राजनीतिक भेटघाट गरेर फर्किए क्वात्रा



काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालको संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई भेटेर स्वदेश फर्कनुभएको छ । उहाँको भ्रमणको मुख्य उद्देश्य दलहरूले सार्वजनिक गर्न चाहेका छैनन् । क्वात्राले दुई देशबीच परराष्ट्र सचिवस्तरीय बैठक गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सत्ता साझेदार दलका नेताहरू केपी ओलीलगायत नेताहरूसँग भेट गर्नुभएको थियो । उहाँले मधेसी नेताहरू महन्थ ठाकुर, डा. सिके राउत समेतलाई भेटेर फर्किएको भारतीय दूतावासले जनाएको छ ।

नेताहरूको भेटमा अन्तरदेशीय सम्बन्ध र विकास परियोजनाका विषयमा छलफल भएको बताइएको छ । यद्यपि, पछिल्लो समसामयिक राजनीतिका बारेमा समेत सामान्य चासो राखेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बतायो ।

सोमबार भएको भएको भेटमा क्वात्रा र मन्त्री श्रेष्ठसँगको भेटमा रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धि सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठसँगको भेटका क्रममा क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषयमा समेत कुरा राख्नु भएको बताइएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सचिवालयले पनि भारतीय विदेश सचिव क्वात्राले भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा समेत चासो व्यक्त गरेको जनाएको छ ।

प्रधानमन्त्री दाहाललाई औपचारिक भ्रमणको निम्ता दिन आएको भनिए पनि उनले प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा अनौपचारिक छलफल मात्र गरेको प्रधानमन्त्रीको सचिवालयले बतायो ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डको भारत भ्रमण यही फागुनको अन्तिममा हुने गरी तयारी चलिरहेको थियो । तर, राष्ट्रपतिको चुनावलगायतका विषयले उहाँको भ्रमण पर धकेलिएको स्रोतले दाबी छ ।

आगामी २५ गते राष्ट्रपतिको चुनाव हुँदै छ । त्यसअघि फागुन १३ मा राष्ट्रपतिका मनोनयन दर्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिको उम्मेदवार को बन्ने भनेर गर्मागर्मी भइरहेको अवस्थामा भारतीय सचिवको भ्रमण र नेपाली नेताहरूसँगको भेटलाई नेपाली राजनीतिमा अर्थपूर्ण रूपमा लिइएको छ । कतिपयले राष्ट्रपतिको विवादले सत्ता समीकरण फेरबदल हुने आशङ्कासमेत गर्दै आएका छन् ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोनमा बधाई तथा शुभकामना दिँदै भारत भ्रमणका लागि निम्तो दिनुभएको थियो । त्यसको दुई तीन दिनपछि प्रधानमन्त्री प्रचण्डले स्वयं आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुनसक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्