राजाराम तण्डुकार : एजेण्डाले चिनाएका फरक उम्मेदवार



काठमाडौं ।

गुठीदेखि संस्कृति, सम्पदा बचाउने विभिन्न आन्दोलनमा सक्रिय रहेका अभियन्ता राजाराम तण्डुकार पनि यस पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। अभियन्ता तण्डुकार ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि लौरो चुनाव चिन्ह लिएर चुनावमा उत्रिएका हुन् ।

२०३० सालमा ललितपुर वडा नं १ कोपुण्डोलस्थित गुसिंगालमा जन्मिएका तण्डुकार सात वर्षयता नेपाल भाषा, संस्कृति, सम्पदा, गैरन्यायिक सडक विस्तारको विरुद्धमा निरन्तर संलग्न हुँदै आउनुभएको छ । यही संलग्नताले गर्दा तण्डुकारलाई सामाजिक अभियन्ताका रुपमा धेरैले चिनेका छन्।

सामाजिक सक्रियताले आपूmलाई राजनीतिक रुपमा अघि बढ्न घचघच्याएको तण्डुकारको भनाई रहेको छ ।आफ्नो सामाजिक अभियानको मुद्दालाई राजनीतिकस्तरमा अघि बढाउन आफूले उम्मेदवारी दिएको तण्डुकारले बताउनुभयो । सामाजिक अभियानमा आफ्नो सक्रियताको अनुभव, विभिन्न व्यक्तिबाट सिकेका ज्ञान र समग्र संघर्षलाई संश्लेषण गरी सक्रिय राजनीतिमा लागेको उम्मेदवार तण्डुकारको भनाई रहेको छ ।

तण्डुकारले काठमाडौं उपत्यकामा विभिन्न समयमा भएका गैरन्यायिक सडक विस्तार, फास्ट ट्रयाकबाट खोकना र बुंगमतीको ऐतिहासिक बस्ती संकट पर्ने स्थिति देखिएपनि त्यसलाई पुनःरेखांकन गर्न माग राखेर भएका आन्दोलन, बालाजु बाईपासको आन्दोलन लगायत विभिन्न अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यतिमात्र नभई रानीपोखरी, सप्तपाताल पोखरी, पलेस्वां पखूं , चाबहिल चिहान संरक्षण, सम्य फल्चा पुनःनिर्माण लगायत सम्पदा बचाउ अभियानमा तण्डुकारको संलग्नताले स्थानीय संघर्षमा ठूलो उर्जा दिएको थियो । आन्दोलनका मुद्दा, संघर्षबारे सामाजिक सञ्जाल मार्फत मुखरित गर्दै आएका सामाजिक सञ्जालमा तण्डुकारलाई पछ्याउने ठूलै जमात रहेको छ । आफ्नो सामाजिक सक्रियताको अनुभव, बुझाईका धेरै विषयलाई तण्डुकारले चुनावी एजेण्डाका रुपमा अघि सार्नुभएको छ ।

ललितपुर क्षेत्र नं ३ मा ललितपुर महानगरपालिकाका १ देखि ५ वडाहरु, १०, १३, १४, १५, १८ देखि २९ सम्मका वडाहरु पर्दछ । त्यस्तै गोदावरी नगरपालिकाका वडा नं १२ र १४ पर्दछ । ‘ नेवाः समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा तिनका चाहना, भावना र आकांक्षालाई मैले राम्ररी ठम्याएको छु भने बाँकी सबै समुदायका जनताको चाहना र समस्यालाई पनि नजिकबाट बुझ्ने मौका पाएको छु । त्यही आधारमा एजेण्डा बनाएको हुँ । ’ उम्मेदवार तण्डुकारले भन्नुभयो ।

उपत्यकाको अव्यवस्थित शहरीकरण र जनसख्ंयाको चापले निम्तिएका समस्या, प्राकृृतिक स्रोत साधनको दोहन, वातावरण हस हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उम्मेदवार तण्डुकारले भन्नुभयो ‘ स्मार्ट शहरको योजनालाई इन्कार गर्दै स्मार्ट गाउँ बनाउने विषयले जोड दिएको छु ।’ फास्ट ट्रयाक लगायत आयोजनाबाट खोकना र बुंगमतीको ऐतिहासिक बस्ती संकटमा पार्ने भन्दै उहाँले फास्ट ट्रयाकको पुनःरेखाकंन गर्नका लागि पनि आफूले उम्मेदवारी दिएको बताउनुभयो। मातृभाषाको माध्यमबाट पठनपाठनको व्यवस्था, हस्तकलाको विकास, पुराना बस्तीहरुमा स्वबासी र भूमी सम्बन्धी समस्यालाई समाधान गर्नुपर्ने विषयमा तण्डुकारले आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चुनावी एजेण्डाको मुख्य बुँदागत शीर्षकमा भ्रष्टाचार न्यूनीकरण गर्ने, सुशासन तथा जनमुखी संसद्, भाषा, संस्कृति र सम्पदाको समृद्धि, स्थानीय सरोकारको सहजीकरण, युवा खेलकूद तथा रोजगारी तथा उद्यमशीलता, सिमान्तकृत समूहको अधिकार र सामाजिक न्याय, जनमैत्री सन्तुलित विकास र वातावरण संरक्षण, कृषिको विकास र राष्ट्रिय सुरक्षाको विषय रहेको छ । त्यसैगरी आफ्नो प्रतिबद्धतापत्र संविधान पुनःलेखन, समानुपातिक समावेशी, संघीयता कार्यान्वयनको एजेण्डाले समावेश गरिनुले पनि अरु पार्टीका उम्मेवारसंगै लौरो चिन्ह लिएर चुनावमा उत्रिनेहरुको बीचमा पनि तण्डुकारलाई फरक रुपमा चिनाएको छ ।

तण्डुकारले प्रतिबद्धतापत्रमा भन्नुभएको छ ‘ संघीय लोकतान्त्रिक, गणतन्त्रलाई अझ सुदृढ, पहिचान र सामथ्र्यमा आधारित संघीयताको लागि संघर्ष गर्ने छौं ।’संविधानको धारा ५७ को ५ मा रहेको राखिएको प्रावधान स्वायत क्षेत्र, संरक्षित क्षेत्र र विशेष संरक्षित क्षेत्रलाई कानून बनाएर कार्यान्वयन गर्नुपर्नेमा प्रतिबद्धतापत्र मार्फत जोड दिनुभएको छ । ‘ स्थानीयको पीर, मर्का बुझेको छु । आफ्नो एजेण्डा स्पष्ट रुपमा राखेको छु । सामाजिक क्रियाशीलताबाट धेरैको विश्वास कमाएको छु ।यही नै मेरो चुनाव जित्ने मुख्य आधार हुन् ।’ उम्मेदवार शाक्यले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्