पेलेविना ब्राजिल च्याम्पियन

सातौं विश्वकप १९६२ चिली



काठमाडौं । 

सन् १९६२ को विश्वकप आयोजना गर्न अर्जेन्टिना र पश्चिम जर्मनी दुवैले दरो उम्मेदवारी दिए । तर, सन् १९५६ मा लिसबनमा भएको फिफा कंग्रेस बैठकले दक्षिण अमेरिकी राष्ट्र चिली छनोट ग¥यो । अर्जेन्टिना आपूm निकै विश्वस्त थियो, विश्वकप आयोजना गर्नेमा तर, यसपटक पनि अर्जेन्टिनाको विश्वकप आयोजना गर्ने धोको पूरा हुन सकेन । पूर्वाधारको हिसाबले भन्ने हो कि फुटबलको लोकप्रियताको हिसाबले भन्ने अर्जेन्टिना चिलीभन्दा धेरै राम्रो थियो, आयोजक बन्नको लागि ।

चिलीलाई आयोजक बनाउनेमा पनि फिफाको ठूलो गुण थियो । किनभने सन् १९६० मा आएको महाभूकम्पले धेरै जनधनको क्षति पु¥याएको थियो । फिफाले महाभूकम्पमा परेर थलिएको चिलीलाई छनोट ग¥यो । चिली फुटबल संघका अध्यक्ष कार्लोस हिटबर्नले चिलीले जसरी पनि विश्वकप आयोजना गर्नुपर्ने धारणा राखेका थिए ।

उनका अनुसार चिलीसँग केही पनि छैन, त्यसैले पनि हामीले सफलताका साथ विश्वकप आयोजना गर्नुपर्दछ । तर, प्रतियोगिता शुरु हुन एक महिनाअघि मात्र हिटवर्नको देहान्त भयो । उनले आफ्नो राष्ट्रमा भएको विश्वकप हेर्न पाएनन् ।विश्वकपको छनोट खेलको सुरुवात पहिलोपटक युरोपबाहिर आयोजना भयो । छनोटको सान होसेमा भएको पहिलो खेलमा कोस्टारिकाले ग्वाटेमालालाई ३–२ ले हरायो । तर, मध्य अमेरिकाबाट मेक्सिको नै छनोट भयो । मेक्सिकोले प्लेअफमा पाराग्वेलाई पराजित गरी चिलीको टिकट कटाएको थियो ।

छनोट चरणलाई अन्तर महाद्वीपीयअनुरूप खेलाइएकोमा कडा आलोचना भयो । तर यसमा परिवर्तन गरिएन र यसका कारण १९६२ को प्रतियोगितामा अफ्रिका र एसियाली राष्ट्रले विश्वकपमा प्रवेश पाएनन् । मोरोक्को स्पेनसँग, इजरायल इटालीसँग र दक्षिण कोरिया युगोस्लाभियासँग छनोट चरणमै पराजित भए ।

चिली भने आयोजक तथा ब्राजिल विश्व विजेताको रूपमा सीधै विश्वकपमा प्रवेश भए । परिणाम, दक्षिण अमेरिकी समूहमा छनोट चरणमा ६ टोलीको मात्रै प्रतिस्पर्धा भएको थियो । यसमा अर्जेन्टिनाले इक्वेडरलाई हराएर विश्वकपमा छनोट भयो । उरुग्वेले बोलिभिया र कोलम्बियाले पेरुलाई हराएर विश्वकप खेल्न छनोट भए ।

यस्तै, युरोपेली महादेशमा केही आश्चर्यजनक नतिजा आयो । सन् १९५८ को उपविजेता र तेस्रो स्थानमा रहेका क्रमशः स्विडेन र फ्रान्स छनोट चरणबाटै विदा भए । स्विट्जरल्यान्डले स्विडेनलाई र बुल्गेरियाले फ्रान्सलाई हराएका थिए । ब्रिटिश राष्ट्रमा इंग्ल्यान्ड मात्रै छनोट भयो । यस विश्वकपमा पछिल्लो संस्करणमा क्वार्टरफाइनलमा पुगेका ८ टोलीमध्ये चार टोली मात्रै छनोट भए ।

यसअघि, विश्वकपमा दोस्रो र तेस्रो हुने टोलीबीच समान अंक भएमा प्लेअफ खेलाउने प्रावधान रहेको थियो । यस विश्वकपमा प्ले अफ हटाएर दोस्रो र तेस्रो स्थानका राष्ट्रलाई गोलभिन्नताको आधारमा टोलीको स्थान निर्धारण गर्ने प्रावधान राखियो ।

समूह चरणका खेल

पहिलो समूहबाट सोभियत संघ र युगोस्लाभिया क्वार्टरफाइनल पुगे । सोभियत संघ युरोपियन च्याम्पियन थियो । सोभियत संघ र कोलम्बियाबीचको खेल निकै रोचक बनेको थियो । सोभियत संघ ४–१ को अग्रतामा थियो । तर, अन्तिम २५ मिनेटमा तीन गोल फर्काएर कोलम्बियाले खेल ४–४ बराबरीमा टुंग्याएको थियो ।

समूह तीनबाट विश्व विजेता ब्राजिल र चेकोस्लोभाकिया क्वार्टरफाइनल पुगे । ब्राजिलका स्टार खेलाडी पेले भने चेकोस्लोभाकियाविरुद्ध खेलमा घाइते भएका थिए । मांशपेशीको समस्याले उनले चेकोस्लोभाकियाविरुद्धको खेलमा खेल्न सकेनन् । तर, उनीविना नै ब्राजिलले अन्तिम आठमा पुग्न वातावरण बनायो । चेकोस्लोभाकियाविरुद्ध गोलरहित बराबरी खेलेको ब्राजिलले मेक्सिको र स्पेनलाई पराजित गरेको थियो । यस्तै, समूह चारबाट हंगेरी इंग्ल्यान्ड क्वार्टरफाइनल पुगेका थिए । यस समूहमा रहेको अर्जेन्टिना इंग्ल्यान्डसँग पराजित भएर बाहिरिएको थियो ।

सान्टियागोको लडाइँ

समूह दुईमा भने इटाली र चिलीबीचको खेल निकै विवादित र घम्साघम्सी भएको थियो । करिब ६६ हजार दर्शकबीच खेलिएको यो खेल सान्टियागोको लडाइँ भनेर चर्चित भएको थियो । खेल शुरु भएको १२ सेकेन्डमै फाउल भएको थियो । इटालीका जर्जिनो फेरिनी खेल शुरु भएको ८औं मिनेटमै सेन्टअफ भएका थिए । तर, ती खेलाडीले १० मिनेटसम्म पनि मैदान भने छाडेका थिएनन् । यसमा विवाद पनि धेरै भयो र खेलमा वाधा पनि भयो । फिफाका अधिकारी र सुरक्षाकर्मीले उनलाई मैदानबाहिर ल्याइएका थिए ।

त्यसपछि इटालीका खेलाडीले चिलीका फरवार्ड लियोनेल सान्चेजलाई डरलाग्दो ट्याकल गरेका थिए । यसमा सान्चेजले इटालीका मारियो डेभिडको अनुहारमा देब्रे मुक्का हिर्काएका थिए । रेफ्रीले यो क्रिया देखेका थिएनन् र सान्चेज मैदानमै रहे । मारियोले यसको बदला केही मिनेटपछि लिए । उनले सान्चेजको टाउकोमा लाती बर्साए । यो दृश्य भने रेफ्रीले देखेर उनलाई सेन्टअफ गरे ।

सान्चेजको आक्रमक पारा भने सकिएको थिएन । उनले इटालीका हम्बर्टो मास्कियोको नाकै फुटाइदिए । यसपटक पनि रेफ्रीले उनलाई सेन्टअफ गरेका थिएनन् । यो घटनापछि दुवै टोलीका खेलाडीबीच घम्साघम्सी चल्यो । सुरक्षाकर्मीले तीनपटक त उनीहरूलाई छुटाएका थिए । यो नराम्रो घटना विश्वभरिका दर्शकले प्रत्यक्ष हेरेका थिए । त्यतिबेला टेलिभिजनमा खेलको प्रत्यक्ष प्रसारण भएको थियो । रेफ्रीले इटाली र चिलीबीचको खेल रोकिदिए । यो खेल चिलीले २–० ले जितेको थियो । यस समूहबाट पश्चिम जर्मनी र घरेलु राष्ट्र चिली क्वार्टरफाइनल पुगेका थिए ।

क्वार्टरफाइनल

क्वार्टरफाइनलमा पुग्नेमा ६ टोली युरोपका र २ टोली दक्षिण अमेरिकाका थिए । यसमा ब्राजिल, युगोस्लाभिया, चिली र चेकोस्लोभाकिया जित्दै सेमिफाइनलमा पुगे । योसँगै युरोप र दक्षिण अमेरिकाका टोली बराबरी संख्यामा थिए । ब्राजिलले इंग्ल्यान्डलाई र चिलीले सोभियत संघलाई समान २–१ ले हराए । अर्को खेलमा चेकोस्लोभाकियाले हंगेरीलाई र युगोस्लाभियाले पश्चिम जर्मनीलाई समान १–० ले पन्छाएका थिए ।

सेमिफाइनल

सेमिफाइनलमा ब्राजिलको सामना चिलीसँग र युगोस्लाभियाको सामना चेकोस्लोभाकियासँग भएका थिए । यो समीकरणले नै फाइनल खेल दक्षिण अमेरिकी र युरोपबीच हुने पक्का पनि भयो । ब्राजिलले चिलीलाई करिब ७६ हजार दर्शकमाझ ४–२ ले पराजित ग¥यो । यस खेलमा गारिन्चा र भाभाले २–२ गोल गरेका थिए ।

दोस्रो सेमिफाइनल खेलमा चेकोस्लोभाकियाले युगोस्लाभियालाई ३–१ ले हराएको थियो । चेक टोलीको रक्षापंक्ति निकै सशक्त थियो । युगोस्लाभियाले जित्ने अनुमान गरिए पनि चेक टोलीले यो अनुमानलाई गलत सावित गरिदियो । चेकलाई कसैले पनि फाइनल पुग्ने आसा गरिएको थिएन ।

फाइनल

फाइनल खेल सान्टियागो रंगशालामा भएको थियो । ब्राजिल र चेकोस्लोभाकियाको खेल हेर्न करिब ६८ हजार दर्शक आएका थिए । खेलमा शुरुमै ब्राजिल स्तब्ध हुनुपरेको थियो । जोसेफ मासोपुस्टले १५औं मिनेटमा गोल गर्दा चेकोस्लोभाकियाले १–० को अग्रता लियो । तर, यसको दुई मिनेटमै अमारिल्डोले गोल फर्काएर ब्राजिललाई राहत दिलाए । पहिलो हाफ १–१ मा सकिएको थियो ।

दोस्रो हाफमा भने ब्राजिलले दुई गोल गरेर लगातार दोस्रोपटक विश्व च्याम्पियन बन्न सौभाग्य प्राप्त ग¥यो । जिटोले ६९औं मिनेटमा हेडमार्फत् गोल गरेर ब्राजिललाई २–१ को अग्रतामा राखे । यसपछि भाभाले ७७औं मिनेटमा चेक गोलरक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । यो गोलसँगै ब्राजिलले यो खेल स्टार खेलाडी पेलेविना नै ३–१ ले जितेको थियो । तेस्रो स्थान चिलीले प्राप्त गरेको थियो ।
सर्वाधिक गोलकर्ता:
४ गोल— फ्लोरिएन अल्बर्ट (हंगेरी), गारिन्चा (ब्राजिल), लियोनल सान्चेज (चिली)

प्रतिक्रिया दिनुहोस्