सार्क विघटन गर्नुपर्छ : भारतीय कुटनीतिज्ञ कपुर



 काठमाडौं।

श्रीलंकाको भ्रमण सकेर शनिबार स्वदेश फर्केका परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले कोलोम्बोमा श्रीलंका, बंगलादेश र माल्दिभ्सका विदेशमन्त्रीका साथै भारतका विदेश राज्यमन्त्रीसँग भेटेर दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउने र सार्क मुलुकहरूबीच आपसी छलफल, सहकार्य र सम्पर्क सञ्जाल विस्तार गर्नुपर्ने विषय उठान गरेको बताइरहेकै बेलामा काठमाडौंमा भारतीय कुटनीतिज्ञले भने सार्कलाई विघटन गर्नुपर्ने बताएका छन् ।

सेन्टर फर डिप्लोम्यासी एण्ड डेभलप्मेन्ट (सीडीडी) ले शनिबार राजधानीमा आयोजना गरेको प्रवचन कार्यक्रममा भारतीय कुटनीतिज्ञ प्रदिप कुमार कपुरले सार्क औचित्यहिन भएको बताउनुभएको हो ।

 

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा उहाँले पाकिस्तानलाई इंगित गर्दै सार्कका सदस्य राष्ट्रले नै असहयोग गरिरहेको अवस्थामा सार्क अब अघि बढ्न नसक्ने भन्दै यसलाई रद्दीको टोकरीमा फ्याँक्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘प्रथम विश्वयुद्धपछि अर्को विश्वयुद्ध नहोस् भनेर ३० राष्ट्र मिलेर गठन गरेको लिग अफ नेसन दुई दशकपछि नै रद्दीको टोकरीमा फ्याँकियो र संयुक्त राष्ट्रसंघको स्थापना भयो । त्यसैगरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न गठन भएको जेनरल एग्रिमेन्ट अफ ट्यारिफ एण्ड ट्रेड (ग्याट) को औचित्य समाप्त भई विश्व व्यापार संगठन (डब्लुटिओ) बन्यो । अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंक पनि त्यसरी नै आएका हुन् । अब सार्कका सदस्य राष्ट्रहरूले पनि सार्कको भविष्यको बारेमा निर्णय लिनुपर्छ ।’

सार्कको अध्यक्ष राष्ट्रको रुपमा नेपालले सार्कलाई सक्रिय बनाउन पहल गर्दै आए पनि भारत र पाकिस्तान विवादका कारण सार्क अघि बढ्न सकेको छैन । सन् २०१४ मा काठमाडौंमा सम्पन्न भएको १८ औं सार्क शिखर सम्मेलनले १९औं शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा गर्ने घोषणा गरे पनि भारत र पाकिस्तानको विबादले गर्दा अहिलेसम्म हुन सकेको छैन । भारतले पाकिस्तानमाथि सीमापार आतंकबादलाई बढावा दिने काम गरेको भन्दै आतंकबाद र छलफल संगसंगै अघि बढ्न नसक्ने अडान लिएपछि १९ औं शिखर सम्मेलन रोकिएको हो ।

 

यसैबीच सार्कको काठमाडौंस्थित सार्क सचिवालय समेत नेतृत्वविहिन हुने अवस्थामा पुगेको छ । सन् २०२० को मार्च १ बाट सार्कको महासचिव पद सम्हालेका श्रीलंकाका इसला विराकोन आफ्नो तीन वर्षे कार्यकाल सकेर फागुनको तेस्रो साता स्वदेश फर्कदै हुनुहुन्छ । श्रीलंकापछि महासचिव पठाउने पालो अफगानिस्तानको हो । तर २० वर्षपछि सन् २०२१ मा फेरि सत्तामा फर्केको अफगानिस्तानको तालिवान सरकालाई दक्षिण एसियाका कुनै पनि मुलुकले मान्यता नदिएको कारण खाली हुने महासचिवको पदपूर्तिमा अन्यौल सिर्जना भएको छ ।

सार्क स्थापनाको ३७ वर्षमा पहिलो पटक यस्तो अन्यौलको अवस्था सिर्जना भएको हो । भारत र पाकिस्तानको आपसी द्वन्द्वमा फस्दै आएको सार्क पछिल्लो पटक नयाँ सदस्य अफगानिस्तानका कारण समस्यामा फसेको छ ।

 

प्रतिक्रिया दिनुहोस्