दाताको खर्चमा सजाइयो प्रदेशसभा



धनगढी

देश संघीय प्रणालीमा गएपछि बनेको सुदूरपश्चिम प्रदेश सरकारको अस्थायी राजधानी धनगढीमा छ । उसो त प्रदेश सरकार गठन भएपछि कैलालीको गोदावरीमा स्थायी राजधानी तोकिएको थियो । प्रदेशको संसद्ले दुई तिहाइ बहुमतका साथ गोदावरीमा राजधानी तोकेको हो ।
तर, त्यो सरकारको कार्यकाल सकिनै लाग्दा पनि स्थायी राजधानी नामोनिसान छैन । अर्थात् कुनै पनि संरचना निर्माण भएका छैनन् । आम निर्वाचन २०७९ बाट निर्वाचित भएका प्रदेशसभा सदस्यहरूले धनगढीमै शपथ लिनुपर्ने भएको छ । स्थायी राजधानीको टुंगो नलागेको अवस्थामा अस्थायी मुकाममै शपथ ग्रहण गनुपर्ने भएको हो ।

५ वर्ष अघिदेखि धनगढीस्थित जिल्ला समन्वय समिति कैलालीको सभाहललाई प्रदेशसभाको रूपमा प्रयोग गर्दै आइरहेको छ । त्यसैले ४ मंसिरको निर्वाचनबाट निर्वाचित प्रदेश सांसदहरूले पनि अब यसै भवनमा शपथ लिने जनाइएको छ । आगामी संसद्का प्रदेशसभा बैठकहरू पनि यहीँबाट सञ्चालन हुने छन् । प्रदेशसभा सचिवालयका अनुसार नवनिर्वाचित सांसदहरूको स्वागतमा पर्खिरहेको प्रदेशसभा भवनलाई सजावट तथा व्यवस्थित पार्ने काम लगभग सकिएको छ ।

प्रदेश सभामा भवनमा अहिले अघिल्ला सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ माइकहरू राखिएका छन् । नयाँ सांसदहरूलाई नयाँ माइक मात्रै होइन उहाँहरूको लागि नयाँ टेबल पनि राखिएको छ । पुराना टेबल अहिले थन्काइएको छ । प्रदेशसभा सदस्यको लागि मात्र होइन सभामुख र सचिव बस्ने स्थानलाई पनि चिटिक्क पारिएको छ ।

प्रदेश सभा सचिवालयका कर्मचारीहरूले यो गरेको भए पनि यसमा खर्च भने दाताको रहेको छ । नीति निर्माण गर्ने यो स्थानको व्यवस्थापनमा अहिले दाता निकायले खर्च गरेको हो । यूएनडीपीको आर्थिक सहयोगमा सञ्चालित संसद् सहयोग परियोजनामार्फत सुदूरपश्चिम प्रदेश सभा व्यवस्थापनको काम गरिएको हो । यूएनडीपीले अघिल्लोपटक लगानी गरेर तयार गरेका उपकरणहरू हटाएर फेरि त्यही उपकरणका लागि आर्थिक सहयोग गरेको छ ।
यसअघि प्रदेश सभा शुरू भएलगत्तै प्रदेश सभाकै लगानीमा जडान भएका माइकहरू हटाएर यूएनडीपीले डिजिटल माइक जडान गरेको थियो । अहिले फेरि पुरानै शैलीको माइक जडान गरिएका छन् । सचिवालयले यूएनडीपीको २० लाख रुपियाँ लगानीमा प्रदेशसभा भवनमा विद्युतीय उपकरण र फर्निचरलगायतका सामग्री फेरेर नयाँ राखेको जनाएको छ । त्यस्तै रोस्टममा २ वटा सभामुखको स्थानमा २ वटा र प्रदेश सभा सदस्यहरूको स्थानमा २८ वटा नयाँ माइक जडान भइसकेका छन् ।

त्यसबाहेक पुराना टेबल हटाएर ५४ पिस नयाँ टेबल राखिएको छ । पुरानो भद्दा भएको र जोडिएको टेबल भएको भन्दै नयाँमा लगानी गरिएको हो । त्यति मात्रै होइन दाताकै सहयोगमा प्रदेश सभालाई चिटिक्क बनाउन रेलिङसमेत बनाइँदै छ । दाताकै सहयोगमा २ स्पिकर र एउटा मिक्चर पनि थप गरिएको छ ।

दाताको सहयोगमा अहिले प्रदेश सभा व्यवस्थापनको काम गरिएको सूचना अधिकारी युवराज जैशीले बताउनुभयो । उहाँका अनुसार प्रदेशसभाको लोगोको आकार पनि बढाएर ठूलो बनाउने तयारी छ । ‘हामीले नयाँ आउने प्रदेशसभाको बैठक सञ्चालनका लागि आवश्यक पर्ने तयारी करिब पूरा गरिसकेका छौँ । माइक र फर्निचरका सामान फेर्ने काम भइसकेको छ’, जैशीले भन्नुभयो, ‘रोस्टमको सेटअप र लोगो राख्ने लगायतका स–साना काम मात्रै बाँकी छन् ।’

यस्तै नवनिर्वाचित प्रदेशसभा सदस्यहरूका लागि चाँदी र सुनको जलपसहितको लोगो बनाउने काम पनि भइरहेको सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेशसभा सदस्यको सपथ ग्रहण र बैठक सञ्चालनका लागि आवश्यक पर्ने तयारी भइरहेको बताउनुभयो ।

बोगटीले निर्वाचन आयोगले बुझाउने विवरणका आधारमा प्रदेशसभाको ज्येष्ठ सदस्यको पहिचान गरेर प्रदेश प्रमुखबाट शुरूमा उहाँलाई शपथ ग्रहण गराइने बताउनुभयो । उहाँका अनुसार पहिला अछाम क्षेत्र २ को (ख) बाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्नुहुनेछ ।

त्यसपछि उहाँले नै अन्य ५२ जना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ । प्रदेशसभामा कांग्रेसबाट निर्वाचित रावल ६८ वर्षको हुनुहुन्छ । सुदूरपश्चिमका नव निर्वाचित प्रदेश सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आगामी १५ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै आगामी १५ गते १ः३५ मा प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण हुने जनाएको छ । यसपटक प्रदेशमा मातृभाषामा पनि शपथ ग्रहण गर्ने व्यवस्था गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्