अदालतमा हाजिर हुँदै ‘विप्लव’ कार्यकर्ता

१५ मध्ये ५ जना हाजिर, हाजिर हुने सबै धरौटीमा



काभ्रे ।

सार्वजनिक भौतिक संरचनाको विनाश तथा विस्फोटक पदार्थ मुद्दामा हाजिर हुन जिल्ला अदालत काभ्रेपलाञ्चोकले सार्वजनिक सूचना प्रकाशन गरेसँगै विप्लव समुहका कार्यकर्ताहरु धमाधम हाजिर हुन थालेका छन् । हाजिर भएका उक्त मुद्दाका अभियुक्तहरु धरौटीमा छुटेका छन्  ।

‘जिल्ला अदालत काभ्रेपलाञ्चोकले हाजिर हुन आउन जारी गरेको म्याद अवधी भित्र यादव र ढुङ्गेल, सुवास देवजू, चमार सिंह तामाङ, शंकरप्रसाद नेपाल र डिल्लीप्रसाद दुलाललाई धरौटीमा छाड्ने आदेश भएको छ’–अदालतका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले भन्नुभयो–‘ढुङ्गेल र देवजू फागुन ३० गते हाजिर भएका थिए भने तामाङ, नेपाल र दुलाल फागुन २९ गते हाजिर भएका थिए ।’ जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले हाजिर हुन आएका सबैलाई १०-१० हजार धरौटी तारेखमा छाड्न आदेश दिएको हो । यो अदालतको नियमित प्रकृया भएको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १५०(१) बमोजिमको कसुर अपराधमा एनसेलको टाओर र जेनेरेटरमा आगजनी गर्ने कार्यमा संलग्न भएको अभियोगमा सार्वजनिक भौतिक संरचनाको विनाश मुद्दामा मण्डनदेउपुर ३ का चमार सिं लामा, धुलिखेल ९ का कान्छा लामा, चौरीदेउराली ६ का डिल्लीप्रसाद दुलाल, पनौती ४ का हुद्दबहादुर वाईवा, मण्डनदेउपुर १० का शंकरप्रसाद नेपाल, धुलिखेल ६ का सुवास देवजु, मण्डनदेउपुर १० का भोलाप्रसाद नेपाल, चौरीदेउरली ३ का यादव ढुंङ्गेल, पनौती ४ का सुन्दर रायमाझी, पनौती ४ का अनिल रायमाझीलाई म्याद जारी गरिएको थियो भने विस्फोटक पदार्थ मुद्दामा रामेछाप उमाकुण्ड ६ का शरद रसाईली, चौरीदेउरली ५ का लेखराज गजमेर, मण्डनदेउपुर २ का कान्छा लामा, खानीखोला ५ का रेशम नेपाली, खानीखोला ५ का प्रताप तामाङ गोलेलाई म्याद जारी गरिएको छ । हाजिर हुन आएका मध्ये ५ जना नै भौतिक संरचना विनाश मुद्दाका अभियुक्त हुन् ।

सकारसँग सम्झौता भएको दुई वर्ष पछि जिल्ला अदालत काभ्रेपलाञ्चोकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुलाई हाजिर हुन आउन गोरखापत्र दैनिक मार्फत २०७९ फागुन १ गते बुधबार म्याद जारी गरेको थियो । मुद्दा दर्ता भएका मध्ये अधिकांश ब्यक्ति विप्लव समुहमा छैनन । म्याद बेपत्ते तामेल भई आएकाले अदालतको आदेश अनुसार प्रतिवादीहरुका नाममा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ (१३) बमोजिम अभियुक्तहरुलाई हाजिर हुन आउन सूचना प्रकाशन भएको हो ।

अदालत उपस्थित नभई म्याद गुजारी बसेमा पछि कुनै उजुर बाजुर नलाग्ने सूचनामा उल्लेख गरिएको थियो । २०७७ फागुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र विप्लब समुहका प्रमुख नेत्रविक्रम चन्द बीच तीन बुँदै सम्झौता भएको थियो । सम्झौतामा दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएको, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको, नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको उल्लेख गरिएको थियो ।

अदालतमा प्रहरीले दर्ता गरेको मुद्दा सरकार र विप्लव समुह बीच सम्झौता हुनु अगावैको हो । तर पनि सरकारसँग भएको सम्झौता अदालतमा लामो समयसम्म आईनपुग्दा अदालतले आफ्नो प्रकृया अघि बढाएको हो । त्यस्तै सरकारसँग असहमति राख्दै २०७८ फागुन १६ गते नेपाल बन्दको आब्हान गर्दै बनेपामा शंकास्पद बस्तु राखेको अभियोगमा पक्राउ परेका विप्लबका कार्यकर्ताले सफाई पाएका छन् ।

जिल्ला अदालतले उनलाई प्रमाण नपुगेको भन्दै सफाई दिएको हो । काभ्रेको बनेपा पुलबजार नजिक अरनिको राजमार्गमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय गरेको थियो ।

‘नो एमसीसी, खतरा’ लेखेर बाल्टिनलाई रातो झोलाभित्र बेरेर सडकमा राखिएको उक्त बस्तुलाई नेपाली सेनाको कालीजंग गण धुलीखेलबाट खटेको सहसेनानी अजय परियारको टोलीले निष्क्रिय पारेको थियो । सडकमा शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग आबद्ध महाभारत गाउँपालिका ६ का युगान्त थिङ पक्राउ परेका थिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित विभिन्न ६ कम्युनिस्ट दल र २ मोर्चाले सोही दिन नेपाल बन्दको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्