फुटबलको जन्मदाताको ऐतिहासिक सफलता



काठमाडौं । 

१९६६ विश्वकप फुटबल प्रतियोगिताको आठौं संस्करण थियो । पहिलो पटक फुटबलकै जन्मदाता राष्ट्र इंग्ल्यान्डले प्रतियोगिता आयोजना गर्न अवसर मिलेको थियो । स्पेन र पश्चिम जर्मनीले पनि आयोजना दाबी गरे पनि फिफा कंग्रेसले इंग्ल्यान्डलाई छनोट गरेको थियो । स्पेनले पछि आयोजना दाबी फिर्ता लिएको थियो ।

इंग्ल्यान्डलाई दिनुको अर्को कारण पनि थियो । सन् १९६३ मा लन्डनस्थित फुटबल संघ (एफए) को शतवार्षिकी थियो । यही बलियो आधारले इंग्ल्यान्डलाई फुटबलकै महामेला आयोजना गर्न भाग्य भएको थियो । फिफाको अनुसार इंग्ल्यान्डलाई सम्मान गरिएको थियो ।

यस विश्वकपमा सहभागी संख्या पनि ह्वात्तै बढेको थियो । चिलीमा सम्पन्न अघिल्लो विश्वकपमा सहभागि संख्याभन्दा २१ राष्ट्रको बढी थियो । यो विश्वकपमा छनोट चरणमा ७० राष्ट्रले भाग लिएका ्िथए । तर, यो उत्साह भने एसिया र अफ्रिकी महादेशमा रहेन । एक टोली मात्रै कोटा बनाएपछि यी महादेशका राष्ट्रले बहिष्कार गरे । एउटा राष्ट्र उत्तर कोरियाले भने भाग लिएको थियो ।

सातौं विश्वकपमा फाइनल पुगेको टोली चेकोस्लोभाकिया छनोट भएन । यस्तै, सोही विश्वकपमा सेमिफाइनलसम्म पुगेको टोली युगोस्लाभिया पनि छनोट हुन सकेन । अमेरिकाबाट भने अनुमानित मेक्सिको नै छनोट भयो ।

शुरु हुनुअघि ट्रफी चोरी

अन्तिम चरणको खेल शुरु हुन चार महिना अघि वेस्ट मिनिस्टरमा विश्वकप ट्रफी प्रदर्शनको लागि राखिएको थियो । तर, यो चोरी भएको थियो । एक हप्तासम्म त्यहाँका प्रहरी निकायले पत्ता लगाउन सकेको थिएन । तर, पिकल्स नामको कुकुरले घाँसको झाँगमा लुकाएको ट्रफी खोज्न सफल भयो । ट्रफी पाइदिएको कुकुर भने रातारात विश्वभर चर्चित भएको थियो । तर, ट्रफी किन चोरेको र किन फ्यालिएको भन्ने विषय भने अहिलेसम्म रहस्यमय नै छ ।

उत्तर कोरियाको छलाङ

एसियाका राष्ट्रले कोटाको विषय लिएर यो प्रतियोगिता बहिष्कार गरेका थिए । तर, एक एसियाली राष्ट्र उत्तर कोरियाले मात्र भाग लिनु पनि साकार भएको थियो । समूह ४ मा रहेको उत्तर कोरियाले दुई पटकको विश्वकप विजेता इटालीलाई १–० ले स्तब्ध तुल्याएको थियो । यो विजयले उत्तर कोरियाको नाम विश्वभर फैलिएको थियो । तर उत्तर कोरियाको यात्रा यहाँसम्म मात्रै थिएन । टोली क्वार्टरफाइनलसम्म पुग्यो ।

विश्वकपको क्वार्टरफाइनलमा पुग्ने उत्तर कोरिया पहिलो एसियाली राष्ट्र बन्यो । वास्तवमा उत्तर कोरियाले सेमिफाइनल यात्रा पनि गर्न सक्ने थियो । अनुभवको कमी भएको हुँदा यो अर्को ऐतिहासिक उपलब्धि पाउन वञ्चित भयो । पोर्चुगलविरुद्धको खेलमा उत्तर कोरियाले खेल शुरु भएको २२ मिनेटमै ३–० को अग्रता लिएको थियो । कोरियाले जित हात पार्ने छनक देखाएको थियो ।

उत्तर कोरियाले यो बलियो अग्रतालाई आफैंले बिगारेको थियो । किनभने खेलमा रक्षा पनि खेल्नुपर्ने उनीहरूले बिर्से । लगातार आक्रमण बुन्दा विपक्षी टोली पोर्चुगललाई खेलमा फर्कन प्रशस्त मौका आयो । युसोबियोले लगातार चार गोल गरेर पोर्चुगललाई ४–३ ले अग्रता दिलाए । अन्त्यमा पोर्चुगल ५–३ ले जित्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

च्याम्पियन ब्राजिलको छिटै बाहिरियो

१९५८ र १९६२ का विश्वकपमा च्याम्पियन बनेको ब्राजिल समूह चरणबाटै बाहिरियो । यो प्रतियोगिताकै सबैभन्दा आश्चर्य नतिजा थियो । समूह तीनमा रहेको ब्राजिल पोर्चुगल र हंगेरीसँग समान ३–१ ले पराजित भएको थियो । दुई पटकको च्याम्पियन र पेलेसम्मिलित टोली ब्राजिलले एक मात्र खेल बुल्गेरियाविरुद्ध जित हात पारेको थियो । पोर्चुगलविरुद्धको खेलमा पेलेलाई नराम्रो ट्याकल गरेर घाइते बनाइदिएको थियो । यो घटनापछि पेलेले विश्वकप कहिल्यै नखेल्ने बताएका थिए ।

सेमिफाइनल

पश्चिम जर्मनीले सोभियत संघलाई २–१ ले र इंग्ल्यान्डले पोर्चुगललाई २–१ ले नै हराएर फाइनलको यात्रा तय गरेका थिए । पश्चिम जर्मनीलाई जित दिलाउन बेकनबेयर र हालरले एक एक गोल गरेका थिए । सोभियत संघका लागि पोकुएजानले एक गोल फर्काएका थिए ।

आयोजक राष्ट्र इंग्लिस टोलीको जितमा बबी चाल्र्टनले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेका थिए । पोर्चुगलका लागि युसेबियोले एक गोल फर्काएका थिए । तेस्रो स्थानको लागि भएको खेलमा युसेबिया र टोरेसको गोलको सहयोगमा पोर्चुगलले सोभियत संघलाई २–१ ले हराएको थियो । योसँगै प्रतियोगिताभरि कुल ९ गोल गरी पोर्चुगलका युसोबियो सर्वाधिक गोलकर्ता बने ।

फाइनलमा दर्शक ९६ हजार

इंग्ल्यान्ड पहिलोपटक फाइनल पुगेको थियो भने पश्चिम जर्मनी १२ वर्षपछि विश्वकप फाइनलमा पुगेको थियो । पश्चिम जर्मनीले १९५४ को विश्वकप जितेको थियो । जर्मन टोली दोस्रो विश्वकप उपाधि जित्नेमा ढुक्क पनि थियो । तर, इंग्ल्यान्डले उनीहरूकै प्रिय मैदान वेम्बली रंगशालामा भएको फाइनल खेल ४–२ ले जितेको थियो । यो फाइनल खेल हेर्न करिब ९६ हजार दर्शकको उपस्थित थियो ।

फुटबलको इतिहासमा हेर्ने हो भने इंग्ल्यान्डको यो ५४ वर्षको अन्तरालमा दोस्रो ठूलो उपाधि थियो । यसअघि, इंग्ल्यान्डले सन् १९१२ को ओलम्पिक खेलकुदको फुटबलमा स्वर्णपदक जितेको थियो । यस्तै इटालीले आयोजकको रुपमा १९३४ मा विश्वकप जितेको थियो । यसपटक इंग्ल्यान्ड विश्वकप जित्ने दोस्रो आयोजक टोली पनि बन्यो । यो उपाधि दिलाउन जेफरी चाल्र्स हस्र्टले ह्याट्रिक गरेका थिए ।

खेलको १२औं मिनेटमै हेल्मुट हालेरको गोलमा पश्चिम जर्मनीले १–० को अग्रता लियो । यो गोलले घरेलु टोली र दर्शकमाथि निकै दबाब पनि भयो । तर, हस्र्टले ६ मिनेटपछि फ्रिकिकमा गोल गर्न सफल भयो । खेल १–१ बराबरी भएको थियो । पहिलो हाफ यही स्कोरमै सकियो ।

दोस्रो हाफमा पहिलो गोल इंग्ल्यान्डबाट भयो । हस्र्टले गरेको प्रहारमा रिबाउन्ड भएको बललाई स्टानफर्ड पिटर्सले गोल गरेका थिए । योगोल ८८ मिनेटसम्म अग्रता दिलाइरहँदा इंग्ल्यान्ड उपाधि नजिक पुगेको थियो । तर, खेल सकिन एक मिनेट बाँकी हुँदा वेबरले गोल फर्काएर खेल २–२ मा पु¥याए । खेल अतिरिक्त समयमा पुग्यो । यसपटक हस्र्टले दुई गोल हानेर इंग्ल्यान्डलाई उपाधि दिलाए ।

फाइनलमा विवादास्पद गोल

हस्र्टको एक गोल निकै विवादास्पद भएको थियो । पछाडिबाट क्रस भएको बलमा हस्र्टले बल नियन्त्रण लिई घुमेर प्रहार गरेका थिए । बल गएर बारको भित्री भागमा भुइँमा ठोक्किएर माथि उठ्यो । इंग्ल्यान्डका सबै खेलाडी गोल भनेर खुसी मनाउन थाले । तर, रेफ्रीले सहायक रेफ्रीसँग सोधेर मात्रै गोल भएको सिठी बजाएका थिए । यो निर्णयप्रति जर्मन खेलाडी असन्तुष्ट भएका थिए । उनीहरू आजसम्म पनि यो गोल अमान्य हुनुपर्छ भनेर कुरा उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्