नेपालको टोवाको कन्ट्रोल प्रोग्राम राइट ट्रयाकमा छैन् : डा तारासिंह बम

सुर्तीजन्य पदार्थको कानून कार्यान्वयन नहुँदा तीव्र गतिमा बढ्यो नसर्ने रोगको जोखिम



काठमाडौँ।

नेपालले बनाएको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून संसारकै उत्कृष्ट ठहराई अवार्ड समेत गरियो तर फितलो कार्यान्वयनका कारण अपेक्षित नतिजा नआएको विज्ञहरुको ठम्याई छ । नेपालमा अहिले पनि सुर्तीजन्य पदार्थ सेवनका कारण नसर्ने रोगबाट दैनिक ७२ जनाको ज्यान गइरहेको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपाल, एक्सन नेपाल, द युनियन र एशिया प्यासेफिक सिटिज अलाइन्स फर द हेल्थ एण्ड डेभलपमेन्ट (एपीक्याट)ले संयुक्त रुपमा गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञ तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरु नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनाइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले बढ्दो क्रममा रहेको नसर्ने रोग र त्यसलाई बढाउन सुर्तीजन्य पदार्थको भूमिकाको चर्चा गर्दै यसको नियन्त्रण अबको आवश्यकता रहेको बताउँनुभयो । उहाँले सूर्ती नियन्त्रण सम्वन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्न विभाग क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । काम नभएको त होइन तर केही कमजोरीहरु अवश्य छ । त्यसलाई सुधार्दै लैजानु पर्छ । संघ प्रदेश र स्थानीय तह मिलेरै कानून कार्यान्वनयमा अघि बढाउनु पर्छ । उहाँले टोवाको फ्रि पालिका मात्रै नभई अब टोवाको फ्रि हाउस बनाउनु पर्ने भन्दै मधेश प्रदेशबाट त्यसको सुरुवात भएको समेत जानकारी दिनुभयो ।

अहिले नसर्ने रोग सम्वन्धी बहुक्षेत्रीय कार्य योजना आएको र त्यसमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न विभिन्न उपायहरुको समेत उल्लेख गरिएको बताउँनुभयो । महानिर्देशक सिंहले कानून कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी सरकारको भए पनि त्यसलाई साथ सहयोग गर्नका लागि सबै पक्षको सहयोग हुनुपर्ने समेत बताउँनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा संगिता मिश्रले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुको साथ साथै व्यापक जनचेतना फैलाउनु पर्ने बताउँनुभयो । मैले यसको सेवन गर्न हुँदैन भनेर व्यक्ति सेल्फ मोटिभेसन हुनुपर्छ । त्यसका लागि व्यापक जनचेतना जागृत गराउनु पर्छ । मन्त्रालयले यस दिसामा अघि बढ्ने सोच बनाएको छ । उहाँले भन्नुभयो ।

डा मिश्रले कानून कार्यान्वयन गर्दा दण्ड सजायको कुरालाई अघि बढाउनु पर्ने बताउँनुभयो । सजाय फितलो हुने देखियो भने मान्छेले लापरवाही गर्दो रहेछ । त्यसैले कानून र दण्डको कुरालाई संगै लिएर हामी बढ्नुपर्छ । नसर्ने रोगको जोखिम कम गर्नै पर्छ । सुर्तीजन्य पदार्थको सेवनदर न्युनिकरण गर्नै पर्छ । उहाँले सुर्ती उद्योगीहरुले सरकारले ल्याएको कानून विरुद्ध अदालतमा गएका कारण सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र छाप्नुपर्ने व्यवस्थाको कार्यान्वयन हुन ढिलाई भएको आफूले बुझेको बताउँनुभयो । उहाँले तर अब अदालतको आदेशपछि यसलाई छिटै कार्यान्वयन गर्ने योजनामा मन्त्रालय रहेको जानकारी दिनुभयो । उहाँले टोवाको फ्रि पालिका, टोवाको प्रि प्रदेश आदिको अवधारणा अघि बढाउनु पर्ने बताउँनुभयो ।

यस्तै स्वास्थ्य सेवा विभाग इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि बनेका कानूनको कार्यान्वयन गर्नु आवश्यक रहेको बताउँनुभयो । उहाँले नसर्ने रोग सम्बन्धी बहुक्षेत्रीय कार्यायोजनामार्फत विभिन्न पक्षसंग छलफल गरी सुर्ती जन्य पदार्थ नियन्त्रण सम्वन्धी कामलाई समेत अघि बढाउन लागेको बताउँनुभयो ।

नेपालको टोवाको कन्ट्रोल प्रोग्राम राइट ट्रयाकमा छैन् ः द युनियनका निर्देशक डा तारासिंह बमले भन्नुभयो । यसैबीच डा बमले नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यक्रम सहि दिशामा अघि नबढेको बताउँनुभयो । उत्कृष्ठ कानून हुँदा हुँदै पनि फितलो कार्यान्वयनका कारण कार्यक्रमले सही दिशा नलिएको उहाँको भनाई थियो । हामीले सरकार नै नेतृत्वमा संसारकै सबैभन्दा राम्रो र शक्तिशाली कानून बनायौँ तर कार्यान्वयन पक्ष सबैभन्दा कमजोर भयो । यसले हाम्रो कार्यक्रम सहि दिसा लिनै सकेन ।

उहाँले कानून बनाउने राज्यले आफ्नो जिम्मेवारी र दायित्व के हो भनेर बुझ्न नसकेको वा नचाहेको बताउँनृुभयो । सरकारी अधिकारीहरुले सुर्ती उद्योग बलियो भयो भन्न थालेको भन्दै त्यसो भए सरकार सुर्ती उद्योगीहरु भन्दा कमजोर भएको हो भनेर प्रति प्रश्न समेत गर्नुभयो ।

उहाँले ९० प्रतिशत चेतावनीमुलक चित्र नछापिएको, सुर्ती उद्योगको स्पोन्सरसीप नहटेको, सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने व्यवस्था पूर्ण कार्यान्वयन नभएको, खिल्ली चुरोट बेचबिखन कायमै रहेको लगायतका कानून विपरितका कार्यहरु भइ नै रहेको बताउँनुभयो । डा बमले सुर्ती उद्योगीहरुले सरकारले ल्याउने कानूनलाई मुद्धा हालेर अलमल गराउन सक्ने संसारकै प्राक्टिस हो भन्दै बलियो सरकारले त्यो कुरालाई वेवास्ता गरेर कानून कार्यान्वयनमा अघि बढाउनु पर्ने बताउँनुभयो ।

ञनेपालमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था विरुद्ध परेको रिटको ८ बर्ष पछि फैसला आएको भन्दै त्यसको तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो । अहिले पनि सुप्रिमकोर्टको आदेश आएको छ । दैनिक ७२ जनाको मृत्यु भइरहेको छ भने त्यो इमरजेन्सी हो । टोवाको ग्लोबल पेन्डेमिक हो र इमरजेन्सी हो । त्यसैले यसको तत्काल कार्यान्वयन हुनुपर्छ उहाँले भन्नुयभो ।

बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले प्रत्येक वर्ष संसारमा ८० लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको भन्दै यसलाई यसको न्युनिकरणका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउँनुभयो । सुर्तीजन्य पदार्थमा टक्सीन हुन्छ । यो प्रयोग गर्ने वित्तिकै शरीरको फोक्सोमा जान्छ । त्यसले फोक्सोको कोशिकाहरु नष्ट वा डिस्टर्व गर्दछ । यसले गर्दा सीओपिडी तथा फोक्सोको क्यान्सरहरु लाग्नसक्छ । भन्नुभयो ।

डा शाहीले कोही कोही व्यक्तिले कहिले पनि सुर्तीजन्य पदार्थ सेवन नगरेपनि त्यसबाट हुने भनिएको असरमा आफू परेको बताउने गरेको भन्दै त्यसमा सेकेण्ड ह्याण्ड स्मोकिङको असर रहेको हुनसक्ने बताउँनुभयो । उहाँले केहीमा जेनेटिक कारण हुने र त्यस्ता व्यक्तिले स्मोकिङ गरेमा झनै ठूलो असर गर्ने समेत उल्लेख गर्नुभयो ।

सानै उमेरमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा फोक्सोको विकासमा नै अवरोध हुनसक्ने भन्दै छिटो नसर्ने रोग लाग्ने बताउँनुभयो । सूर्तिजन्य पदाटर्थको सेवनका कारण फोक्सोको क्यान्सर, दम, सीओपीडी, मुटुजन्य रोगहरु लाग्ने गर्दछ । स्वासप्रस्वासका बिरामीले सुर्तीजन्य पदार्थ सेवन गर्दा जीवनलाई चुनौतिपूर्ण अवस्थामा पुरयाउन सक्छ भन्दै कसैले पनि सुर्तीजन्य पदार्थ सेवन गर्न नहुनेमा जोड दिनुभयो । क्यान्सरहरुमा सबैभन्दा मृत्युदर बढी हुने संसारमै फोक्सोको क्यान्सर हो भन्दै डा शाहीले यसको ८० प्रतिशत कारण धूमपान भएको बताउँनुभयो ।

उहाँले ग्लोबो क्यानले प्रक्षेपण गरेको प्रतिवेदन उल्लेख गदै सन् २०२२ मा नेपालमा थप ५ हजार क्यान्सरका नयाँ बिरामीहरु थपिने र ४ हजारको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने बताउँनुभयो । उहाँले ३५ वटा देशमा गरिएको अध्ययनले सीओपीडीबाट सबैभन्दा बढी मृत्यु हुने देश नेपाल रहेछ भन्ने पत्ता लगाएको भन्दै धूमपान यसको प्रमुख कारण भएको उल्लेख गर्नुभयो ।

यस्तै एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थबाट बर्षेनी भईरहने मानवीय क्षति कोरोना महामारीको बेलामा भएको क्षतिको तुलनामा ४ गुणा बढी रहेको तथ्यांक प्रस्तुत गर्नुभयो । पछिल्लो दुई बर्षको कोरोनाले नेपालमा झण्डै १२ हजारको ज्यान लियो तर सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण हरेक वर्ष २७ हजार बढीको ज्यान गईरहेको तथ्यलाई हामीले वास्ता गरेका छैनौँ । अर्थात कोभिडको मृत्युदर भन्दा सुर्तीजन्य पदार्थको मृत्युदर ४ गुणा बढी छ । यसको प्रयोगले हुने बिरामीको उपचारमा अर्वौ अर्व रुपैयाँ खर्च भईरहेको छ ।

चन्दले यतिवेला किशोर तथा युवाहरु झण्डै ४० प्रतिशत इ सिगरेटमा आकर्षित भएका छन् भन्दै त्यो समूह विस्तारै धूमपानमा सरे भने अवस्था झनै भयावह हुने चिन्ता व्यक्त गर्नुभयो । उहाँले त्यसलाई रोक्न राज्यले कानूनको तत्काल कार्यान्वयन गर्नु पर्ने बताउँनुभयो । कानूनले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र छोप्नु पर्ने व्यवस्था ल्यायो । त्यसबिरुद्ध सुर्ती उद्योगीहरु अदालत गए । सरकार कार्यान्वयन गर्न डरायो । हामी अदालत गयौँ । ८ वर्ष पछि कानून कार्यान्वयन गर्ने पक्षमा फैसला आयो तर हामी अझै पनि कार्यान्वयन गर्न अल्मलिरहेका छौँ । यसले सुर्तीबाट हुने जनधनको क्षति थप बढी रहेको छ ।
उहाँले नेपालमा सुर्ती उद्योगको हस्तक्षेप बढी रहेको भन्दै सरकारका तीनवटै तहले यसप्रति चनाखो हुनुपर्ने बताउँनुभयो । पालिका, प्रदेश र संघले सुर्ती उद्योगले गर्ने कुनै पनि स्पोन्सरसीप नलिने सूचना पुन जारी गर्नुपर्छ उहाँले भन्नुभयो ।

यता विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा लोनिम दिक्षित नेपालमा हरेक १० मृत्यु मध्ये ७ मृत्यु नसर्ने रोगको कारणले हुने गरेको भन्दै नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ हो भन्दै अस्पतालहरुको ओपिडी र आईपीडीमा नसर्ने रोगका बिरामीको संख्या निकै बढेर गएको बताउँनुभयो । उहाँले नसर्ने रोगका बिरामी प्रत्येक घरमा रहेको भन्दै यसलाई न्युनिकरण गर्न सबै पक्षले आ आफ्नो ठाँउबाट उठेर काम गर्नुपर्ने बताउँनुभयो । यसलाई राष्ट्रिय मुद्धा बनाउनु पर्छ । स्वास्थ्य मन्त्रालयमा मात्रै नभई अन्य मन्त्रालयले पनि यसमा मिलेर जानुपर्ने औल्याउनुभयो ।

उहाँले सुर्तीजन्य पदार्थको सेवन दर न्युनिकरण गर्न अब प्लेन प्याकेजिङमा जानुपर्ने र करको दर ७५ प्रतिशत पुराउनुपर्ने बताउँनुयभो । अहिले नेपालमा करको दर पुग नपुग ३९ प्रतिशत मात्रै छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले नसर्ने रोग र सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी नीतिमा सरकारले गरेका कामका बारेमा जानकारी दिनुभएको थियो । उहाँले ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश कार्यान्वयनको अवस्थाको बारेमा बताउँनुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी नीति बनाउन देखि कार्यान्वयन गराउन स्वास्थ्य पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउँदै त्यसलाई निरन्तर खबरदारी र निगरानी गर्ने बताउँनुभयो । उहाँले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न राज्यले कानून कार्यान्वयन संगै जनचेतना अभियानलाई व्यापक बनाउनुपर्ने बताउँनुभयो ।
कार्यक्रममा एपीक्याट सिंगापुरका सदस्य बीपी गिरीले त्यहाँको सरकारले गरेको सुर्ती नियन्त्रण सम्वन्धी प्रयास र अनुभव सुनाउँनुभयो । यस्तै पूर्व स्वास्थ्य प्रशासक बद्रीनाथ ज्ञवालीले नसर्ने रोग र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सरकारले गर्नुपर्ने कामका बारेमा सुझाव दिनुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्