निजी तथा सरकरी कार्यालयलाई कामपाको चेतावनी

फोहोर गरे १५ हजारसम्म जरिवाना



काठमाडौं ।

सरकारी निकायले आफ्नो कार्यालय परिसरमा रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैला सफा नगरे पाँच हजारदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिनुपर्ने व्यवस्था कडाइकासाथ लागु गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले हिजोे बुधबार सार्वजनिक सूचना जारी गरी ३५ दिनभित्र सरकारी तथा निजी कार्यालयहरूलाई आ–आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला ३५ दिनभित्रै आफैं व्यवस्थापन नगरे कारबाही गर्ने चेतावनी दिएको हो ।

कामपाले केही दिनअघि केही सरकारी र निजी कार्यालय अनुगमन गर्दा जताततै फोहोर देखेपछि सार्वजनिक सूचना जारी गरी जरिवाना लिने चेतावनी दिनुपरेको जनाएको छ । कामपा वातावरण तथा कृषि विभागले जारी गरेको सूचनामा कार्यालयलाई सुन्दर नबनाए दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने चेतावनी दिइएको छ ।

कामपाले फोहोरमैला व्यवस्थापन ऐन–२०६८ को परिच्छेद ९ कसुर तथा सजायअन्तर्गत उपदफा ६ मा उल्लेख भएअनुसार घर, कम्पाउन्ड तथा परिसरको फोहोरमैला सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्ने कार्य बन्देज गरेको छ । कामपाले फोहोर मैला व्यवस्थापन ऐन २०६८ र सोही ऐनको नियमावली २०७० को कानुनी व्यवस्थाअनुसार कारबाही गर्ने उल्लेख गरेको छ ।

सो ऐनको दफा ३९ को उपदफा ६ अनुसार कसुर गर्नेलाई स्थानीय तहले ५ हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्म जरिबाना गर्नसक्ने व्यवस्था गरेको छ । कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले सबै कार्यालयलाई ३५ दिनसम्म समय दिएको, उक्त समय सीमापछि पनि कार्यालय सफा नगरे स्थानीय तहको अधिकार प्रयोग गरी जरिवाना लिने तयारी गरेका छौं भन्नुभयो ।

उहाँका अनुसार ३५ दिनसम्म विभिन्न सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वाथ्य तथा शैक्षिक संस्था, गैरसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको अनुगमन गरिने छ । ती कार्यालयको परिसर नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर–मैलाले सहरको सुन्दरतामा ह«ास आएको महानगरपालिकाको ठम्याइ छ ।

बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान भएर नियमित फोहोर व्यवस्थापन हुन थालेपछि विभागले विभिन्न कार्यालयको अनुगमन गरेको थियो । सो क्रममा महानगरले सार्वजनिक सूचना जारी गरी कारबाही गर्नेसम्मको चेतावनी दिएको थियो ।

‘हामीले सबै सरकारी, गैरसरकारी र निजी क्षेत्रको अनुगमन जारी राख्नेछौं, यदि कसैले कानुनको उलंघन गरेमा तत्काल कारबाही गर्नेछौं’ विभागीय प्रमुख राईले भन्नुभयो । उहाँका अनुसार काठमाडौंलाई सुन्दर सहर बनाउने योजनाअनुसार सबै निकायलाई फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्न लगाइएको हो ।

कामपाले न्युरोड, वसन्तपुर, ठमेल, दरबारमार्ग, बानेश्वर, धार्मिक तथा पर्यटकीय क्षेत्रलगायत पर्यटकको आगमन बढ्ने क्षेत्रको सफाइमा बढी ध्यान दिएको छ । महानगरले पहिलो प्राथमिकता सफा र सुन्दर सहर भएका कारण सोहीअनुसार सार्वजनिक सूचना जारी गरी फोहोर आफ्नो कार्यालय परिसरको फोहोर आफैंले व्यवस्थापन गर्न आग्रह गरेको हो, विभागीय प्रमुख राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्