रपति पदका लागि मूलतः तीन जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (बोहरा), र जनमत पार्टीका ममता झा रहनुभएको छ ।

संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैंचातर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ । संघीय संसद्ले मतदान गर्ने केन्द्रमा मतदान अधिकृत कृष्णशरण लामिछाने र प्रदेश सभाका सदस्यहरूले मतदान गर्ने केन्द्रमा अधिकृत मन्दिरा शाहीसहितका कर्मचारी खटाइएको छ ।

त्यसै गरी संघीय संसद्का लागि र प्रदेशसभा सदस्यका लागि गरी दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार जनाको नाम र फोटो रहेको छ । उम्मेदवारले नाम फिर्ता लिने समयसीमा सकिएपछि उम्मेदवार नाम फिर्ता लिएको घोषणा गरेकाले जनता समाजवादी पार्टीका तर्फबाट राष्ट्रिय सभाका सांसद प्रमिलाकुमारी यादवको पनि मतपत्रमा नाम समावेश गरिएको छ ।

संघीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्वीर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत संकेत गर्नुपर्नेछ । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ ।

निर्वाचन मण्डलमा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति आगामी पाँच वर्षका लागि उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ । संविधानअनुसार संघीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य संख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति उपराष्ट्रपति निर्वाचित हुनेछ । यदि तीन जना उम्मेदवार भएमा पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ र बहुमत ल्याउने व्यक्ति उपराष्ट्रपति बन्छन् । दोस्रो निर्वाचनमा पनि ५० प्रतिशत कसैले ल्याउन नसकेमा पुनः मतदान हुनेछ र त्यसमा जसले कुल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति उपराष्ट्रपति हुनेछ । सत्तासमीकरणको हिसाबले पहिलो मतदानबाटै उपराष्ट्रपति निर्र्वाचित हुनेछ । उपराष्ट्रपतिमा यादवलाई नेपाली कांग्रेस, माओवादीलगायत सत्ता गठबन्धन दलहरूको समर्थन रहेको छ ।

मतदानपछि साँझ ५ः३० देखि ६ बजेभित्रमा मतपरिणाम आइसक्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।
यसैबीच आयोगले पर्सि आइतबारसम्म निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा निर्वाचनका लागि प्रचारप्रसारका सबै कार्य निषेध गरिएको जनाउँदै कुनै पनि प्रकारका बैठक, छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नहुने पनि आयोगले पुनः स्मरण्या गराएको छ । राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय गर्न, सञ्चारमाध्यमबाट जित÷हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नगर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्