एकै घरका चार बालबालिकामा दादुरा



बाँके । 

नेपालगञ्जमा एकै घरका चार जना बालबालिकामा दादुरा देखिएको छ । एकै घरका पाँच जना बालबालिकाको ‘स्याम्पल’ काठमाडौं पठाइएकोमा चार जनामा दादुरा पुष्टि भएको हो ।

नेपालगञ्जको फुल्टेक्रामा ५ देखि १२ वर्ष उमेरका तीन बालिका र एक जना बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिनुभयो । त्यही टोलमा १७ जना शंकास्पद भेटिएका छन् ।स्वास्थ्यकर्मीका अनुसार, दादुरा भाइरसबाट सर्ने खतरनाक सरुवा रोग हो । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वास तथा हाछ्यु गर्दा सर्दछ । दादुराको कारणबाट निमोनिया, झाडापखाला, कुपोषण भई शिशुको मृत्यु हुने गर्दछ ।

फुल्टेक्रामा दादुरा देखिएपछि स्वास्थ्यकर्मीको दौडधुप बढेको छ । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य कार्यालय, बाँके र नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी नियन्त्रणको प्रयासमा लागेका छन् ।नेपालमा वर्षौंदेखि दादुराको खोप लगाउने गरिएको छ । अहिले दादुरा देखिएका बालबालिकाले उक्त खोप नलगाएको पाइएको छ ।

नेपालगञ्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ । सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई दादुराको खोप लगाउने गर्दछ, ९ महिना र १५ महिना उमेरमा । १५ महिनाभित्र खोप लगाउन छुटेका बालबालिकालाई ५ वर्षभित्र पनि खोप लगाउने गरिन्छ । नेपालगञ्जको दादुराको कभरेज ९० प्रतिशत छ । यो कभरेजको प्रतिशत बढी भए पनि खासमा यहाँका स्थानीय बासिन्दाका बालबालिकाले खोप लगाएको पाइँदैन । बाहिरबाट यहाँ बसोबास गरेका अन्य समुदायका बालबालिकाले खोप लगाउँछन् ।

नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने उद्घोष गरेको छ । निवारण भन्नाले दश हजारमा एक जनाभन्दा कम रोगी देखिनु हो ।नेपालगञ्जमा ८-९ वर्षको फरकमा दादुरा देखिने गरेको छ । मधेसी र मुस्लिम समुदायका बालबालिकामा खोपको कभरेज कम हुँदा बेलाबेलामा दादुरा देखा पर्ने गरेको सम्बद्धहरू बताउँछन् । अहिले चार जनालाई दादुरा देखिएको ठाउँमा शिक्षकलाई समेत दादुरा देखिएर निको भएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनले एउटा टोल वा बस्तीमा चार हप्ताभित्र पाँच जनाभन्दा बढीलाई दादुरा देखिएमा महामारीको रूपमा लिने गर्दछ । यस हिसाबले एकै घरमा चार जनालाई पुष्टि भएको र आसपासका १७ जनामा लक्षण देखिएकाले त्यहाँ दादुराको महामारी फैलिएको भन्न सकिन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार, दादुरा सबै उमेरका मानिसमा लाग्न सक्छ । तर, बच्चालाई यसले बढी असर गर्दछ । यो रोग खोप नलगाएको बच्चामा सजिलै र छिट्टै सर्दछ । दादुरा देखिएका वडा नं. ७, फुल्टेक्रामा जनेचतनामूलक गतिविधि बढाइएको छ । मंगलबार स्वास्थ्यकर्मीले त्यहाँका स्थानीयसँग छलफल गरेका छन् । त्यसलगत्तै नेपालगञ्ज उपमहानगरपालिकामा अब कसरी जाने भन्ने विषयमा बैठक बसेको छ ।

प्रतिक्रिया दिनुहोस्