मेयर र स्वास्थ्यकर्मीबीच विवाद, अस्पतालको ओपीडीबाहेक सबै सेवा बन्द



बारा । बाराको एक नगरपालिकाका मेयर र स्वास्थ्यकर्मीबीच विवाद हुँदा अस्पतालको ओपीडीबाहेक अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

आज (मंगलबार) करार सेवामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको पुनः अवधि थप गर्न मेयरले नमानेपछि सिम्रौनगढ नगरपालिकाको नगर अस्पतालको ओपिडीबाहेक अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गराएको हो ।

नगरपालिकामा रहेको एउटा मात्र सुविधा सम्पन्न अस्पताल कार्यालयको सेवा स्वास्थ्य शाखाको आदेशमा आजबाट अनिश्चितकालका लागि बन्द भएको छ ।

हिजो (सोमबार) स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले एक सूचना जारी गर्दै आदेशअनुसार ओपीडी (बहिरंग) बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्म बन्द गरिएको बताउँनुभयो ।

स्वास्थ्य शाखाको निर्णयविरुद्ध आन्दोलनरत करार कर्मचारीले ओपीडी सेवामा पनि रोक लगाउँन दबाब दिएका छन् । करार कर्मचारीको अवधि थप गर्ने विषयमा लामो समयदेखि विवाद झेल्दै आएको नगरपालिकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई निकाल्न अस्पतालको सेवा नै बन्द गरेको कर्मचारीहरूको आरोप छ ।

नगर अस्पतालमा २८ जना स्वास्थ्यकर्मी र कर्मचारी करारमा कार्यरत छन् । यीमध्ये यस नगरपालिकाले गत असोजमा ३ जनाको मात्रै करार अवधि थप गर्ने निर्णय गरेको थियो ।

नगरपालिकको निर्णयविरुद्ध आन्दोलनरत कर्मचारीहरू भने निर्णय अवज्ञा गर्दै अस्पतालमा हाजिर भएर काम गर्दै आएका छन् । कर्मचारीहरू काममा आउन नछोडेपछि अस्पताल नै बन्द गरेर कर्मचारीलाई निकाल्न खोजिएको करार सेवाका अहेब अयुब अन्सारीले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

‘अघिल्लो मेयर विजयशंकर यादवको कार्यकालमा नियुक्ति लिएको भनेर हामीलाई निकाल्ने प्रयास हुँदै आएको थियो, अहेब अन्सारीले भन्नुभयो, तर कर्मचारीको आन्दोलनका कारण निकाल्न नसकेपछि अहिले अस्पताल नै बन्द गरिएको छ ।’ उहाँका अनुसार करारका अधिकांश कर्मचारी कार्यरत इमरजेन्सी सेवा बन्द गरेर नगरपालिकाले जागिरबाट हटाउने जाल रचेको हो ।

कर्मचारी हटाउने र राख्ने विवादका कारण अस्पतालको सेवा नै रोकिएपछि विरामीहरू मारमा पर्नुभएको छ । अस्पतालमा दैनिक करिब सय जनाले उपचार सेवा लिँदै आएका थिए ।

नगरभित्रका अन्य सरकारी स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक एमबीबीएससहित प्राविधिक र स्वास्थ्यकर्मी परिचालन गरी डेढ वर्षअघि १५ शैइयाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याइएको हो ।

त्यसैगरी २५ लाख खर्चेर चौबीसैँ घण्टा खुल्ला रहने फार्मेसी सेवा पनि सञ्चालनमा ल्याइएको छ । अस्पतालमा उच्चस्तरिय प्रयोगशाला, डिजिटल अल्ट्रसाउन्ड, साधारण एक्सरे, ईसीजी, ५ वटा मोनिट्रिङ मेसिनसहितको कक्षको व्यवस्था गरिएको छ ।

सर्पदंश र एन्टी रेबिज भ्याक्सिन, प्रसुती सेवा र अक्सिजनको व्यवस्था पनि गरिएको छ । करिव दुई करोड खर्चेर २ तल्लाको १२ कोठे नगर अस्पताल आफ्नै लगानीमा नगरपालिकाले निर्माण गरेको हो । अस्पताल संचालनमा आएपछि यस क्षेत्रका बासिन्दाहरूले स्वास्थ्य सेवामा सहजता महसुस गर्दै आएका थिए ।

स्वास्थ्य शाखाले ओपीडी बाहेकको अस्पतालका प्रयोगाशाला, एक्सरे, फार्मेसी, अकास्मिकलगायत सबै सेवा बन्द गरेको शाखा प्रमुख विजय ठाकुरले बताउनुभयो । नगरपालिकाले अस्पतालमा कार्यरत अधिकांश कर्मचारीलाई हटाएपछि सेवा दिन नसकिने भएपछि केही समयका लागि सेवा बन्द गर्नु परेको उहाँको भनाइ छ ।

‘अस्पताललाई थप व्यवस्थित गर्न केही समयको लागि ओपीडी बाहेकको सेवा बन्द गर्ने निर्णय गरेका थियौं, नगरपालिकाका प्रशासन शाखाका एक कर्मचारीले भने, ‘करारका कर्मचारीको म्याद सकिएको र अब नयाँ कर्मचारी भर्ना गरेपछि फेरि सेवा सुचारु हुनेछ ।’

करार कर्मचारीलाई हटाएर नयाँ कर्मचारी भर्ना गरी अस्पताल सञ्चालनमा ल्याइने प्रशासनको योजनाविरुद्ध हटाइएका करार कर्मचारीहरूले अस्पतालको गेटमा धर्ना दिएर तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्