कक्षा १ मा लिखित प्रवेश परीक्षा लिए कारबाही गरिने



काठमाडौं । केही ठूला विद्यालयले कक्षा १ मा भर्ना गर्न लिखित परीक्षा लिने तयारी गरेपछि स्थानीय तहले कारबाही गर्ने चेतावनी दिएको छ । विशेषगरी काठमाडौं र ललितपुरमा सञ्चालित केही ठूला विद्यालयले कक्षा १ मा भर्ना लिने तयारी गरेलगत्तै स्थानीय तहले यस्तो चेतावनी दिएको हो ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले कक्षा १ मा लिखित परीक्षा लिएर भर्ना गर्ने प्रक्रिया रोक्न आग्रह गर्दै भन्नुभयो– ‘शिक्षा ऐन, नियमावली, निर्देशिकालगायत सबै कानुनमा कक्षा १ मा लिखित परीक्षा लिने व्यवस्था नभएकोले लिखित परीक्षा लिएर भर्ना लिनु कानुनविपरीत हो ।’ महानगरभित्र करिब ५ सय २० संस्थागत विद्यालय सञ्चालित छन् ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्रले करिब दुई महिनाअघि लिखित प्रवेश परीक्षा नलिन सार्वजनिक सूचना जारी गरिसकेको जिकिर गर्दै उहाँले यस्तो अवस्थामा कक्षा १ मा लिखित परीक्षा लिएर भर्ना गरे कानुनअनुसार कारबाही गरिने बताउनुभयो ।

ललितपुर महानगरपालिकाका शिक्षा विभागप्रमुख महेन्द्र क्षेत्रीले सबै विद्यालयलाई कक्षा १ मा लिखित परीक्षा नलिईकनै परीक्षा लिन आग्रह गरेको जानकारी गर्दै भन्नुभयो– ‘हामीले महानगर क्षेत्रभित्र पर्ने सबै विद्यालयलाई कक्षा १ मा भर्ना हुन लिखित परीक्षा नलिन आग्रह गरिसकेका छौं । ललितपुर महानगरक्षेत्रभित्र २ सय ३७ संस्थागत विद्यालय छन् ।’

विशेषगरी राजधानीका ठूला विद्यालयले सामाजिक सञ्जालमा व्यापक रूपमा कक्षा १ मा भर्ना खुलेको विज्ञापन गरिरहेका छन् । केही ठूला विद्यालयले त प्रवेश परीक्षाको मिति तोकेरै विज्ञापन गरेका छन् । ती विद्यालयलाई कक्षा १ मा लिखित परीक्षा लिएर विद्यार्थीलाई भर्ना नलिन दुवै महानगरले आग्रह गरेको छ ।

प्रवेश परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थी र अभिभावकमा मानसिक तनाव हुने भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ मा प्रवेश परीक्षा नलिन सो निर्देशन दिएको थियो ।

दुई स्थानीय तहले ठूला विद्यालयको कार्यविधि तयार गरी मौखिक वा अन्य विधिबाट मात्र भर्ना गर्न निर्देशन दिएको छ । ललितपुर महानगरका शिक्षा विभागप्रमुख क्षेत्रीले सेन्ट जेभियर्स स्कुल जावलाखेमा कक्षा १ मा प्रवेश परीक्षा नलिई मौखिक वा अन्य विधि अपनाएर भर्ना गर्न कार्यविधि तयार गरेको जानकारी दिनुभयो ।

प्याब्सनका अध्यक्ष डीके ढुंगानाले कार्यविधि बनाएर वा मौखिक विधि प्रयोग गरी विद्यार्थी भर्ना गर्न निर्देशन दिएको जानकारी दिँदै भन्नुभयो– ‘छनौटको विधि प्रयोग गरेका छौं । सोहीअनुसार कक्षा १ मा भर्ना लिइनेछ ।’

शिक्षा मन्त्रालयको प्रवक्ता दीपक शर्माले कक्षा १ मा प्रवेश परीक्षा लिएर कलिला बच्चालाई तनाब दिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यदि प्रवेश परीक्षा लिएर भर्ना गरे शिक्षा ऐनअनुसार तत्काल कारबाही गर्नुपर्छ ।’

केन्द्रले राष्ट्रिय शिक्षा नीति, २०७६, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ र सोको नियमावली २०७७, शिक्षा ऐन २०२८ र नियमावली, २०५९ विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ र आधारभूत तह कक्षा १ देखि ३ को पाठ्यक्रम २०७६ ले शिशुविकास केन्द्र, प्रारम्भिक बालविकास पूर्वप्राथमिक शिक्षा र आधारभूत तह (कक्षा १ देखि ३) मा बालबालिकाको भर्ना, विकास तथा सिकाइ क्रियाकलाप सञ्चालन, विकास तथा सिकाइको मूल्यांकन एवं स्तरीकरण सम्बन्धमा स्पष्ट मार्गदर्शन गरेको अवस्थामा कक्षा १ मा प्रवेश परीक्षा नगर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्