भारतीय कमसल मल प्रयोग गर्न बाध्य छन् बाराका किसान



बारा ।  सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बाराका किसान अवैधरूपमा भित्रिएको न्यून गुणस्तीय भारतीय युरिया मल महँगोमा खरिद गर्न बाध्य भएका छन् । गहुँ र मकैबालीमा हाल्ने सिजनमा पनि सरकारले मल उपलब्ध गराउन नसकेपछि जिल्लाका अधिकांश किसानहरू भारतीय मल खरिद गर्न बाध्य बनेका हुन् ।

नेपाली अनुदानको मल नपाइएपछि किसानहरू भारतीयबाट अवैधरूपमा भित्र्याइएको कमसल मल बढी मूल्य तिरेर किन्न बाध्य भएको कलैया उपमहानगरपालिका–१६ उत्तर झिट्कैंयाका किसान राजु पटेलले बताउनुभयो । ‘अनुदानको युरिया मल प्रतिबोरा ८ सयदेखि ९ सयमा पाइन्थ्यो’, किसान पटेलले भन्नुभयो– ‘तर भारतीय मलमा १ हजार ४ सय रुपियाँसम्म तिर्नुपरेको छ ।’ कमसल नै भए पनि सहजरूपमा उपलब्ध भएपछि जिल्लाका अधिकांश किसानले भारतीय मल प्रयोग गर्दै आएको उहाँको भनाइ छ । ‘राम्रो काम त गर्दैन, तर पनि प्रयोग गर्न बाध्य छौंं’ –पटेलले भन्नुभयो । नेपाली अनुदानको मल जस्तो चाँडै नलाग्ने र भारतीय युरियाले बाली पनि राम्ररी नप्रिएको पटेलको अनुभव छ ।

भारतबाट तस्करी गरेर ल्याइएको रासायनिक मल जिल्लाका सबै प्रमुख बजारमा पर्याप्त मात्रामा पाइने अर्का स्थानीय किसान सीमा यादवले बताउनुभयो । ‘सानादेखि ठूला बजारमा छ्यापछ्याप्ती पाइन्छ’, यादवले भन्नुभयो– ‘मलको कारोबार गर्नेहरूले सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई मिलाएर मल नेपाल भित्र्याउने गरेका छन् ।’ उहाँका अनुसार भारतबाट मल ल्याउने कार्यमा यति बेला जिल्लाका दर्जनौं व्यवसायी सक्रिय छन् । उनीहरूले सीमा क्षेत्रका मान्छेलाई भाडामा खटाएर मोटरसाइकल र साइकलमा राखेर मल ल्याउन लगाउने गरेका हुन् ।

कारोबारीहरूले भारतमा प्रतिबोरा १ हजार नेपाली रुपियाँमा पाइने मल नेपाल ल्याएर खुद्रा व्यापारीलाई १ हजार २ सयमा बेच्ने र व्यापारीले थप २ सय फाइदा लिएर किसानलाई बिक्री गर्ने गरेको पनि उहाँले सुनाउनुभयो ।

सिम्रौनगढ कचोर्वाका किसान रामइकलाल यादव भने जेजस्तो र जसरी आएको भए पनि भारतबाट भित्रिएको मलले सीमा क्षेत्रका किसानको खेती चलेको बताउनुहुन्छ । ‘कमसल नै भए पनि किसानले प्रयोग गर्न पाएका छन्’, उहाँले भन्नुभयो– ‘त्यो पनि नभइदिएको भए खेती गर्न नपाएर किसानको बिचल्ली हुने थियो ।’ उहाँले सरकारको नालायकीपनले चाहिएको बेलामा मल नपाएर नेपालका किसान सधैं समस्यामा पर्नेगरेको बताउनुभयो ।

जिल्लाको कलैया, कोल्हबी, सिम्रौनगढ, कचोर्वा, पिपरपाती, कबहीगोड, मटिअर्वा, मुसहर्नालगायतका नाकाबाट दैनिक ठूलो परिमाणमा मल नेपाल भित्रिने गरेको बताइएको छ । कारोबारीले सीमा क्षेत्रमा खटिएका नेपाल तथा भारतका सुरक्षाकर्मीलाई समेत रकम दिएर मिलाएको र कारोबार चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्