शहरको मौलिक छविलाई बचाउनुपर्छ : कामपा उपप्रमुख डंगोल



काठमाडौं । 

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जीवन्त सहरको मौलिक छविलाई जोगाउन काठमाडौं महानगरले क्षेत्रगत सन्तुलन कायम गराउने बताउनुभएको छ ।

एफएचई ३६० का प्रतिनिधिहरूसँग शुक्रबार आपसी सहकार्यका बारेमा छलफल गर्दै उहाँले भौतिक, अभौतिक र सामाजिक पक्षको सन्तुलनबाट सहरको जीवन्तता यथावत् रहने बताउनुभयो । उहाँले भन्नुभयो– ‘काठमाडौंलाई स्वच्छ हावा र स्वच्छ पानीसँगै हरियाली चाहिएको छ । सडकलाई पैदलयात्रीमैत्री बनाउनुपर्नेछ । वातावरण र जनस्वास्थ्य सुधारका लागि हामीले यस्ता क्षेत्रहरूमा ध्यान दिएका छौं ।’

छलफलमा वातावरणीय सुधारका लागि विद्यार्थी लक्षित कार्यक्रमको प्रसङ्गमा महानगरकी शिक्षा सल्लाहकार रेशु अर्यालले, सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर काम थाल्नुपर्ने बताउनुभयो । परिणामका लागि संस्थागत विद्यालय र सामुदायिक विद्यालयबिच संयुक्त कार्यक्रम चलाउनुपर्ने सल्लाहकार अर्यालको भनाइ थियो ।कार्यक्रममा एफएचआईका ३६० का राष्ट्रिय निर्देशक भगवान श्रेष्ठले जनस्वास्थ्य र वातावरणका क्षेत्रमा महानगरका प्राथमिक मुद्दामा सहकार्य गर्न चाहेको बताउनुभयो ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत वेबोरा क्यानेडीले वायु प्रदूषणजस्तो प्रत्यक्ष नदेखिने तर लामो समयसम्म असर देखाउने क्षेत्रको सुधारमा आफूहरू सहभागी हुन चाहेको बताउनुभयो । एफएचआईका स्वच्छ हावा परियोजना प्रमुख भूषण तुलाधरका अनुसार छलफल वातावरण प्रदूषण नियन्त्रण र जनस्वास्थ्य क्षेत्रमा सुधारका सन्दर्भमा वायु प्रदूषण नियन्त्रण, भित्री शहरको प्राचीनता संरक्षण गर्न सवारीका साधनको प्रयोग घटाउँदै हिँड्ने वातावरण बनाउने र विद्यालय स्तरमा वातावरण शिक्षा प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने विषयमा केन्द्रित रहेको थियो । उहाँले भन्नुभयो– ‘हिउँद आएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यसलाई कसरी रोक्ने ? यसका लागि अहिलेदेखि नै काम गर्नुपर्छ । फोहोरलाई खुुल्ला रूपमा बाल्ने आचरणमाथि निगरानी गर्नुपर्छ ।

शहरको ध्वनि प्रदूषणका बारेमा धेरै कुरा हुन सकेकै छैन । यसमा वहस चलाउनुपर्छ । यस्ता विषय छलफलमा उठेको थियो ।’
छलफलमा महानगरको सम्पदा तथा पर्यटन, वातावरण तथा कृषि र शिक्षा गरी ३ वटा विभागका प्रमुख र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुखका साथै वातावरण तथा जनस्वास्थ्य संस्थालगायतका साझेदारका प्रतिनिधिहरू सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्