नागार्जुनमा जिप सफारी राजधानीमै रोमाञ्चक सवारी



काठमाडौं । 

नेपालको प्रमुख आयआर्जन गर्ने माध्यमको रूपमा लिने गरिएको छ, पर्यटन क्षेत्रलाई । तर, राज्यले पर्यटनको क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन ।

राजधानी उपत्यकावरिपरि रहेका पर्यटनको सम्भावना बोकेका क्षेत्रको पहिचान गरी त्यसलाई प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई नै राजधानीमा केही दिन मनोरञ्जन दिन सकिने सम्भावना रहेका छन् । नेपालको पहिलो संरक्षण क्षेत्रको रूपमा रहेको शिवपुरी जलाधार तथा संरक्षण क्षेत्र भनेर सन् १९७६ मा राज्यले घोषणा गरेको थियो ।

राज्यले संरक्षण क्षेत्र भनेर घोषणा गरे पनि यसको उचित संरक्षण हुन नसक्दा विश्व समुदायबाट नै यो क्षेत्र ओझेलमा परेको थियो । राजधानीको कोलाहलबाट मुक्त पाउन यो क्षेत्र उचित देखिन्छ तर यसको प्रचारप्रसार हुन नसक्दा र यसको सदुपयोग गर्न नसक्दा राजधानीवासी नै सो क्षेत्रको बारेमा जानकार छैनन् ।

यस क्षेत्रको संरक्षणको इतिहास हेर्दा सन् १९७६ मा जलाधार संरक्षण क्षेत्रको रूपमा शिवपुरी जलाधार संरक्षण बोर्डद्वारा संरक्षण शुरू गरी सन् १९७८ मा शिवपुरी संरक्षित जलाधार क्षेत्र घोषणा गरिएको थियो ।त्यसै गरी सन् १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो भने सन् २००२ मा यसलाई शिवपुरी राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । काठमाडौंको उत्तरी किनारामा पर्ने यस निकुञ्जको क्षेत्रफल १५९ वर्ग कि.मि (शिवपुरी १४४, नागार्जुन १५) रहेको छ । निकुञ्जले काठमाडौं, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकको भूभाग ओगटेको छ ।

नागार्जुन वनक्षेत्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको निजी वनको रूपमा रहेको थियो । यहाँ राजाले गर्मी महिनामा सपरिवार समय बिताउने गर्दथे । अहिले सोही क्षेत्रका स्थानीयले नागार्जुन क्षेत्रलाई पर्यटकीय हब बनाउने काम शुरू गरेका छन् । स्थानीय पर्यटन व्यवसायी सीताराम रेग्मीको समूहले नागार्जुनमा जिप सफारी सुरुवात गरेको छ ।
राजधानीबाट केही किलोमिटरको दूरीमा रहेको यस क्षेत्रमा जिप सफारीको सुरुवात गर्ने सोच रेग्मीले केही वर्षअघिबाट नै गर्नुभएको थियो । राष्ट्रिय निकुञ्जभित्र जिप सफारी गर्न विभिन्न नियम कानुन बाधक हुने नै भए । सरकारसँगको लामो सहकार्य पछि रेग्मीको योजनाले साकार रूप लिएको छ ।

रानीवनको फूलबारी गेटबाट शुरू हुने जिप सफारी राजधानी उपत्यकालाई नजिकबाट नियाल्दै हिन्दु र बौद्ध धर्मको संगमस्थल जामाचोसम्म पुगेपछि त्यहाँबाट राजधानीलाई नियाल्दै जिप सफारी अघि बढ्छ । नेपालका प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले मुलुक चलाउन बनाएको पहिलो ऐन नै सो क्षेत्रमा बसेर लेखेको भएकाले त्यसलाई ऐनडाँडा भनेर नामकरण गरिएको क्षेत्र हुँदै धादिङको धुनिबेंसी नगरपालिका–१ बाट काठमाडौंको मुड्खु आएर यात्रा अन्त्य हुन्छ ।

करिब ३६ किलोमिटर जिप सफारीको बाटो तय गरिएको छ । तारकेश्वर नगरपालिका–४ फूलवारी गेटबाट शुरू हुने यात्रा मुड्खु भञ्ज्याङ आएर अन्त्य हुन्छ । राष्ट्रिय निकुञ्जका रूपमा परिभाषित यस निकुञ्जले उपत्यकाको दूषित हावा सोसेर स्वच्छ हावा उत्सर्जन, खानेपानी र भूमिगत जलभण्डार सिञ्चन, कृषि भूमिमा सिँचाइ गर्नुले काठमाडौंसँगको सम्बन्ध अत्यन्त गहिरो मानिन्छ ।

पर्यटन व्यवसायी रेग्मीले नागार्जुन जामाचो जिप सफारी प्रालिमार्फत सन् २०२३ को पहिलो दिनबाट औपचारिक रूपमा जिप सफारी शुरू गर्नुभएको छ । उहाँलाई साथ दिनुभएको छ तारकेश्वर नगरपालिकाकी पूर्वउपमेयर भवानी डोटेलले । आफू उपमेयर भएर आएदेखि नै यस क्षेत्रलाई केही न केही गरेर देखाउने अठोट गरेकी डोटेलले अहिले आएर आफ्नो योजनाले साकार रूप लिएकोमा खुसी व्यक्त गर्नुभयो ।

वनको किसिम धरातलीय अवस्थितिले अध्ययन गर्दा यो निकुञ्ज क्षेत्रमा ४ किसिमका वनहरू पर्छन् । पहिलो, निकुञ्जको तल्लो मिश्रित चौडापाते वन १३५० मिटरदेखि १५०० मिटरको उचाइमा अवस्थित छ । जसमा पाइने मुख्य रुखहरूमा चिलाउने, ढाले कटुस, उत्तीस, काफल, मेल, शिरीष, चुनी आदि रहेका छन् भने दोस्रो, निकुञ्जको १३५० मिटरदेखि १६०० मिटरसम्मको उचाइमा खोटेसल्लो वन अवस्थित छ ।

सो क्षेत्रमा खोटेरानी सल्लो, मुसुरेकटुस, काफल, मेललगायतका वनस्पती पाइन्छन् । तेस्रो, निकुञ्जको उपल्लो मिश्रित चौडापाते वन १५०० मिटरदेखि २७०० मिटरको उचाइमा अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका रूखमा पांगर, फिरफिरे, ओखर, लाकुरी, वैंस, कसुर, अर्खौलो आदि छन् । र, चौथो निकुञ्जका २३०० मिटरदेखि २५०० मिटरसम्मको उचाइमा खस्रु, झिँगाने, बाँझ, लिसो र १२५० प्रजातिका वनस्पति पाइन्छन् जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति छन् ।

यस निकुञ्जमा २२ भन्दा बढी जातिका स्तनधारी जनावरको बसोबास रहेको छ । जसमध्ये संरक्षित ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालकजस्ता वन्यजन्तु प्रमुख रहेका छन् । निकुञ्जमा करिब ३११ प्रजातिका चराचुरुङ्गी तथा पंक्षीहरू पाइन्छन् । जसमध्ये १७७ प्रजातिका बसाइँसराइ गर्ने पंक्षीहरू यहाँ पाइन्छन् । यसै गरी निकुञ्जमा करिब १०२ प्रजातिका पुतलीहरू पनि पाइन्छन् ।करिब ४ घन्टाको जिप सफारीमा प्रतिव्यक्ति १ हजार २ सय रुपियाँमा जिप सफारी गराउने गरी व्यवस्था गरिएको पनि नागार्जुन जामाचो जिप सफारीका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्