उपचार अभावले अपाङ्गताको जीवन बिताउँदै एउटै टोलका चार दलित



राजविराज ।

फोटो नं १

केही समयअघि पक्षघातले थला पारेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाँटी मुसहर टोलका ६१ वर्षीय मिहिलाल सदा बिचल्लीमा पर्नुभएको छ । आर्थिक अवस्था निकै कमजोर रहेको उहाँको शरीरको बायाँ भाग पूरै नचल्ने भएपछि ७ महिनादेखि ओछ्यानमै थला पर्नुभएको हो ।

‘गत असारतिरै अचानक शरीरको बायाँ भाग चल्नै छोड्यो, आफू र छोराले मजदुरी गरेर जसोतसो परिवार धान्दै आएका थिए’, उहाँले भन्नुभयो– ‘उपचारका लागि पैसा नभए पनि बाँच्ने रहर चाहिँ छ, त्यो बेला भएभरको सम्पत्ति एउटा गाई र एउटा बाख्रा बेचेँ अनि थोरै ऋण पनि काडेर उपचारमा लागेँ तर त्यो एक लाखजति रुपियाँले पुगेन ।’

उपचार गराउन नसकेपछि पछिल्लो ७ महिनादेखि अरूकै सहाराले शौचालयसम्म पुग्नुपर्ने बाध्यता झेल्दै आएको उहाँको दुखेसो छ । ‘गरिबीले बुढेसकालमा सतायो, पैसा भएको भए यसरी मर्नुसरह बाँच्नु पर्दैनथ्यो’, उहाँले भन्नुभयो– ‘गरिब र त्यसमाथि दलित कसैबाट पनि कुनै सहयोग छैन ।’

अहिले मिहिलाललाई उहाँकी पत्नी ६० वर्षीया भुल्कन सदाले हेरचार गर्दै आउनुभएको छ । ‘ऊ बेलादेखि नै उहाँलाई बच्चाजस्तै २४ सौं घण्टा हेरचार गर्दै आइरहेकी छु’ उहाँले भन्नुभयो, ‘ओछ्यानबाट उठ्न नसकेकाले खाना खुवाउनेदेखि शौच गर्नसम्म पनि सहारा नै दिनुपर्छ ।’

फोटो नं २
भैंसीबाट लडेपछि लौरोको सहारा
गरिबीले पिरोलेको अर्का पात्र हुनुहुन्छ सोही टोलका ७० वर्षीय खुसीलाल सदा । स्थानीय प्रभाकर यादवकोमा दैनिक ज्याला मजदुरीमा काम गरिरहँदाको बेला गत असोज १ गते भैंसी चराउँदै गर्दा लडेर खुसीलालको ढाडको हड्डी भाँचियो । ‘मालिक (प्रभाकर) ले त्यो बेला १० हजार रुपियाँको उपचार गराइदिनुभएको थियो तर निको हुन सकेन’, उहाँले भन्नुभयो– ‘त्यसपछि उपचार गराउने इच्छा रहँदारहँदै पनि पैसा नहुँदा त्यो सम्भव भएन, अझै दुखिरहँदा पनि जसोतसो लाठी (लौरो) को सहारामा सामान्य हिँडडुल गर्दै आएको छु ।’

ऐलानी जग्गामै झुपडीमा बसोबास गर्दै आएका दुई छोराका पिता खुसीलालको परिवार पनि मजदुरी गर्दै गुजारा चलाउँदै आएको छ । ‘छोराको मजदुरीबाट आउने पैसा नै पारिवारिक मुख्य आयस्रोत हो, त्यसैले छाक टार्दै आइरहेका छौं’, उहाँले भन्नुभयो– ‘कुनै कुनै दिन त मजदुरी पाइएन भने छाक टार्न मुस्किल पर्छ ।’

फोटो नं ३
दुखाइमा मलम लगाइदिने कोही छैन
सोही टोलकी ६४ वर्षीया सोमनी देवी सदाको पीडा पनि फरक छैन । गत पुसमा गाउँपालिका कार्यालयबाट घर फर्किंदै गरेकी सोमनी गाडीबाट लड्दा खुट्टामा चोट लागेर घाइते हुनुभयो । त्यति बेला दुखाइ कमै भएको र पछि दुखाइ बढ्दै उहाँले बताउनुभयो । ‘गाउँकै डाक्टरबाट केही उपचार पनि गराएकै हो, ट्याब्लेट र मलम दिनुभएको थियो’ –उहाँले भन्नुभयो ।
निको नभएपछि एक्स–रे गराएँ र खुट्टाको हड्डी फ्याक्चर भएको भनेर डाक्टरले बताए पनि पैसा अभावले प्लास्टर गराउन नसकिएको उहाँको दुखेसो छ । उहाँले भारतको पञ्जावमा रहेको छोराले मजदुरी गरेर आएको थोरै पैसाले नाति–नातिनीको पेट भर्दै आएको तथा उपचारका लागि पैसा नपुगेको बताउनुभयो । ‘गरिबका लागि को छ र ? भोट लिने बेला मात्रै हाम्रो खोजी हुन्छ अनि जितेर गएपछि कहिले फर्केर आउँदैनन्’, उहाँले भन्नुभयो– ‘के गरौं, कसलाई भनौं, दुखाइमा मलम लगाइदिने कोही छैन दलित गरिबका लागि ।’

फोटो नं ४
दुखाइले रातभरि निद्रा लाग्दैन
आफ्नै आँगनमा लडेर ढाडमा समस्या देखिएपछि ७० वर्षीया सबुत्रीदेवी सदा पनि उपचार नपाएर अपाङ्गताको जीवन बाँच्न बाध्य हुनुभएको छ । ‘५ वर्षअघि लडेर ढाडमा समस्या भयो, पहिलो वर्ष त गाउँमै सुई लगाउँदै दुखाइ थामथुम गरिरहँे, दुखाइ सहन नसकेपछि गाई बेचेर उपचारका लागि विराटनगर पुगँे तर अप्रेसन गर्नुपर्छ भनेर डाक्टर साबले भन्नुभयो’, उहाँले भन्नुभयो– ‘गुजारा चलाउनै हम्मेहम्मे भइरहेको छ, २–३ लाख रुपियाँ तिरेर अप्रेसन गराउनै सकिएन ।’ ‘कहिलेकाहीँ दुखाइले रातभरि निद्रा लाग्दैन तर उपचार गराउने विकल्प नै छैन, अब त दुखाइको बानी परिसकेको छ’ – उहाँको दुखेसो थियो । उहाँको पनि छोरा पञ्जाबमै मजदुरी गरेर परिवार धान्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्