१ लाखको पुरस्कार डा. प्रधानलाई



हेटौंडा।

भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालले बिजुली माया वनः संगीत अन्तर्राष्ट्रिय पुरस्कार+२०७९ लोकप्रिय गायक, संगीतकार, लेखक, निर्देशक, चित्रकार तथा मूर्तिकार डा. किरण प्रधानलाई प्रदान गर्ने भएको छ।

प्रतिष्ठानले भीम विरागको स्मृति दिवसको अवसरमा २०६४ सालमा स्थापित बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारद्वारा प्रधानलाई सम्मान गर्न लागेको हो। हेटौंडाका कुशल व्यवसायी, संगीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आमाको नामबाट स्थापना गरेको उक्त पुरस्कारको राशि एक लाख रुपियाँ छ।

प्रधानले गीत गाउनकै लागि दार्जिलिङदेखि काठमाडौंसम्मको दूरी छिचोलेका थिए। डाक्टर बनाउने बाबुको सपना लत्याएर गीत गाउँदै हिँडेकोमा उनले थुप्रैपटक गाली खाएका थिए। तर, संगीतप्रतिको अद्भूत जुनुन र उनीभित्र निहित प्रतिभाका कारण उनले तत्कालीन समयका संगीतका महारथी नातिकाजी र गोपाल योञ्जनसम्मलाई रिझाउँदै आफ्नो स्वरको जादुले लाखौं स्रोता र दर्शकलाई आफ्ना प्रशंसक बनाएका थिए।

माघ १५ गते हेटौंडामा सांगीतिक कार्यक्रम गरी प्रधानलाई पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले जानकारी गराए। २०१० सालमा काठमाडौंमा जन्मिएका प्रधानको के सोचें मैले के भयो अहिले, छातिमा मेरो यो छोटो भोटो, भुल हो तेरो भागी हिँड्नु जीवनदेखि, रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो, पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे, अभागी आमा कुन देशमा, विपना नभई बाँचिदिने मभित्रका मेरा सपनालगायत ४ सय बढी गीत छन्।

सानै उमेरदेखि गीतसंगीत मनपराउने उनले ठूलो भएपछि तारादेवी, प्रेमध्वज प्रधान, बच्चु कैलाशका गीत सुन्नुका साथै स्कुलमा साथीमाझ टेबुल ठटाएर खुब गाउँथे। उनको गीत सुनेर मख्ख हुने साथीले तिम्रो स्वर धेरै राम्रो छ नेपाल गएर रेडियो नेपालमा गीत रेकर्ड गर्नुपर्छ भनेर खुब हौस्याउँथे। नभन्दै उनको बुबाको जागिर काठमाडौंमा सरुवा भयो त्यसपछि बुबासँगै किरण पनि काठमाडौं आएर स्वर परीक्षा पास भए पनि गीत रेकर्ड गराउन भने उनले ७ महिना कुर्नुपर्‍यो। उनले दार्जिलिध्रमा छँदा नै देखेको रेडियो नेपाल गएर गीत रेकर्ड गराउने सपना २०२७ सालमा पूरा भयो। पहिलोपटक किरणले आफ्नै शब्द र संगीतमा मलाई त मेरो डम्फुको ताल मनपर्छ बोलको गीत रेकर्ड गराएका थिए।

यसअघि, बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की (२०७४), दावा ग्याल्मो (२०७७) र दीपक जंगम (२०७८) पुरस्कृत भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्