आगो तापेर रात कटाउँछन् मासखर्कका चेपाङ



धादिङ । अति गरिब चेपाङ समुदायको मात्र बसोबास भएको क्षेत्र बेनिघाट रोराङ गाउँपालिका वडानम्बर २ को मासखर्क । पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा सबैका घरमा समस्या छन् । आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने समुदायको बसोबास भएको मासखर्क अभावले घेरिएको भए पनि गाउँमा विद्यालय भने सञ्चालनमा रहेको छ ।

ज्याला मजदुरी पाइएको समय पेटभरि खान र बचत भएको पैसाले कपडा किन्ने गरेका चेपाङ समुदाय वषौंदेखि अभाव र गरिबीबाट माथि उठ्न सकेका छैनन् ।

आमाले घर छाडेर हिँडेपछि बाबुले दोस्रो विवाह गरेका कारण वृद्ध हजुरआमाकोमा आश्रय लिएर बसिरहेका १० वर्षीया शान्ति चेपाङ, ८ वर्षीय सुशील चेपाङ र ६ वर्षीय इशाख चेपाङ न्यानो लुगाको अभावमा दाउरा बालेर रात काट्न बाध्य छन् । दिउँसो घाम लाग्छ । जब राति पर्छ दिउँसो जम्मा गरिएको दाउरा बालेर रात कटाउनु उनीहरूको दैनिकी हो ।

यो चेपाङ परिवारको मात्र होइन यस क्षेत्रका ४२ घर चेपाङ परिवारको न्यानो कपडा अभावमा आगो तापेर रात कटाउनुपर्ने अवस्था छ । एउटा चेपाङ परिवार मात्र होइन । यस क्षेत्रमा सबै चेपाङ समुदायको अवस्था उस्तै छ । खाना खानकै लागि समस्या छ भने लगाउने कपडा अभावमा आगो बालेर रात कटाउनुपर्ने अवस्थामा रहेको स्थानीय कृष्णबहादुर चेपाङ बताउनुहुन्छ ।

पञ्चकन्या आधारभूत विद्यालयमा यस वर्ष भर्ना भएका ६९ जना विद्यार्थी सबैको समस्या खाना र नाना रहेको विद्यालयका शिक्षक श्री चेपाङले बताउनुभयो । विद्यालय खाजा लागू भएपछि विद्यार्थीहरू गाउँमा नबसी सबै विद्यालय आउँछन् । आधा जति विद्यार्थी त बिहान खाना नखाई विद्यालय आउने र खाजाको भरमा गुजारा गरिरहेको आफूले देखेको शिक्षक चेपाङको भनाइ छ । तर लगाउने लुगा अभाव भने सबैलाई रहेको छ ।

स्थानीय सरकारले गरिबी हटाउन काम गर्ने भनेर भोट मागेर निर्वाचित भएको दोस्रो कार्यकालसमेत सुरु भइसकेको छ तर चेपाङ समुदायका लागि खास योजना ल्याउन नसकेर तथा ग्रामीण क्षेत्रको अवस्थामा परिवर्तन आउन नसकेको मासखर्कका कृष्ण चेपाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्