सम्भावित मन्त्रीको सूची बनाउने तयारीमा गठबन्धन दलहरू



काठमाडौं ।

सात दलीय सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका छन् । सोमबार ७ मन्त्रीसहित शपथ लिएका नव नियुक्त प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेलगायत नेताहरूले पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने गृहकार्य थालेका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सोमबार भएको भागबण्डाबारे सामान्य छलफलमा नेताहरूले मन्त्रालय दाबी गर्दा एमालेले १० देखि ११, माओवादी केन्द्रले ५ देखि ७, रास्वपाले ५, राप्रपाले ३, जनमत र नागरिक उन्मुक्तिले २-२ मन्त्रालयको दाबी गरेका थिए । तर, मंगलबारसम्मको सूचनाअनुसार राप्रपा र जसपा सरकारमा नजाने बुझिएकाले बाँकी दलहरूलाई बढी संख्यामा मन्त्रालय भाग पर्ने नेताहरूको भनाइ छ ।

यद्यपि, राप्रपा सरकारमा जाने वा नजाने भन्ने टुंगो बुधबार मात्र लाग्ने जानकारी दिँदै राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अहिले हामीले राजनीतिक स्थिरताका लागि सरकारलाई समर्थन मात्रै गरेका हौँ’, । सरकारमा सहभागिताको कुरा पार्टीकौ बुधबार बस्ने बैठकले निर्णय गर्छ । सरकारमा जाँदा हाम्रा एजेन्डाहरू कसरी लाने र नजाँदा सरकारलाई समर्थनसहित कसरी खबरदारी गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको छ ।’

त्यस्तै, जसपाले पनि केन्द्रीय कमिटिको बैठकबाट निर्णय गर्ने भनेपछि प्रधानमन्त्री प्रचण्ड कसलाई कति मन्त्रालय, प्रदेशलगायत अन्य राजकीय पदहरू दिने लिने भन्ने विषयमा निर्णयमा पुग्न सक्नुभएको छैन । जसपाको पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने ठोस निर्णय गर्ने तयारी गरेको बताइएको छ । राप्रपा र जसपा सरकारमा सहभागी नहुने हो भने सत्ताको नेतृत्व गरेको माओवादीले ७ देखि ९ मन्त्रालय पाउने पाउनेछ ।

२५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने संवैधानिक व्यवस्थाअनुसार पाँच दललाई मन्त्रालय भाग लगाउँदा नेकपा माओवादी केन्द्रले ७ देखि ८, एमालेले ८ देखि ९, रास्वपा ४ मन्त्रालय पाउने सम्भावना रहेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए । उनले भने– ‘राप्रपा र जसपा पनि सरकारमा आए भने मन्त्रालय घट्न सक्छ । यदि उनीहरू बाहिरै बसेर सरकारलाई समर्थन मात्रै गर्ने हो भने केही तलमाथि हुनसक्छ ।’सोमबार नै प्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ लिइसकेकाले अब १७ जनाले मात्रै मन्त्री बन्ने मौका पाउनेछन् ।

सरकारमा जानका लागि धेरै नेताहरू तयारी अवस्थामा रहेको जिकिर गर्दै एमालेका एक केन्द्रीय सदस्यले भने– ‘तर अध्यक्षको छनोटमा को पर्नुहुन्छ र कतिजनाले स्थान पाउँछन भन्ने यकिन छैन ।’ कांग्रेससहितको गठबन्धन तोडेर एमालेसँगको नयाँ गठबन्धनबाट माओवादी केन्द्रसहित सात दल र स्वतन्त्र सांसदले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका छन् । कतिपय स्वतन्त्र सांसदहरूलाई समेत मिलाउनुपर्ने भएकाले मन्त्री हुन चाहने नेताहरूको सूची लामो छ ।

माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रीको शपथ लिइसक्नुभएको छ भने अझै माओवादीबाट ७ जना मन्त्री बन्न सक्ने नेताहरूले बताए । एक माओवादी नेताले भने– ‘सबैको चित्त बुझाएपछि हामीले लिने हो । त्यसो हुँदा अब बढीमा ७ मन्त्री पार्टीबाट बन्ने अवस्था छ ।’ माओवादीबाट नयाँ गठबन्धनका सूत्रधार भएकाले मन्त्रीमा वर्षमान पुन पहिलो दाबेदार हुने नेताहरूको बुझाइ छ । तर, रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भइसकेका र पार्टीबाट पठाउने उपप्रधानमन्त्री समेत पठाइसकेकाले रवीभन्दा तल्लो वरीयतामा बसेर मन्त्री हुने की नहुने भन्ने अझै निर्णयमा पुगिनसकेको पुनको सचिवालयले जनाएको छ । पुन यसअघि तीनपटक मन्त्री भई सक्नुभएको नेता हो ।

यस्तै, पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेत पनि मन्त्री हुने सम्भावना छ । लगातार चारपटक सांसद र तीनपटक मन्त्री भएका बस्नेत चौथोपटक मन्त्री हुन खोज्नुभएको छ । माओवादीबाट मन्त्री हुने सूचीमा सांसद रेखा शर्मा पनि पर्नुभएको छ । दाङ २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्नुभएकी शर्माले एकपटक सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ । माओवादीबाट महिला नेतामध्येबाट शर्मा मात्रै निर्वाचित भएकाले उहाँ मन्त्री हुने सम्भावना बलियो रहेको श्रोतको दाबी छ । पार्टीले मन्त्री बनाएमा सरकार जाने प्रष्ट पार्दै उहाँले भन्नुभयो– ‘पार्टीले जिम्मेवारी दिएर पठाउँछ भने म जिम्मेवारी लिन तयार छु ।’

यस्तै, भोजपुरबाट निर्वाचित सुदन किराँती र मोरङ–४ बाट निर्वाचित अमनलाल मोदी मन्त्रीका प्रबल दाबेदार हुन् । किराँती र मोदी तीन–तीनपटक सांसद भईसकेका छन् । किराँती र मोदीले मन्त्री हुने अवसर नपाएकाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना बढी रहेको नेताहरूको भनाइ छ । प्रचण्ड प्रधानमन्त्री भएपछि किराँती जनजाति कोटा र मोदी मधेसी कोटबाट समेटिन सक्नेमा उहाँहरू विश्वस्त देखिनुभएको छ ।

यस्तै, माओवादी चुनाव चिह्न लिएर जितेका सर्लाही–२ का महिन्द्रराय यादव पनि मन्त्री हुनेमा लाइनमा हुनुहुन्छ । उता दोलखाबाट निर्वाचित गंगा कार्की, काभ्रे १ बाट निर्वाचित सूर्यमान दोङ, नुवाकोट १ बाट हितबहादुर तामाङसमेत मन्त्रीको सम्भावनाभित्रका सांसदहरू हुन ।त्यस्तै, सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले चार जना मन्त्री सरकारमा पठाइसकेको छ । उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा धनकुटाका राजेन्द्रकुमार राई, बाराकी ज्वालाकुमारी साह र बैतडीका दामोदर भण्डारीले बिना विभागीय मन्त्रीका रूपमा शपथ खाइसक्नुभएको छ ।

यी बाहेक एमालेले पर्वतका पदम गिरी, कास्कीका विद्या भट्टराई, सुनसरीका भगवती चौधरी, अर्घाखाँचीका टोपबहादुर रायमाझी, झापाका देवराज घिमिरे, धनुषाका रघुवीर महासेठ र रूपन्देहीका छविलाल विश्वकर्मालाई मन्त्री बनाउने सूचीमा राखेको छ । यीमध्ये एक जना सभामुख बन्नेछन् । जसमा छविलाल विश्वकर्माको सम्भावना बढी छ ।

यद्यपि, अध्यक्ष केपी शर्मा ओलीले क–कसलाई मन्त्री बनाउने भन्नेबारे केही शीर्ष नेतासँग सामान्य छलफल गरे पनि पार्टी कमिटीमा ठोस छलफल हुन बाँकी नै रहेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अध्यक्षले समय पनि पाउनुभएको छैन, अब बिस्तारै पार्टीमा पनि छलफल होला । सबै सत्ता साझेदार दललाई मिलाएर लैजानु नै अहिलेको महत्वपूर्ण काम हो ।’ एमाले अध्यक्ष ओलीले सकभर समानुपातिक सांसदलाई योपटक मन्त्री नबनाउने नीति लिएको श्रोतको दाबी छ । कठिन परिस्थितिमा भएको निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेर प्रमुख प्रतिस्पर्धीलाई हराउन सफलहरूलाई नै प्राथमिकता दिनुपर्छ भन्ने अध्यक्ष ओलीको भनाइ रहेको उहाँ निकट नेताहरूले बताएका छन् ।

त्यस्तै, रास्वपाका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा लागेको पाइएको छ । सो पार्टीबाट प्रत्यक्ष ७ र समानुपातिकमा १३ गरेर कुल २० सांसद छन् । जसमध्ये पार्टी सभापतिसमेत रहेका लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि अधिकांश सांसदले पार्टी सभापति एवं गृहमन्त्री लामिछानेलाई भेटेर मन्त्री बन्न लबिङ थालेको एक नेताले बताए । मन्त्रीको लाइनमा सांसदहरू तोसिमा कार्की, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, डीपी अर्याललगायत छन् । उक्त दलको भागमा कति मन्त्रालय आउने र कस–कसलाई मन्त्री मण्डलमा पठाउने निर्णय भई नसके पनि उल्लिखित नामहरूबाटै मन्त्री छनोट हुने रास्वपाका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्