चिकित्सक संघको निर्वाचन : पेशागत समावेशी समूहले सार्वजनिक गर्यो अवधारणा पत्र



काठमाडौँ। 

नेपाल चिकित्सक संघ (एनएएम) को नजिकिएको निर्वाचनका लागि पेशागत समावेशी समूहले अवधारणा पत्र सार्वजनिक गरेको छ । मंगलबार पेशागत समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवारी दिनुभएका डा. सन्तोष पौडेलले काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त गरिसकेका चिकित्सकलाई एक पटक सरकारी सेवामा अवसर दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल सरकारको दरबन्दी कम भएका कारण धेरै ठाउँमा चिकित्सक अभाव भएको बताउनुभयो । लाइसेन्स प्राप्त चिकित्सकहरु नै बेरोजगार बस्नु परिरहेको अवस्थामा भएकाले वैज्ञानिक तरिका अपनाउनुपर्ने बताउनुभयो । ‘नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका चिकित्सकले सरकारले तोकेको ठाउँमा गएर सेवा गर्छु भन्छन् भने कम्तीमा एक वर्षलाई भएपनि त्यो अवसर दिनुपर्छ,’ उहाँले भन्नुभयो । ‘यसले चिकित्सकलाई देश बुझ्ने अवसर पनि मिल्छ । यो अवधारणा लागु गर्न हामी सम्बन्धित निकायमा जोडदार रुपमा कुरा राख्नेछौं ।’ डा. पौडेलले ५ सय शैय्याका ७ वटा संघीय अस्पताल, २ सय शैय्याका ७ वटा प्रादेशिक अस्पताल, ५० शैय्याका ७७ (जिल्लाका) प्रादेशिक अस्पताल र ७ सय ५३ स्थानीय तहका आधारभूत अस्पताल र अन्य सरकारी अस्पताल तथा प्रतिष्ठानमा सरकारको नयाँ ओएनएमअनुसार १० हजारभन्दा बढी चिकित्सकलाई सरकारी रोजगारीमा लगाउन सकिने बताउनुभयो ।

उहाँले ७ एजेन्डा समेटिएको अवधारणा पत्रमा चिकित्सक एक भूमिका अनेक हुने भएकाले विशिष्टीकृत चिकित्सा सेवाका लागि छुट्टै चिकित्सा सेवा ऐन ल्याउन पहल गर्ने, पढाइमा सधैं अब्बल रहेका चिकित्सकलाई कमाइमा सबल बनाउन भूमिका खेल्ने, सबै चिकित्सकलाई रोजगारी: १० वर्षमा घर गाडी, वैज्ञानिक ड्युटी आवर, अनिवार्य फोर्स लिभ, एक स्वास्थ्य संस्था, एक चिकित्सक, चिकित्सा शिक्षा : सुधार र रोजगारीको अवसर र सङ्घीयता कार्यान्वयनको आधार: एनएमएमा संगठनात्मक सुधारलाई प्राथमिकतामा साथ अगाडि सारिएको बताउनुभयो ।

अवधारणा पत्र सार्वजनिक कार्यक्रममा उहाँले ७२ वर्षदेखि क्रियाशील संस्था भएपनि एनएमएको नेतृत्व डा. गोविन्द केसी आन्दोलन गर्दा मात्रै ब्युझ्ने नत्र सुत्ने गरेको आरोप लगाउनुभयो । डा. पौडेल अध्यक्ष रहेको पेशागत समावेशी मधेश प्रदेशको उपाध्यक्ष डा. महेश महासेठ, बागमती प्रदेश उपाध्यक्षमा डा. सन्जय ठाकुर, गण्डकी प्रदेश उपाध्यक्षमा डा. विकास गौचन र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा. निरज अर्यालले उम्मेदवारी दिनुभएको छ । यसै गरी, संघको प्रभावशाली पद मानिने महासचिवमा डा. रक्षा श्रेष्ठ उम्मेदवार छन् । त्यसैगरी, संघको ६ जना सदस्यहरुका लागि डा. स्मृति महत, डा. अभियान गौतम, डा. रामकृष्ण आचार्य, डा. पदम नेपाली, डा. रमेश श्रेष्ठ र डा. सुरेन्द्र यादव उम्मेदवार रहेका छन् ।

त्यसैगरी नेपाल चिकित्सक संघ (एनएएम) मा प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उमेदवार डा. अनिल कार्कीको मुल एजेन्डा स्वस्थ नेपालको लागि स्वस्थ नेपाली भन्ने रहेको छ । स्वास्थ्य सुरक्षा ऐनको लामो समय माग गरियो र लबिङकै आधारमा कानुन र पहिलाको हकमा केही हदसम्म सुधार भएको छ । अबको योजनामा कार्यान्वयन चुनौती छ । राजनीतिक वृत्त, गृह प्रशासनमा यो कानुन लागु हुनुपर्छ । कोभिड १९ जस्तो गम्भीर अवस्थामा पनि स्वास्थ्य सेवामा जनशक्तिको अभाव छ । नेपालमा राजनीतिक नेतृत्वले स्वास्थ्य मन्त्रालयमा हस्तक्षेप गरी चिकित्सकलाई सचिव हुनुपर्ने प्रावधान हुँदा हुँदै प्रशासनिक क्षेत्रका व्यक्तिलाई नियुक्ति गरेर स्वास्थ्य क्षेत्रलाई धराशायी बनाउनु दुःखको कुरा हो भन्नुभयो ।

संघको आगामी कार्यकालका लागि ७ जना भने निर्विरोध निर्वाचित भएका छन् । जसमो वरिष्ठ उपाध्यक्ष, तीन जना प्रदेश उपाध्यक्ष, कोषाध्यक्ष,  सहकोषाध्यक्ष र सहसचिवहरु निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल, उपाध्यक्ष (प्रदेश १)मा डा विपेश आचार्य, उपाध्यक्ष (लुम्बिनी)मा डा नन्दाकुमारी गुरुङ र उपाध्यक्ष (कर्णाली प्रदेश) डा केशरबहादुर ढकाल रहेका छन् । त्यसैगरी, कोषाध्यक्षमा डा प्रमोद जोशी, सहकोषाध्यक्षमा डा विक्रान्त ढकाल र सह–सचिव पदमा डा लिजन महर्जन रहेका छन् । निर्विरोध निर्वाचित हुनेहरु सबै प्रजातान्त्रिक प्यानलका रहेको चिकित्सक संघले जनाएको छ । ६ सदस्य पदका लागि १५ जनाले उम्मेदवारी दिएकोमा एक जनाले नाम फिर्ता लिएका छन् ।

संघको निर्वाचन माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्