पेलेको उदयसँगै ब्राजिल विश्व च्याम्पियन

छैठो विश्वकप १९५८



काठमाडौं । 

फेरि एकपटक लगातार युरोपमा विश्वकप आयोजना भयो । दक्षिण अमेरिकी राष्ट्र र युरोपेली राष्ट्रमा पालैपालो प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता तोडियो । यसअघि १९३४ र १९३८ मा लगातार युरोपमा विश्वकप आयोजना भएको थियो । गत संस्करण स्विट्जरल्यान्डमा सम्पन्न भएको थियो र पुनः युरोपमा हुने निर्णय लियो र स्विडेनलाई विश्वकप आयोजना गर्ने जिम्मा दिइएको थियो ।

यस विश्वकपमा अर्जेन्टिनाको पनि पुनरागमन भयो । १९३८ मा अर्जेन्टिनालाई विश्वकप आयोजना गर्ने नदिएपछि यो राष्ट्रले १९५४ सम्म गरी तीन विश्वकपमा खेलेको थिएन । यता अर्जेन्टिना विश्वकपमा आउनाले दक्षिण अमेरिकाको अर्को शसक्त टोली उरुग्वे भने छनोट चरणबाटै बाहिरियो । यस्तै इटालि पनि छनोट चरण पार गर्न नसकेर विश्वकप खेल्ने मौका गुमाउन पुग्यो । अर्को शसक्त टोली स्पेन पनि छनोट चरणबाटै बाहिरिएको थियो ।

इजरायलको सहभागितामा विरोध जनाउँदै अन्य मुस्लिम राष्ट्रहरु टर्की, इन्डोनेसिया, इजिप्ट र सुडानले नाम फिर्ता लिए । सन् १९५७ मा इजरायल र इजिप्टबीच युद्ध भएको थियो । यही कारणले गर्दा इजरायलको प्रवेशमा यी राष्ट्रले विश्वकपमा भाग लिएनन् । यसको लाभ सिधै इजरायललाई प्राप्त भयो । इजरायल छनोट चरण नखेलि विश्वकपमा छनोट भयो । तर, वेल्ससँग प्लेअफ खेल्नु परेको इजरायल दुबै लेगमा २–० ले पराजित भयो ।

अन्तिम चरणमा पुगेका १६ टोलीलाई ४÷४ टोली गरी चार समूहमा विभाजित गरियो । यसपटक फिफाले अमेरिकी महाद्वीपबाट आएका चार टोलीलाई एक एक गरी चार समूहमा राख्यो । यसमा सबैभन्दा कठिन समूह ब्राजिलकै परेको थियो । ब्राजिलको समूहमा सोभियत संघ, इंग्ल्यान्ड र अस्ट्रिया जस्ता बलिया टोली थिए । यो समूहबाट ब्राजिल र सोभियत संघले क्वार्टरफाइनलमा स्थान बनाउँदा इंग्ल्यान्ड र अस्ट्रिया बाहिरिए । सबैभन्दा सजिलो समूह स्विडेन, वेल्स, मेक्सिको र हंगेरीलाई लिइएको थियो । यो समूहबाट अनुमान गरिएअनुसार आयोजक स्विडेन र हंगेरी अन्तिम आठमा पुगे ।

ब्राजिलको सुन्दर खेल

ब्राजिलले अर्कै किसिमको रणनीति अपनाएर खेलेको थियो । यसै विश्वकपमार्फत् एक युवा खेलाडीले ब्राजिलबाट नाम कमाए । उनको खेलैपिच्छे उत्कृष्ट हुँदा उनीमाथि सबैको ध्यानकेन्द्रीत भएको थियो । १७ वर्षीय पेले नाम गरेका यी ठिटोले पछि फुटबलकै जादुगर भनेर उपनाम पाए । शायद त्यतिबेला टेलिभिजनमा पनि खेल देखाउन शुरु गरेर पनि उनको चर्चा चुलिएको भन्नेहरु पनि छन् । तर, जे भएपनि उनको खेलकै कारण ब्राजिलले सुन्दर खेल पस्केर सबैलाई मन्त्रमुग्ध गरियो ।
ब्राजिलको पहिलो खेल अस्ट्रियासँग थियो । यो खेल ब्राजिलले ३–० ले जित्यो । दोस्रो खेलमा भने इंग्ल्यान्डसँग गोलरहित बराबरी खेल्न पुग्यो । तेस्रो खेलको लागि ब्राजिलले गारिन्चा, जिटो र पेलेलाई टोलीमा समावेश ग¥यो । ब्राजिलले यो खेलमा ४–२–४ को रणनीति अपनायो । त्यतिबेला यो रणनीति बिल्कुलै नयाँ थियो । यसमा धेरैजसो आश्चर्यचकित भए । यो खेलमा भाभाले दुई गोल गर्दा ब्राजिल २–० ले विजयी भयो । तर, प्लेअफमा इंग्ल्यान्डलाई हराएर सोभियत संघ पनि अन्तिम आठमा पुग्यो ।

क्वार्टरफाइनल

ब्राजिलले वेल्सलाई १–० ले हराएर सेमिफाइनलको टिकट कटायो । यो खेलमा ब्राजिलले निकै संघर्ष गर्नुपरेको थियो । यो खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । दोस्रो हाफमा पनि गोलको कुनै गुंजाइस थिएन । तर, पेलेले ६६ औं मिनेटमा गोल गरेर ब्राजिललाई १–० को अग्रतामा राखे । उनको जर्सी नम्बर १० थियो । अन्य खेलमा फ्रान्सले नर्दन आयरल्यान्डमाथि ४–० को एकोहोरो जित निकाल्यो भने स्विडेनले सोभियत संघको यात्रा २–० ले समाप्त पा¥यो ।
डिफेन्डिङ च्याम्पियन पश्चिम जर्मनीको लागि पनि जित हात पार्न मुश्किल भएको थियो । राहनले १२ औं मिनेटमा गोल गरेर टोलीलाई जित त दिलाए । तर, युगोस्लाभियाले यसपछि जर्मन टोलीमाथि लगातार आक्रमण गरेर आथु आथु बनाएको थियो । यसको बावजुद जर्मनीले १–० को अग्रता अन्तसम्म जोगाएर अन्तिम चारको यात्रा सुरक्षित गरेको थियो ।

सेमिफाइनल

पहिलो सेमिफाइनल खेल स्विडेन र पश्चिम जर्मनीबीच भएको थियो । घरेलु दर्शक र मैदानको सहयोगबावजुद स्विडेनले २१ औं मिनेटमा गोल आत्मसात गरेर स्तब्ध बन्नुप¥यो । पश्चिम जर्मनीका लागि हान्स स्काफरले गोल गरेका थिए । ३२ औं मिनेटमा स्कोगलन्डले गोल गरेर स्विडिस घरेलु दर्शकको मुस्कान फर्काए । यसपछि दुई गोल थपेर स्विडेनले डिफेन्डिङ च्याम्पियन पश्चिम जर्मनीलाई ३–१ ले पाखा लगायो । स्विडेन विश्वकपको फाइनलमा पहिलो पटक पुग्न सफल भयो ।

अर्को सेमिफाइनल खेलमा ब्राजिलले फ्रान्सलाई ५–२ ले पराजित गर्दै फाइनलको यात्रा तय ग-यो । यहाँसम्म पु-याउन पेलेको ह्याट्रिक सहयोगी बनेको थियो । पेलेसँगै फ्रान्सका फोन्टेन पनि गोल गर्न माहिर थिए । तर बाजी मारे पेलेले । भाभाले खेलको दोस्रो मिनेटमा गोल गरेर ब्राजिललाई १–० को अग्रतामा राखे तर, यो रद्द गरे फोन्टेनले ।

फोन्टेनले नवौं मिनेटमा गोल गरेर फ्रान्सलाई १–१ बराबरीमा पु-याए । यसपछि डिडिले ३९ औं मिनेटमा गोल गरेर ब्राजिललाई २–१ को अग्रता ल्याए । दोस्रो हाफ पेलेकै भयो । उनले ५२, ६४ र ७५ औं मिनेटमा गोल गरेर युवा उमेरमै विश्वकपमा ह्याट्रिक गर्ने कीर्तिमान रचेका थिए । पियान्टोनीले ८३ मिनेटमा एक गोल फर्काएपनि फ्रान्सले ब्राजिललाई जितबाट रोक्न सकेन ।

फाइनल

खेलको चौथो मिनेटमा लिडहोल्मले गोल गरेर स्विडेनलाई १–० को अग्रता दिलाए । तर, यो खुशी टिक्नै पाएन । ५ मिनेटपछि भाभाले बराबरी गोल फर्काएका थिए । ३२ औं मिनेटमा भाभाले अर्को गोल थपे । यो गोलसँगै ब्राजिल पहिलो हाफमा २–१ को अग्रतामा रह्यो । पेले फेरि एकपटक दोस्रो हाफमा चम्के । उनले ५५ औं मिनेटमा गोल गरेर टोलीलाई ३–१ को अग्रतामा राखे । यो गोल पेलेले एकल प्रयासमा गरेका थिए ।

पेलेले पेनाल्टी क्षेत्रमा प्राप्त बललाई छातीमा नियन्त्रण लिँदै स्विडिस डिफेन्डरको शिरमाथिबाट प्रहार गरेको बलले जाली चुमेको थियो । मारियो जगालोले ६८ औं मिनेटमा गोल गरेपछि ब्राजिल स्विडेनको भुमिमा ४–१ कोे सुरक्षित स्थितिमा रह्यो । सिमोनसनले ८० औं मिनेटमा गोल गरेर गोलअन्तर ४–२ मा खुम्च्याए तर, खेल सकिने समयमा पेले थप गोल गरेपछि ब्राजिलले ५–२ को जित निकाल्यो । सहभागिता भएको २८ वर्षपछि ब्राजिलले पहिलो पटक विश्वकप ट्रफी चुम्यो । तेस्रो स्थानको खेलमा फ्रान्सले फोन्टेनको ४ गोलको सहयोगमा पश्चिम जर्मनीलाई ६–३ ले हराएको थियो ।
कूल गोलसंख्या:३५ खेलबाट १ सय ३५ गोल
सर्वाधिक गोलकर्ता:जस्टिन फोन्टेन (फ्रान्स) १३ गोल

क्वार्टरफाइनल

ब्राजिल १–० वेल्स
फ्रान्स ४–० नर्दन आयरल्यान्ड
पश्चिम जर्मनी १–० युगोस्लाभिया
स्विडेन २–० सोभियत संघ

सेमिफाइनल

ब्राजिल ५ (पेलेको ह्याट्रिक, भाभा, डिडि )
फ्रान्स २ (फोन्टेन, पियान्टोनी)
(दर्शक: २७ हजार)
स्विडेन ३ (स्कोगलन्ड, ग्रेन, हाम्रीन)
पश्चिम जर्मनी १ (स्काफर)
(दर्शक: ४९ हजार)

फाइनल

ब्राजिल ५ (भाभा २ गोल, पेले २ गोल, जगालो)
स्विडेन २ (लिडहोल्म, सिमोनसन)
(दर्शक: ४९ हजार)

प्रतिक्रिया दिनुहोस्