चार दशकपछि आकाश छोयो पोखरेलीको सपनाले

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा



पोखरा । 

पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ सँगै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । पोखरा–१४ मा रहेको विमानस्थलको औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो ।

पोखरामा चार दशक अघिदेखि नै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहल भएको थियो । विमानस्थलका लागि जग्गा अतिक्रमण गरिए पनि काम भने हुन सकेको थिएन । २०३४ सालदेखि जग्गा अधिग्रहण गरे पनि लामो समयसम्म काम अघि बढ्न सकेको थिएन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले २०६८ चैत ११ गते विज्ञप्ति प्रकाशन गर्दै संघर्षका कार्यक्रम गरेको थियो । २०६९ सालमा २ हजार ४ सय २ जनाद्वारा रिले अनसन गरिएको थियो ।

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको थियो । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सीएमसीईलाई दिइयो । चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा २२ अर्ब रुपियाँको लागतमा विमानस्थलको निर्माण भएको हो । विमानस्थल करिब ३ हजार ७०० रोपनी क्षेत्रफलमा निर्माण भएको छ ।

विमानस्थलमा न्यारोबडी एयर बस ३२० र बोइङ ७३५ जहाज उडान र अवतरण गर्न सकिन्छ । विमानस्थलमा ३ ठूला र ८ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ । धावन मार्ग २ हजार ५ सय मिटर रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन् ।

अब निजगढमा पनि विमानस्थल: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष आग्रह गर्नुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनको लगानीका ठूला परियोजनाले नेपाली युवाहरूको रोजगारी र समृद्धिको आकांक्षा पूरा हुने बताउनुभयो ।

‘अहिले चीनले नाकाहरू खोल्ने र रेलवे निर्माणका लागि सर्वे प्रक्रिया अघि बढाएको छ । अन्य ठूला परियोजना अघि बढेको छ’, प्रचण्डले भन्नुभयो– ‘म चीन सरकारसँग अपिल गर्न चाहन्छु यसलाई गति दिएर सम्पन्न गरेर नेपाली युवाहरूका लागि रोजगारी सिर्जना गर्ने र नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्ने सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु ।’प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा अब पोखरा धेरै राष्ट्रसँग सीधै सम्पर्क गर्ने केन्द्र बनेको बताउँदै यसले कास्की, गण्डकी प्रदेश र नेपालकै अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने सुनिश्चित भएको सुनाउनुभयो ।

प्रचण्डले कार्यक्रममा सरकारले अब चौथो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया शुरू गर्न लागेको समेत जानकारी गराउनुभयो । ‘तपाईंहरूलाई थाहा छ । गण्डकी प्रदेशकै गोरखा जिल्लाबाट चुनाव जितेर तपाईंहरूको आशीर्वादले प्रधानमन्त्री भएँ,’ उहाँले भन्नुभयो– ‘आर्थिक विकास गर्न विमानस्थल आवश्यक रहेकाले अब छिट्टै निजगढ विमानस्थल निर्माणका काम अगाडि बढ्छ ।’

विमानस्थल निर्माणको प्रक्रियामा जग्गा अधिग्रहण गर्ने शंकरराज पाठक आफ्नो गुरु भएको प्रचण्डले बताउनुभयो । प्रचण्डले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकाल आर्थिक विकास र समृद्धि, सामाजिक न्याय र सुशासनका निमित्त रहेको सुनाउनुभयो ।यसैबीच नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्रमा समस्या रहेको र यसको समाधान गर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रबारे धेरै टीकाटिप्पणी आउने गरे पनि सरकारले त्यसतर्फ काम गरिरहेको र चाँडै समाधान हुनेसमेत बताउनुभयो । ‘हामो अर्थतन्त्रमा समस्या छ तर परिस्थिति हाम्रो काबु बाहिर छैन । यसको समाधान गरेर छिट्टै देशलाई अर्थिक विकासमा लैजान्छौं ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्नुभएको हो । मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताउनुभयो । विमानस्थलबाट पहिलो चरणमा दक्षिण एसिया र दोस्रो चरणमा पश्चिमी देशमा हवाई उडान हुनुपर्ने उहाँको भनाइ छ । विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको संख्या उल्लेख्य मात्रामा बढ्ने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।

विमानस्थल सञ्चालनमा आएसँगै आन्तरिक उडानसमेत शुरू भएको छ । अब पोखराबाट हुने सबै उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछ । हाल सञ्चालनमा आइरहेको पोखरा विमानस्थललाई पोखरा टावरको रूपमा राखिएको छ । अब आन्तरिक उडानसमेत नयाँ विमानस्थलबाट हुने भएपछि पुरानो विमास्थललाई नयाँ विमानस्थलको टावरको रूपमा प्रयोग गरिएको हो ।

‘प्राविधिक भनाइमा अब डोमेस्टिक विमानस्थल (पुरानो) फेला टावरको रूपमा रहन्छ अर्थात अब पोखरा टावर भनी नामाकरण गरिएको छ । त्यहाँबाट अब दूरी र दिशा देखाउने काम हुनेछ । तर, मनाङ, मुस्ताङको लागिसमेत सोही विमास्थल सञ्चालनमा आउने छ । त्योबाहेक उक्त विमास्थललाई प्रशिक्षण स्थलको हब बनाउने तयारीसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्