पराल नबिक्दा कुन्युमै कुहिँदै



नवलपरासी । 

अघिल्ला वर्ष किसानका खेत खलोमै छोपाछोप हुने धानको पराल यस वर्ष बिक्न सकेको छैन । कात्तिक महिनामैमा ठटाएर राखेको पराल किन्ने ग्राहक नपाउँदा किसान चिन्तित बनेका छन् ।

अहिले नवलपुर वरपर किसानका खेत–खेतमै पराल थुप्रामै मिल्किएको अवस्था छ ।’ –कावासोती १२ का युवा राजु चापागाईंले भन्नुभयो । किसानलाई वर्षाभरिको मेहनत परालको बिक्री हुन नसक्दा र मूल्य नपाउँदा जोखिम बढेको छ । अति संवेदनशील पराल खेतमै फालिँदा आगो तथा चोरी हुने डरले किसानमा चिन्ता थपिएको हो ।

कावासोती–१२ राजमन्दिरकै गिरीगोसाइ चौधरी मानिसमा गाईबस्तु पाल्ने प्रवृत्ति घट्दै गएकाले पराल बिक्न छाडेको बताउनुहुन्छ । अघिल्लो वर्ष प्रतिकठ्ठा १२ सयमा बेचेको पराल यस वर्ष ८ सयमा पनि नबिकेको उहाँको कथन छ ।चौधरीका अनुसार कतिपयले पराल किनेर गाईबाच्छालाई दिनुको साटो थारागाई र बाच्छा फुकाएर जंगलमा छाडा छोड्ने प्रवृत्ति बढ्दै गएको छ ।

यसरी छाडा छोडिएका गाईबस्तु राजरत्न सामुदायिक वन वरपर छरपस्ट देखिने गरेको छ । जुन कुराको पुष्टि जंगलमा छाडा छाडिएका कानमा ट्याग भिरेका गाईबस्तुले पनि गरेका छन् ।अर्काेतर्फ परालको बिक्री घट्नुमा गाई तथा भैंसीहरू पाल्ने फारमहरू धमाधम बन्द हुनु पनि हो ।

गाईभै‌ंसीलाई खुवाउने दाना चापटमा भएको अस्वाभाविक मूल्य वृद्धिले दूध उत्पादक किसान फारम बन्द गरेर विदेसिएको दुग्ध व्यवसायी रमेश डुम्रेले बताउनुहुन्छ । उहाँका अनुसार हाल नवलपुर क्षेत्रमा मात्रै चोरमारादेखि भेडाबारीसम्मका करिब ७० किसानका दूध उत्पादन गर्ने कृषि फार्महरू बन्द भएका छन् ।

केही वर्षअघि बैंकको सस्तो ब्याज र अनुदान पाइने आशमा युवाहरू कृषि फर्म खोल्ने कार्यमा आकर्षित भएका थिए । स्वरोजगार बन्न उत्प्रेरित तिनै युवा मूल्यवृद्धि र ब्याज वृद्धिको मार थेग्न नसकी कोरोनापछि वैदेशिक रोजगारीमा फर्किएका उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्