प्रक्रिया पूरा गर्न मात्रै धान खरिद

किसानले सबै धान बेच्न पाएनन्



बाँके  ।

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ‘प्रक्रिया’ पूरा गर्न मात्रै धान खरिद गरिदिँदा किसान मारमा परेका छन् । खाद्यले धान किन्न शुरू गरेपछि खुसी भएका किसान आफूसँग भएको सबै धान बेच्न नपाएपछि चिन्तित भएका हुन् ।

खाद्यले एक किसानको ३० क्विन्टल मात्रै धान खरिद गर्ने नियम बनाएको छ । ३० क्विन्टल धान बेच्न पनि ती किसान आफ्नो पालिकाको कोटामा पर्नुपर्दछ । एउटा पालिकाबाट १ सय ५ जना किसानले मात्रै खाद्यमा धान बेच्न पाउँछन् ।किसानलाई पालिकाभित्र १ सय ५ जनामा पर्नुपर्ने एकातिर चुनौती छ भने अर्कोतिर त्यहाँको कोटामा परे पनि आफूसँग भएको सबै धान खाद्यमा बेच्न पाएका छैनन् । खाद्यले बजारको भन्दा प्रतिक्विन्टलमा ५–६ सय रुपियाँ मूल्य बढी दिएर धान खरिद गरेको छ ।

बाँके जानकीका चेतराम यादवसँग ६० क्विन्टल धान छ । कोटाअनुसार उहाँले ३० क्विन्टल मात्रै खाद्यमा बेच्न पाउनुहुन्छ । ३० क्विन्टल धान लिएर खाद्यमा आएका किसान यादवले अरू ३० क्विन्टल धान सस्तोमा व्यापारीलाई बेच्नुपर्ने बाध्यता रहेको बताउनुभयो । ‘६० क्विन्टल धान थियो । ३० क्विन्टल यहाँ बेच्न पाएँ, अब ३० क्विन्टल सस्तोमा व्यापारीलाई बेच्नुपर्ने त होला नि’, किसान यादवले भन्नुभयो– ‘खाद्यले सबै धान किनिदिएको भए हामीलाई धेरै राम्रो हुन्थ्यो । अधकल्चो गरी धान बेच्नुपर्ने भएको छ ।’

किसान सावितराम यादवले खाद्यमा सहज तरिकाले धान बेच्न पाए पनि कोटा निर्धारण गरिँदा मारमा परेको बताउनुभयो । खाद्यले यो वर्ष नेपालगन्जमा २५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको छ । खाद्यका स्टोरकिपर दीपक शर्माले मोटो धान २ हजार ९ सय ६७ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपियाँमा खरिद गरिरहेको जानकारी दिनुभयो ।

बजारमा मोटो धान २ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । बाँकेमा यो वर्ष १ लाख ४० हजार २ सय ८७ दशमलव ५ मेट्रिक टन धान उत्पादन भएको छ । यसलाई क्विन्टलमा हेर्दा १४ लाख २८ हजार ७५ क्विन्टल हुन आउँछ । खाद्यले नेपालगञ्जमा २५ हजार क्विन्टल मात्रै धान खरिद गर्दै छ । खाद्यले किन्ने धान कुल उत्पादनको नगन्य प्रतिशत हुन आउँछ । उत्पादन हेरेर धान खरिद गर्नुपर्ने किसानको भनाइ रहँदै आएको छ । बाँकेमा ४५ प्रतिशत किसान रहेका छन् ।

त्यसो त बाँकेमा यो वर्ष धान उत्पादनको क्षेत्रफल घटेको थियो । कृषि ज्ञान केन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदका अनुसार, यो वर्ष ३१ हजार १ सय ७५ हेक्टरमा धान खेती भएको थियो । प्रतिहेक्टर ४.५ मेट्रिक टन धान फलेको छ ।

अघिल्ला वर्षहरूमा बाँकेमा ३६ हजार ५ सय १४ हेक्टरमा धान उत्पादन हुने गर्दथ्यो । गत वर्ष प्रतिहेक्टरमा ४.३ मेट्रिक टन धान फलेको थियो । जिल्लामा यो वर्ष ५ हेक्टर कममा धान उत्पादन भए पनि उत्पादन भने गतवर्षको भन्दा बढेको तथ्यांकले देखाएको छ । जिल्लाको नरैनापुर गाउँपालिकामा यो वर्ष १५ प्रतिशतमात्रै रोपाइँ भएको थियो । अन्यत्र पनि सबै रोपाइँ हुन नसक्दा क्षेत्रफल घटेको हो ।

समयमा पानी नपर्दा अघिल्ला वर्षहरूमा जसरी ३६ हजार ५ सय हेक्टरमा धान लगाउन नसकिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख अहमदले बताउनुभयो । बाँकेमा खाद्यान्नमा आत्मनिर्भर रहेको छ । खाद्यान्नमा धान, गहुँ, मकै पनि पर्दछ । आकाशे पानीको भरमा खेती गर्नुपर्दा बाँकेमा धान उत्पादन राम्रो हुन सकिरहेको छैन । गौरवको सिक्टा सिँचाइ आयोजना समयमै पूर्ण हुन नसक्दा यहाँका किसानले समस्या झेलिरहेका छन् । सिक्टा सिँचाइ आयोजना सम्पन्न हुँदा जिल्लाको ४३ हजार हेक्टर सिञ्चित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्