वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण दुर्घटना

सासुले बुहारीलाई दिएको दानले पूर्णता पाएन



काठमाडौं ।

नेपालकै पुरानो वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा अपत्यारिलो दुर्घटना भएको छ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ कल्लेरी निवासी ३२ वर्षीया चमेली गैरेको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी भई दाताका रूपमा उनकै ५८ वर्षीया सासुको मिर्गौला निकालेर प्रत्यारोपण गर्न लाग्दा मिर्गौला काम नलाग्ने साबित भयो ।

‘मिर्गौला निकालियो र लिने र दिने दुवैको शल्यक्रिया गरी मिर्गौला प्रत्यारोपण गर्नुअघि निकालिएको मिर्गौला परीक्षण गर्दा त्यसको नसा नै सुकेको पाइयो’ अपरेसन गर्ने डाक्टरले बिहीबार नेपाल समाचारपत्रलाई भन्नुभयो ।गत मंगलबार सासु र बुहारीलाई नजिकैको बेडमा सुताएर दुवैजनाको मिर्गौला निकालेर ट्रेमा राखिएको थियो, गैरेका ससुराले भन्नुभयो, ‘तत्काल बिरामीका आफन्तभित्र आउनुस भनेर बोलाएपछि म र अर्को भाइ भित्र गयौं, डाक्टरले दुर्भाग्य भयो, हामीले सम्पूर्ण परीक्षण गरेर नै दुवैको शल्यक्रिया गरेर मिर्गौला प्रत्यारोपण गर्नलागेका हौं, पहिला कुनै खराबी देखिएन, तर अहिले प्रत्यारोपण गर्न लागिएको दाताको मिर्गौलामा समस्या देखियो, यो मिर्गौला प्रत्यारोपण गर्न मिल्दैन, वी आर सरी भन्नुभयो !’

डाक्टरले बिहीबार भन्नुभयो, यो नेपालमै पहिलो घटना भएकाले बिरामीका आफन्तलाई यथार्थ अवस्थाको बारेमा जाकारी गराउनु आवश्यक थियो । उहाँहरूले पनि यो अप्रत्यासित दुर्घटना भएको कुरा स्वीकार्नुभयो ।अस्पतालका तर्फबाट शल्य चिकित्सक डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरी छानबिन प्रक्रिया अघि बढेको वीर अस्पताका निमित्त प्रमुख प्रा.डा. भूपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।

दाताको मिर्गौला निकालिसकेपछि मेल खाएन भन्ने विषयमा पीडित पक्ष निकै तनावमा वीर अस्पतालमा नै उपचार गराइरहेको छ । जवान बुहारीलाई वृद्धा सासुले मिर्गौला दान गर्ने निर्णयले बिरामी मात्र हैन समाज र अस्पताल परिवार नै खुशी भएको थियो, सामाजिक सम्बन्धको नयाँ उदाहरण सिर्जना हुनेभयो भनिरहेको थियो । एकाएक यो खुशीले पूर्णता पाउन नसक्दा सबै दुःखी हुनुका साथै नेपालमै पहिलो यस्तो घटना भएकाले छानबिन समिति नै बनाएर अघि बढेको डा. बस्नेत बताउनुहुन्छ ।
बुहारी गैरे भन्नुहुन्छ, ‘मलाई मिर्गौला दिन आमाको शरीरबाट मिर्गौला निकालिसकेपछि चिकित्सकहरूले प्रत्यारोपणका लागि यो मिर्गौला योग्य नभएको भनी हतार हतार परिवारका सदस्यहरूलाई बोलाएर सम्झाए तर हामी दुवै मिर्गौलाका बिरामी भयौं ।’

यता डा. बस्नेत भन्नुहुन्छ, दाताबाट मिर्गौला ननिकाल्दासम्म उहाँको मिर्गौलामा समस्या छ भन्ने थाहै भएन । परीक्षण गर्दा सबै राम्रै देखिएको थियो । हामीले यो घटनालाई गम्भीर रूपमा लिएका छौं । यसअघि झण्डै ५ सय जनाको मिर्गौला प्रत्यारोपण भइसक्यो, यस्तो अवस्था कसैमा आएन ।

‘नेपालमै पहिलोपटक सासुले बुहारीलाई मिर्गौला दान गरेको विषयमा सकारात्मक सोच र सन्देशको बाहक हुने भयो भन्दै हामीले दाता र उहाँको बुहारीलाई ढाडस दिँदै आएका थियौं । दुर्भाग्य सोचेजस्तो भएन, चिकित्सा विज्ञानमै एउटा चुनौतीपूर्ण विषयको उदय भयो’ डा. बस्नेतको भनाइ छ ।

वीर अस्पतालले बिरामीको उपचारमा कुनै कमी हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभएको छ– काम गर्दैजाँदा यस्तो जटिल समस्या आएको हो, तर मिर्गौला एकबाट निकालियो तर अर्कोमा राख्न नमिल्ने भयो । यो मिर्गौला के गर्ने, हामी निष्कर्षमा पुगेका छैनौं ।

प्रतिक्रिया दिनुहोस्