कम्युनिस्ट गठबन्धनमा बल थपिँदै, कांग्रेस खुम्चिँदै



काठमाडौं । 

पुरानो गठबन्धन दलका नेताहरू एकाएक नयाँ समीकरणको सरकारप्रति सकारात्मक देखिएसँगै नेपाली कांग्रेस एक्लो हुँदै गएको छ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेस आगामी संसद्मा एक्लो प्रतिपक्षी दल बन्ने सम्भावना बढेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी सहितको कम्युनिस्ट गठबन्धनमा बल थपिँदै गर्दा नेपाली कांग्रेससँग रहेका साना दलहरू गुमनाम भइसकेको पत्रकार एवं विश्लेषक चिरञ्जीवी अर्यालले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कम्युनिस्टहरू बिस्तारै फेरि एक ठाउँ आउँदै गर्दा कांग्रेसभित्र साविकको गठबन्धन तोडिएको विषयलाई लिएर आन्तरिक भाँडभैलो शुरू भएको छ । यसले उक्त दललाई घाटा गर्दछ ।’

नेपालको राजनीतिमा विगत पाँच वर्षयता गठबन्धन संस्कृति मौलाउँदै गएकाले दलहरूबीच वैचारिक दृष्टिकोणमा तात्विक फरक नदेखिएको उहाँको भनाइ छ । चुनावअघि हुने दलहरूबीचको गठबन्धनले बहुदलीय लोकतन्त्रमा कसको शक्ति कति छ भन्ने यकिन गर्न नसकिने टिप्पणी गर्दै अर्यालले भन्नुभयो– ‘चुनावअघि गरिने गठबन्धनको अभ्यासले राजनीतिमा सकारात्मक सन्देश दिएन । अहिले कांग्रेसभित्र देखिएको समस्याको जड पनि त्यही नै हो ।’

कुनै राजनीतिक दलहरूलाई सरकार बनाउन जनताले बहुमत दिन छाडेपछि दलहरूबीच गठबन्धनको संस्कृति शुरू भएको हो । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनदेखि दलहरूबीच चुनावी गठबन्धन गर्ने अभ्यासले प्राथमिकता पाउँदै आएको छ । तर, ती गठबन्धनहरू चुनावपछिको शक्ति बाँडफाँटमा आइपुग्दासम्म तोडिँदै आएका छन् ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री हुनुभएका प्रचण्डले नयाँ र पुराना दुवै गठबन्धनलाई जोड्न पहल थाल्नुभएको छ । नयाँ पुराना गठबन्धन जोड्न प्रयास पहिलो चरणमा सफल भए पनि कालान्तरमा पुनः विग्रह आउनसक्ने खतरा पनि उत्तिकै छ । सरकारलाई बलियो बनाउन तत्कालीन नेकपामा सहभागी भएका नेकपा एकीकृत समाजवादी, वामदेव गौतम समूह, प्रभु साह समूहलाई जोड्ने प्रयास गरिएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।

‘तत्कालीन नेकपाका घटकहरूलाई एक बनाउने भन्ने छ । यसअघि कांग्रेस नेतृत्वमा सहभागी भएका एकीकृत समाजवादी र जनमोर्चालाई समेट्ने प्रयास छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन बलियो बनाउन नयाँ पुराना सबै जोडेर सरकारमा सहभागी गराउन प्रयास गरिने छ ।’ एमाले, माओवादीलगायत सात दलको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकीकृत समाजवादी र जनमोर्चा प्रचण्डले आफूहरूलाई नसोधी गठबन्धन तोडेको भन्दै चिढिएका छन् ।

तर, पछिल्लो समय सबै राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउँदै उनीहरूलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी गराउन प्रचण्डले प्रयास जारी राखेका उहाँको सचिवालयले जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि पाँच दलीय गठबन्धन तोड्दै आफूहरूलाई अलपत्र पारेर प्रचण्डले एमालेसँग नयाँ समीकरण गरेको प्रति असन्तुष्टि जनाउँदै आउनुभएको छ ।

तर, पछिल्लो समयमा प्रचण्डले नेपाललाई भेटेर सरकारमा सहभागी हुन गरेको आग्रहप्रति नेपाल सकारात्मक रहेको बताइएको छ ।वामदेव गौतम र प्रभु साह समूहसँग समेत छलफल भइरहेकाले चाँडै सत्ता गठबन्धनमा सहभागी हुने नेताहरूले विश्वास व्यक्त गरेका छन् ।

उता एकै दिनमा राज्यका दर्जनांै राजकीय पद गुमाउन पुगेको कांग्रेस भने प्रतिपक्षी बेन्चको एक्लो दल बन्ने अवस्थामा छ । संसद्को सबैभन्दा ठूलो दल भएर पनि राज्यका सबै पदहरू गुमाउन पुगेको उक्त दलभित्र पाँच दलीय गठबन्धन तोडिएपछि एकआपसमा आरोपप्रत्यारोप शुरू भएको छ ।

संसद्मा पहिलो दल बन्ने एमालेको कसरत

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन २०७९ मा दोस्रो पार्टी बनेको नेकपा एमाले संसद्मा पहिलो दल बन्ने कसरतमा लागेको छ । एमालेबाट चोइटिएर बनेको नेकपा (एकीकृत समाजवादी) र एमाले छाडेर स्वतन्त्र उम्मेदवारबाट जितेका नेताहरूलाई समेत एकीकरण गरेर पहिलो दल बन्ने कसरतमा लागेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग संवाद थालेको छ ।

उक्त दललाई एमालेमा समाहित गर्ने गरी आन्तरिक रूपमा छलफल अघि बढेको एमाले नेता विशाल भट्टराइले बताउनुभयो । ‘विगतका तिक्तता बिर्सेर अब कम्युनिस्ट पार्टी एकजुट भएर जानुपर्छ भन्ने बहस पार्टीभित्र शुरू भएको छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘एमालेबाट बाहिरिनुभएका कतिपय साथीहरू फेरि पुरानै घर फर्कने पनि भन्नुभएको हुँदा हामी अहिले छलफलमै छौं । माधव नेपालसहितका नेताहरूसँग साथीहरूको कुरा हुँदैछ । तर, उहाँहरूले अहिले सरकारमा मात्रै समर्थन गर्ने वा पार्टी एकता नै हुने भन्ने निष्कर्ष निस्किसकेको अवस्था छैन ।’

वार्ता समारात्मक ढंगले अघि बढ्ने संकेत देखिएकाले केही दिनमा अध्यक्ष ओली र नेपालबीच पनि छलफल हुने सम्भावना रहेको भट्टराईको भनाइ छ ।एमालेका नेताहरूले नेपाल निकटका नेताहरूसँग कुराकानी अघाडि बढाएका छन् । तर, नेपालले विगतको जस्तो धोका नहुने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीबाट विश्वासिलो आधार खोजेको बताइएको छ । एकीकृत समाजवादीका एक नेताले भने एमालेका नेताहरूसँग समसामयिक राजनीतिका विषयमा सामान्य कुराकानी भएको हो, तर तत्काल पार्टी एकीकरण नै गर्ने विषयमा कुनै पनि छलफल नभएको दाबी गरे ।

उनले भने– ‘हामीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल शुरू गरेकै हो । तर, एमालेसँगको पार्टी एकता नै गरेर जान कुरा अहिले आएको छैन ।’ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार नै भेटेर नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । एमाले र मााअ‍ेवादीसँगको सहकार्यलाई पुनः जोड्ने विषयमा माधव नेपालले सकारात्मक संकेत दिनुभएको नेताहरूले बताएका छन् ।

समानुपातिकका अन्य दलहरूभन्दा बढी मत ल्याए पनि प्रत्यक्षमा कांग्रेसभन्दा १३ सिट कम ल्याएर एमाले प्रतिनिधि सभामा दोस्रो ठूलो दल बनेको छ । उसले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सिट जितेको छ । एमालेको समानुपातिक र प्रत्यक्ष गरेर ७८ सिट छ । उता पहिलो दल बनेको नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट जितेको छ । एमालेको कांग्रेसको भन्दा ११ सिट कम छ ।

उता १० सिट भएको समाजवादी र एमालेबाटै फुटेर गएका केही स्वतन्त्र सांसदलाई पार्टीमा ल्याउनसके संसद्को ठूलो दल बन्ने एमालेको इच्छा रहेको नेताहरू बताउँछन् । एमालेलाई समाजवादीको १० सांसद संख्या थप्दा ८८ सिट पुग्छ । त्यसै गरी पहिला एमालेमै रहेका तर स्वतन्त्र उम्मेदवारी दिएर जितेका ३ जना पनि एमालेमै फर्किने नेताहरूले विश्वास व्यक्त गरेका छन् । ती ३ जना थपिँदा एमालेको ९१ सिट हुन्छ ।

समाजवादीका नेता कार्यकर्तालाई कसरी एमालेमा समाहित गर्ने भन्ने कुरा केही चुनौतीपूर्ण रहेको टिप्पणी गर्दै एकीकृत समाजवादीका एक नेताले भने– ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्षलगायतका पदहरूमा पनि पार्टी एकीकरण भएमा भागबण्डा हुन सक्छ ।’तर, एमाले अध्यक्ष ओलीनिकट एक नेताले भने एकीकृत समाजवादी पार्टीको हैसियतमा नरहेकाले एकीकरणभन्दा पनि विगतमा एमाले छोडेर गएकाले गल्ती कमजोरीलाई स्वीकार गरेर आए एमालेमा उनीहरूलाई स्थान रहेको बताए । ती नेताले भने– ‘विगतका कुराहरू समीक्षा गरिनुपर्छ, जसले फेरि त्यस्ता घटना नदोहोरिऊन् ।’

एमालेका नेताहरूले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पछिल्लो समय बाक्लै रूपमा भेट्न थालेका छन् । त्यसले पनि एमाले र समाजवादीबीच पार्टी एकीकरण हुने सम्भावनालाई नकार्न नसकिने राजनीतिक विश्लेषकहरूको भनाइ छ । राष्ट्रपति निर्वाचनअघि नै सबै कुरा टुंग्याउने गरी दुवै पक्षका नेताहरू लागेका बुझिएको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेपछि तत्कालीन पाँच दलीय गठबन्धन तोडेर दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु भएको हो ।

दाहाल प्रधानमन्त्री बनेपछि एमाले र समाजवादीका नेताहरूबी छलफलको वातावरण बनेको छ । करिव २ वर्षपछि यी नेताहरूबीच बोलचाल भएको हो । प्रधानमन्त्री प्रचण्डले सरकारलाई कसरी पूर्णता दिने र आगामी यात्रा कस्तो हिसाबले अघि बढाउने भन्ने विषयमा पछिल्लो समयमा माधव नेपाल र ओलीसँग सघन रूपमा छलफल गरिरहनुभएको छ । यसले कम्युनिस्ट एकतालाई बल पु¥याएको नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्