विश्वभर ८५ करोड मृर्गौलाको रोगीहरु स्वास्थ्य सेवाबाट प्रभावित

सन्दर्भ: विश्व मृगौला दिवस २०७९



काठमाडौं । 

विश्व मृगौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य अभियान नेपाल र अंग प्रत्यारोपण समाज नेपालले संयुक्त आयोजनामा विविध कार्यक्रम गरी विश्व मृगौला दिवस मनाइयो ।

प्रत्येक वर्ष अंग्रेजी महिनाको मार्चको दोस्रो बिहीबार यो दिवस विश्वभर मनाइने गरिन्छ । प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभर नै मृगौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षकमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मृगौला दिवसको आयोजना गर्ने गरिन्छ प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले भन्नुभयो ।

यस पटकको मृर्गौला दिवसको नारा “अप्रत्याशित रूपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउनु” रहेको छ । एन्फा कम्प्लेक्स सात दोबाटोमा आयोजना गरिएको कार्यक्रममा मैत्री  पूर्ण फुटबल प्रतियोगिता, अंग दान शिविर र अन्य विविध कार्यक्रम र मृगौला पदयात्रा   लगायतका  कार्यक्रम  गरी मनाइयो ।

अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरू पनि अरू स्वास्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्छन् र उनीहरू पनि हरेक क्षेत्रमा सक्षम र सबल रूपमा कार्य गर्न सक्छन् भन्ने   जनचेतना जगाउने र अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले अंग दाता अंग ग्रहणकर्ता र चिकित्सक, नर्स, कालाकार पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरी तेह्रौँ नेपाल प्रत्यारोपण खेलकुद गरियो ।

अंगदान शिविरबाट ५ जनाले आफ्नो मृत्यु पछिको अंगदानका लागि नाम लेखाएको केन्द्रकी कन्सल्टेन्ट नेफ्रोलोजिस्ट तथा तेह्रौँ नेपाल प्रत्यारोपण खेलकुदकी संयाजक  डा. कल्पना श्रेष्ठले जानकारी गराउनुभयो. ।
कार्यक्रममा अंग प्रत्यारोपित व्यक्तिहरू तथा चिकित्सक, समाजसेवी, कलाकार सहितको टोलीबिच भएको फुटबल प्रतियोगितामा मृर्गौला प्रत्यारोपित टोलीले ४–१ गोल अन्तरले पराजित गरेका थिए ।

प्रभातफरी कार्यक्रमको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले नेतृत्व गर्नुभएको थियो । खेलकुदमा विशेष अतिथिहरू वरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहभागी हुनुहुन्थ्यो । त्यसै गरी विभिन्न अस्पतालका चिकित्सक लगायतको उपस्थिति थियो ।  कार्यक्रमको उद्घाटन .ललितपुर महानगरपालिकाका.मेयर चिरबाबु महर्जनलेले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिरिबाबु महर्जनले राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानको सह्राना गर्नुभयो । उहाँले स्वस्थ जीवन शैली अपनाई समय समयमा आफ्नो स्वास्थ्य जाँच गराउनु पर्ने कुरामा जोड दिनु भयो ।
प्रत्यारोपण केन्द्रको स्थापनाको १० वर्षमा १ हजार २६ जनाको मिर्गौला प्रत्यारोपण, ९ जना को सफल कलेजो प्रत्यारोपण तथा  मस्तिष्क मृत्यु भएको व्यक्तिबाट समेत अंग प्रत्यारोपण गरिसकेको जानकारी गराइयो ।

विश्व भरि नै मृगौला तथा  विभिन्न अंग फेल हुने समस्याले विकराल रूप लिइरहेको अवस्थामा यस्तो दिवस मनाउनु समय सापेक्ष हुनाका साथै सर्वसाधारण जनतामा स्वस्थ जीवन शैली तथा अंग दान सम्बन्धी जनचेतनामा अभिवृद्धि हुने विश्वास लिइएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ प्रत्यारोपणविद् डा. पुकार चन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले “अप्रत्याशित रूपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउन”  संसारमा आइपर्ने आपत्–विपत् जस्तै भूकम्प, बाढी, पहिरो, युद्ध, मौसमको चरम परिवर्तन तथा कोभिड–१९ जस्तो महामारीबाट समाजको जीवनस्तर ठुलो नकारात्मक असर पर्छ भन्नुभयो ।

उहाँले विपद्बाट मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति तथा त्यसबाट पर्ने प्रभावबाट दीर्घरोगीहरु मध्ये विश्वभरका करिब ८५ करोड मिर्गौलाको रोगीहरु स्वास्थ्य सेवाबाट प्रभावित भई उनीहरूको रोगको निदान र उपचारमै समस्या आउने गर्दछ भन्नुभयो । डा.पुकारले नसर्ने रोगहरू जस्तै मुटुको रोग, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, दीर्घकालीन फोक्सोको रोगहरू तथा मिर्गौलाको रोगहरू अहिले संसारमा सबैभन्दा धेरै मृत्युको कारण तथा ठुलो स्वास्थ्य समस्याको रूपमा देखा फर्को र यसको असर न्यून तथा मध्यम आय भएका देशहरूमा बढी  पर्ने गरेको बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्