सभामुखमा १६७ मतसहित घिमिरे निर्वाचित

उपसभामुख चयन प्रक्रिया अगाडि बढ्यो



काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा १६७ मतसहित देवराज घिमिरे निर्वाचित हुनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे निर्वाचित हुनु भएको हो ।

सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र नेपाली कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिनुभएको थियो । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा १६७ मत परेको थियो भने विपक्षमा १ सय मत मात्र परेको थियो । कसैलाई पनि मत दिन्न भन्नेमा एक मत परेको थियो ।

प्रतिनिधिसभाको बैठकमा १६७ मत पाएसँगै घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा बैठकको अध्यक्षता गरिरहेका पशुपतिशमशेर राणाले सदनलाई जानकारी गराउनुभएको थियो ।

सभामुखमा निर्वाचित घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र ३ स्वतन्त्र सांसदले समर्थन गरेका थिए । नेपाली कांग्रेसको तर्फबाट सभामुखको उम्मेदवार बनेकी न्यौपानेले १ सय मत पाउनुभएको थियो । उहाँलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो ।

संसद्मा प्रतिनिधित्व गरेको नेपाल मजदुर किसान पार्टीले भने कसैलाई पनि समर्थन नगरेर विपक्षमा मतदान गरेको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा ५ सांसद भने अनुपस्थित रहेका थिए । संघीय संसद् सचिवालयका अनुसार सभामुख चयन प्रक्रियामा सहभागी नहुने सांसदहरू वर्षमान पुन, विनाकुमारी थनेत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी रहेका छन् ।

सभामुख चयन प्रक्रियामा भाग लिएका विभिन्न दलका नेताहरूले एकले अर्कालाई घोचपेच गर्न समय खर्चेका थिए । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई अहिलेको गठबन्धनका विरुद्ध नलाग्न र राजकीय पद पाइन्छ कि भन्दै ढोक्सा नथाप्न आग्रह गर्नुभएको थियो ।

बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलको तर्फबाट सभामुख उम्मेदवार न्यौपानेको पक्षमा मत माग्ने क्रममा ओलीप्रति कटाक्ष गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पिँजडामा कैद गरेको आरोप लगाउँदै आउँदो राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस ढोक्सा थाप्ने र सफल हुने दाबी गर्नुभएको थियो । उहाँले यसपटकको निर्वाचनमा जनताले सबैभन्दा ठूलो दलको रूपमा नेपाली कांग्रेसलाई मत दिएको भन्दै प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिमध्ये एक लिनु भन्ने जनादेश भएकाले आउँदो राष्ट्रपति निर्वाचनमा आफूहरू सफल हुने दाबी गर्नुभएको थियो ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सत्तारुढ दलको रवैयाका कारण छातीमा ढुंगा राखेर नेपाली कांग्रेसको सभामुखका उम्मेदवारलाई समर्थन गर्नुपरेको बताउनुभएको थियो । सभामुखमा निर्वाचित भएपछि घिमिरेले संसद्लाई निष्पक्ष रूपमा सञ्चालन गर्ने दाबी गर्नुभएको छ । उहाँले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै संसद्को गरिमालाई आँच आउने काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

को हुन् घिमिरे ?

प्रतिनिधिसभाको सभामुखमा झापा अर्जुनधारा–६ का देवराज घिमिरे निर्वाचित हुनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिनुभएको थियो ।

२०१३ साल जेठ १३ गते सिरिजंघा गाउँपालिका–३ सिकैचा, ताप्लेजुङमा जन्मनुभएको थियो । उहाँ हाल झापाको अर्जुनधारा नगरपालिका–६, मा बसोेबास गर्दै आउनुभएको छ ।

निम्न मध्ममवर्गीय परिवारमा जन्मेका घिमिरेले गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुआत गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट २०२९ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । उहाँले धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातक गर्नुभएको थियो ।

राजनीतिमा प्रवेश

२०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (कोके) गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिनुभएको थियो । २०३३ सालमा आफ्नो शिक्षालाई थाँती राखेर गाउँगाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो ।

राजनीतिक जिम्मेवारी

२०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले २०३५ साल पुस ११ गते कम्युनिस्ट घटकहरू मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख, २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरणपछि सम्पन्न नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य, २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज हुनुभएको थियो ।

२०५८ सालमा केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज हुनुभएको थियो । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज हुनुभएको थियो ।

२०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष, २०७८ सालमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेशनम्बर १ इन्चार्ज हुनुभएको थियो । घिमिरे २०५६ सालमा राष्ट्रिय सभा सदस्य,२०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उपसभामुख चयन प्रक्रिया अगाडि बढ्यो

प्रतिनिधिसभाको सभामुख चयन भएसँगै उपसभामुख चयन प्रक्रिया अगाडि बढेको छ । शनिबार बस्ने बैठकले उपसभामुख चयन गर्ने भएको छ ।

बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिनुभएको छ ।

साथै उहाँले प्रतिनिधिसभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ । उपसभामुख पदका सत्ता पक्ष र विपक्षी दलले कसलाई उठाउने भन्ने टुंगो लगाइसकेको छैन । तर सत्ता पक्षले सोविता गौतमलाई उपसभामुखमा उठाउने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्