उमा कुङ्फुका बहुआयामिक कमल



काठमाडौं । ‘प्रतियोगितामा सहभागी भइनँ भने निर्णायक गर्छु । यसले आफूलाई प्राविधिक पक्षमा थप बलियो बनाउँछ । त्यसैले निर्णायकको कोर्स गरेको हुँ,–’केही समय अगाडि मात्र भारतको लखनउमा निर्णायकको भूमिका निर्वाह गरेर फर्किएका उमा कुङ्फुका कमल मगरले भने ।

उमा कुङ्फु अन्तर्राष्ट्रिय पदक विजेता कमल मगर यो खेलका प्रशिक्षक र निर्णायक पनि हुन् । सन् २०२० मा उमा कुङ्फुको मुख्यालय संयुक्त अधिराज्यबाट तेस्रो डान प्राप्त गरेका कमलले बेइजिङको साउलिन उसु स्कुलबाट कुङ्फुको डिप्लोमा पनि पूरा गरेका छन् । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका कारण नेपाल उमा कुङ्फु संघले उनलाई चीनमा छात्रवृत्तिमा पढ्ने अवसर मिलाइदिएको थियो । उनै कमल आफ्ना खेल प्रतिस्पर्धा नभएका समय निर्णायक भूमिका पनि देखिन्छन् । यस पटक उनी भारतको उत्तर प्रदेश कुङ्फु एसोसिएसनको निमन्त्रणामा १४औं राष्ट्रिय कुङ्फु च्याम्पियनसिपमा निर्णायकको भूमिका गर्न लखनउ पुगेका थिए ।

उत्तर प्रदेशले निर्विवाद खेल सञ्चालन गर्न नेपालसँग निर्णायक माग गर्दा उनले त्यो अवसर पाएका थिए । भारतबाट फर्किएपछि उनले आफूलाई प्राविधिक रूपमा अब्बल बनाउन पनि निर्णायकको भूमिका पनि जारी राखेको बताए । उसुका पूर्वखेलाडीसमेत रहेका कमल पछिल्ला समय खेलाडी उत्पादनमा सक्रिय छन् । उनी जोरपाटीमा रहेको लोटस फिटनेस एन्ड किक बक्सिङ क्लबमा बक्सिङ, सम्पदा स्कुलमा कुङ्फु र अन्य दुई ठाउँमा उमा कुङ्फु प्रशिक्षण गराउँछन् । ‘मेरो गुरुको शिक्षाले नै गर्दा मैले धेरै पाएँ । म पनि देशका लागि खेलाडी उत्पादन सदैव खट्नेछु । मैले विदेशमा सिकेका ज्ञान प्रतिभावान् खेलाडी उत्पादनमा लगाउने मेरो लक्ष्य छ,–’कमलले आफ्नो योजना सुनाए ।

कमलले सन् २०१२ मा पहिलोपटक अन्तर्राष्ट्रिय पदक जितेका थिए । उनले नेपालमै सम्पन्न पहिलो अन्तर्राष्ट्रिय जुनियर तथा सिनियर कुङ्फु च्याम्पियनसपमा स्वर्ण जितेका हुन् । सान्डा फाइटको ४५–४८ केजीमा उनले स्वर्ण जितेका थिए । त्यसपछि सन् २०१८ र २०१९ उनको खेल करियर यादगार बन्यो । यो दुई वर्ष उनले सीमित प्रतिस्पर्धाबाट पनि धेरै सफलता पाए । सन् २०१८ मा संयुक्त अधिराज्यमा सम्पन्न १२औं उमा विश्व च्याम्पियनसिपमा उनले विपन टे«डिसनल फम्र्समा स्वर्ण र चाइनिज फम्र्समा पदक जिते ।

सोही वर्ष नै थाइल्यान्डमा सातौं अन्तर्राष्ट्रिय कुङ्फु च्याम्पियनसिपमा पनि सर्ट विपनमा उनले स्वर्ण पदक दोहो¥याए । जहाँ कुङ्फु फाइटमा रजत पदक पनि जिते । सन् २०१९ मै उनले दुई स्वर्ण, तीन रजत र एक कांस्य पदक हासिल गरे । क्रोएसियामा सम्पन्न डब्लुएमएसी विश्व मार्सल आटर््स गेम्समा उनी दुई स्वर्ण र एक रजत पदक हासिल गर्न सफल भए । त्यहाँ उनले ६० केजीको सान्डा फाइट र सर्ट विपनमा स्वर्ण जितेका हुन् । अष्ट्रियाको वल्र्ड गेम्समा भने उनी स्वर्ण पदकविहीन भए र जहाँ उनले दुई रजत र एक कांस्य पदकमा चित्त बुझाउनुप¥यो । विश्वभर कोरोना महामारीले प्रतिस्पर्धा ठप्प रहँदा पनि उनले अनलाइनमार्पmत भएको प्रतिस्पर्धा अन्तर्गत सर्ट विपनको डेमोन्स्टे«सनमा स्वर्ण जितेका थिए ।

दिदीको प्रेरणाले खेलकुदमा

कमलका यी सफलताको पछाडि उनकी दिदी विमला थापामगरको महत्वपूर्ण हात छ । किनकी दिदीकै प्रेरणामा उनी खेल क्षेत्रमा लागेका थिए । सोलुखुम्बुको टाप्टिङका स्थायी बासिन्दा कमल सानैमा काठमाडौंमा आएर पढे । जोरपाटीको समता स्कुलमा पढ्ने उनी सानैदेखि खेलकुदप्रति निकै मोह राख्थे । गाउँघरमा अरू खेलेको देख्दा उनलाई पनि खेलौंखेलौं लाग्थ्यो । खेल्ने अवसर भने २०६० सालमा आएर मात्र जु¥यो । उसुका खेलाडी भएर उनले खेल्ने रहर मेटाए । उनको वासस्थान नजिकै उसु क्वान (उसु प्रशिक्षणस्थल) थियो । उनकी दिदीले उनलाई त्यहाँ भर्ना गरिदिइन् । जहाँ उनले उसुका प्रशिक्षक उद्धव थापामगरसँग उसु सिके ।

त्यति बेला कक्षा एकमा पढ्दै थिए, उनी । त्यस कारण पनि खेलबारे उनी पूर्ण जानकार थिएनन् । पछि खेल्दै जाँदा मात्र उनलाई आफूले के खेलेको रहेछु भन्ने थाहा भयो । बिस्तारै यो खेलप्रति उनमा लगाव जाग्यो । उनलाई उसु निकै आकर्षक र फुर्तिलो खेल लाग्यो । त्योभन्दा पनि उनी मार्सल आट्र्सप्रति रुचि नै राख्थे । ‘सानोमा खेल्न म खुब मन पराउँथें रे । त्यसैले दिदीले खेलमा भर्ना गरिदिनुभएछ । खेल्दाखेल्दै खेलप्रति मोह जाग्यो । पढाइ र खेललाई सँगै अगाडि बढाएँ,–’कमलले भने,–‘खेलकै कारण ममा आत्मविश्वास पलायो । जे जति पाएँ खेलकै कारण सम्भव भयो ।’

उनी स्कुलमा पढ्दै गर्दा उसु प्रशिक्षण पनि गराउँथे । केही प्रतियोगिता भइहाल्यो भने पनि कमल प्रतिस्पर्धा गर्न जान्थे । त्यहाँ पाउने सफलताका कारण उनले खेलमा भविष्य देखे । उनमा महत्वकांक्षा जाग्यो । ‘खेल या अन्यभन्दा खेल नै रोजेँ,–’कमलले भने,–‘दिदी संगीतकर्मी हुनुहुन्थ्यो र उहाँले संगीत पनि सिकाउनुभयो । तर, मैले खेल नै रोजेँ ।’ खेल्दै जाँदा उनी आफैंले खेल्ने ठाउँमा सिकाउने अवसरमा पनि पाए । कमलका गुरु उद्धव थापामगरले उनमा क्षमता देखे र उनलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिए । त्यसले उनमा थप आत्मविश्वास पनि पलायो ।

‘म ९ कक्षामा पढ्दै थिएँ । त्यति बेला गुरु पनि निकै व्यस्त हुन थाल्नुभयो । सिनियर पनि भइसकेको थिएँ । त्यसैले उहाँले मलाई नै क्वानमा सिकाउने जिम्मेवारी दिनुभयो । खेल्ने र सिकाउने फरक पाटो थियो,–’उनले भने,–‘सिकाउँदा थप जिम्मेवारीबोध हुने रहेछ । हरेक दिन नयाँ सिकाउन पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसले मलाई थप मेहनत गर्न प्रेरणा मिल्यो ।’ २०७० सालमा उनले समता स्कुलबाट एसएलसी दिए । त्यसपछि उनलाई गुरुले त्यो क्वान नै सुम्पिदिए । त्यसयता उनी जोरपाटीमा प्रशिक्षण गराउँदै आएका छन् । क्याम्पियन कलेजबाट प्लस टु पूरा गरेपछि कमलले आफ्नो व्यवसाय पनि सुरु गरे ।

ब्रिटिस आर्मी र सिंगापुर पुलिसका लागि प्रशिक्षण केन्द्रको स्थापना गरेका उनी आपैmँ त्यहाँ प्रशिक्षण गराउँछन् । जोरपाटीमा किङ गोर्खा नामक प्रशिक्षण केन्द्रका उनी प्रशिक्षक पनि हुन् । ‘मैले खेल करियर र व्यवसाय सँगै अगाडि बढाएँ । खेलले मलाई व्यवसाय सञ्चालनमा थप आत्मविश्वास दियो । अहिले खेल पनि व्यवसायिक भइसकेको छ । खेलाएर कमाउने अवस्था सिर्जना भएको छ,–’उनले भने । २०६० सालयता उसु खेल्दै आएका उनी पछिल्ला समय उमा कुङ्फुका खेलाडी भए । कमलका गुरु नै उमा कुङ्फुतर्फ जोडिएकाले उनी पनि त्यसतर्फ प्रेरित भए ।

जहाँबाट उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता पनि प्राप्त गरे । यसलाई नै उनले करियरका रूपमा रोजे र आफूले खेलेका अधिकांश प्रतिस्पर्धामा पदक प्राप्त गरे । उसु र उमा कुङ्फुको खेल्ने शैली मिल्छ । उसुको उत्पत्ति चीनबाट भयो भने उमा कुङ्फुलाई इङ्ल्यान्डले परिष्कृत रूपमा अगाडि बढायो । उनले चीनको बेइजिङस्थित बेइजिङ साउलिन उसु स्कुलबाट डिप्लोमासम्म अध्ययन गरे । ‘उमा कुङ्फुमा लागेपछि बेइजिङमा गएर पढेँ । हरेक दिन आठ घण्टा पढाइ र अभ्यास गर्नुपथ्र्याे । त्यहाँबाट सात वटा विधामा डिप्लोमा पूरा गरें । त्यो दिन सम्झँदा गर्विलो महसुस हुन्छ,–’उनले भने ।

प्रतिक्रिया दिनुहोस्